देवघाटमा शतबीज छर्नेको भिड

लाल्टिन खबर ,
प्रकाशित: २०७८ मङ्सिर १७, शुक्रबार  
देवघाटमा शतबीज छर्नेको भिड

चितवन । बालाचर्तुदशी पर्वका अवसरमा देवघाटधाममा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । कोरोना भाइरसको महामारीका त्रासका कारण अघिल्ला दुई वर्ष न्यून सङ्ख्यामा मानिस आएको भए पनि यस वर्ष ठूलो भिड लागेको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार बिहीबार दिउँसोदेखि देवघाटमा भक्तजन आउन थालेका थिए । रातभर दियो बालेर जाग्राम बसी शुक्रबार बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको हो ।

उनका अनुसार तनहुँतर्फ मणि मुकुन्दसेन चक्रवर्ती पार्कमा शतबीज छर्नका शतबीज मार्ग व्यवस्थापन गरिएको छ । चितवनतर्फ वन क्षेत्रमा पनि भक्तजनले शतबीज छरेका छन् ।

यकिन तथ्याङ्क नहुने भए पनि ५० हजार हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको घिमिरेले जानकारी दिए । यो सङ्ख्या पछिल्ला वर्षको सबैभन्दा बढी हो ।

दिवङ्गत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्ने गरिन्छ । शतबीजमा धान, गहुँ, जौँ, हलेदो, सक्खरखण्डलगायत छर्ने परम्परा छ ।

देवघाटधामको त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा शतबीज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता छ ।

देवघाट पवित्र तीर्थस्थल हो । ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले सुरक्षा, बत्ती, शौचालयलगायत व्यवस्थापनमा समितिले ध्यान दिएको उनले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार