टानको अध्यक्षमा सापकोटाले गरे उम्मेदवारी घोषणा, यस्ता छन् व्यवसायिक एजेण्डा

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस २१, बुधबार  
टानको अध्यक्षमा सापकोटाले गरे उम्मेदवारी घोषणा, यस्ता छन् व्यवसायिक एजेण्डा

काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

पर्यटन क्षेत्रको प्रवर्द्धन कमजोर बन्दै गएको भन्दै उनले टानको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनेको बताए । उनले व्यवसायीलाई नोकरको व्यवहार गरेर पर्यटन बोर्ड साहु बन्ने गरेको भन्दै व्यवसायीको हितका लागि आफुले  टानको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।

सापकोटले भने, ‘टानको अस्तित्व निमट्यान्न हुने अवस्थामा पुगेको छ, निजी क्षेत्रबाट सञ्चालित टान र नेपाल पर्यटन बोर्डबीच सम्बन्ध यस्तै भइरहनु आम व्यवसायी र देशकै हितमा छैन । मालिक बनेर बोर्डले व्यवसायीलाई नोकर बनाउने भन्दा पनि सहकार्य गरेर प्रवर्द्धनात्मक काम अघि बढाउनु जरुरी छ ।’

व्यवसायीले मेहनत गरेर पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बेचेर बोर्डलाई पैसा बुझाउनु पर्ने तर टिम्सको उदेश्य अनुसार बोर्डले कुनै काम नगरेका कारण हाल व्यवसायी र मजदुर पलायन हुने अवस्थामा पुगेको सापकोटाले बताए ।

एक हजार आठ सयभन्दा बढी पर्यटन व्यवसायीहरूको संलग्नता रहेको टान पछिल्लो समय विवादित बन्दै गएकाले संस्थागत हितबिना व्यवसाय अघि बढ्न नसक्ने र व्यावसाय बचाउन नसके पर्यटन क्षेत्र अघि नबढ्ने उनको भनाइ छ ।

सापकोटाले भने, ‘पदयात्रामा सम्भावना रहेका क्षेत्रहरू गुमाउँदै गएको अवस्थामा टानलाई पुनर्जीवन दिन आफू नेतृत्वमा आउन चाहेको सापकोटाले बताए । पदयात्राका बढी सम्भावना रहेका अल्टरनेटिभ ट्रेकिङ ट्राइलको प्रवर्द्धन हुनुपर्छ । पर्यटन क्षेत्रमा भावनात्मक प्रतिनिधित्व हुने गरी जिम्मेवार नेतृत्व खाँचो छ ।’

आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले ठमेलमा पर्यटकीय होटल समेत संचालन गर्छन् । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य समेत रहिसकेका सापकोटाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थापना भएको नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीलाई नोकरको रूपमा मात्र व्यवहार गरेको बताए ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार