images
images

बाढीपहिरोको क्षतिबारे सदनलाई जानकारी: हालसम्म १० जनाको मृत्यु, २६ बेपत्ता

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाहरुबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए । यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्णरुपमा क्षति भएको उनले जनाए । यही असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको गृहमन्त्री श्रेष्ठले जनाए ।

‘असार २ गते रातिदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपद्का घटनाहरुबाट देशको पूर्वी भूभागका संखुवासभा, ताप्लेजुङ र पाँचथर लगायतका जिल्लामा केही व्यक्तिहरुको मृत्यु हुनुका साथै केही घाइते र बेपत्ता भएका छन्,’ उनले भने, ‘विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु, ६ जना घाइते, २६ जना बेपत्ता छन् भने ५४ घर पूर्णरुपमा क्षति भएको जानकारी प्राप्त भएको छ । विवरण आउने क्रम अझै जारी छ ।’

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख गरे । उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुन:स्थापनाका लागि रकम उपलब्ध गराइने जनाए ।

‘विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम मृतकको परिवारमा एकजनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ, उनले भने, ‘घरबास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रतिपरिवार १५ देखि २० हजार उपलब्ध गराउने व्यवस्था मापदण्ड अनुसार मिलाइएको छ । तत्काल खोज, उद्धार तथा राहतसम्बन्धी अन्य व्यवस्था मापदण्ड बमोजिम भइरहेको छ ।’