images
images

जनतालाई एउटा कानुन, नेतालाई अर्को कानुन हुन सक्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताए।

उनले सरकार दोषीलाई छोड्ने काममा नलाग्ने स्पष्ट पारे। मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेता दोषी देखिइसकेपछि नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताले विरोध गर्ने, व्यवसायी, कर्मचारीले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्परा विकास हुँदै गएको बताए।

उनले सरकार कुनै पनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाए।

मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानुनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको बताए। उनले कानुन सबैका लागि बराबर हुने बताए।

उनले भने, ‘सामाजिक न्यायसहितको समृद्धि, समाजवादउन्मुख समृद्धिको दिशातर्फ हामी जानुपर्छ। आजको मिसन यसलाई बनाउनुपर्छ। त्यसैअन्तर्गतका मिसनमा सरकार र गृह मन्त्रालयले काम गरिरहेको छ। यस सन्दर्भमा प्रश्न उठिरह्यो। कि यो कहाँसम्म जान्छ ? मैले बारम्बार भनेको छु कि स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।’

दोषी र अपराधीलाई नछाडिने उनले बताए। उनले भने, ‘निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधी छुट्ने काम नहुन्।’
मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरूलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताए।