images
images

बालेनको निर्देशनपछि धमाधम छात्रवृत्ति दिँदै निजी विद्यालय

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेस गर्न थालेका छन् ।

 

कामपाले एक साताअघि मात्रै सबै विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन र दिएको विवरण लिएर आउन निर्देशन दिएको थियो । निर्देशन दिएको केही दिनसम्म पनि निजी विद्यालयले विवरण लिएर नआएपछि कामपाले विवरण उपलब्ध नगराउने विद्यालयको नाम नै सार्वजनिक गरी विद्यालय बन्द गर्ने चेतावनीसमेत दिएको थियो ।

कामपा शिक्षा विभाग प्रमुख कोइरालाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस नगरे विद्यालयको सम्बन्धन खारेज गर्ने र विद्यालयमा ताला लगाउने चेतावनी दिएका थिए । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं कामपाको शिक्षा ऐन, २०७५ को दफा ५० को व्यवस्थाअनुरूप छात्रवृत्ति वितरणको विवरण पेस गर्नुपर्ने हुन्छ ।

भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले सार्वजनिक सूचना नै जारी गरेर कडाइ गर्नुपरेको हो । चालु शैक्षिक सत्र २०८० का लागि छात्रवृत्ति उपलब्ध नगराउनेमा अधिकांश महँगा विद्यालय रहेका थिए ।

कामपाको सूचीमा पाठशाला, साइपाल एकेडेमी, मेरिडियन, प्राञ्जली वर्ल्ड स्कुल, अल्कापुरी, आलोक विद्याश्रम, नेपाल प्रहरी विद्यालय, आदर्श विद्या सदन, मञ्जुश्री, हिमालयन ह्वाइट हाउस, बेबिलोन र काठमाडौं प्रज्ञा कुञ्ज समावेश थिए ।

त्यसैगरी ग्रिनवीच, विद्या सदन, बागमती, लिट्टिल बुद्ध, काठमाडौं गुरुकुल, क्याम्पियन, ब्रिटिस गोरखा, संस्कार, राइजिङ, दिव्य ज्ञान, जिलेट, गीताञ्जली, संस्कार, कमलनेत्र छुनामुना, ग्रामर, समता, निष्ट, काष्ठमण्डप, किस्ट, प्यारागन पब्लिक, काठमाडौं मोडेल स्कुललगायतका विद्यालयले कामपाले जारी गरेको सार्वजनिक सूचनापछि छात्रवृत्ति उपलब्ध गराएको विवरण लिएर आएका हुन् ।

कामपाले गत वैशाख २४ गते परिपत्र गरी जेठ १५ गतेभित्र छात्रवृत्ति विवरण कामपालाई दिइसक्नुपर्ने सूचना गरेको थियो । कामपामा रहेका विद्यालयले विवरण पेस नगरेमा कामपा शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा सो ऐन वा अन्य प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्न सकिने व्यवस्था रहेको छ ।

कामपाले आगामी शैक्षिक सत्रबाट कूल विद्यार्थीको पाँच प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी ५ प्रतिशत छात्रवृत्ति बराबरको रकम कामपा शिक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । कोइरालाका अनुसार छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरिने छ । त्यसका लागि विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकको विवरण माग 

कामपाले विगत तीन वर्षदेखि कार्यान्वयन गरेको स्थानीय पाठ्यक्रम ‘नेपाल भाषा’ अध्यापन गराउने शिक्षकको नामावली माग गरेको छ । आधारभूत तह कक्षा एकदेखि आठसम्म कामपाले स्थानीय पाठ्यक्रमको रूपमा नेपाल भाषामा अध्ययन गराउँदै आएको छ । सामुदायिक सबै विद्यालयमा पठनपाठन भइरहेको भए पनि केही निजी विद्यालयबारे आशङ्का भएपछि कामपा शिक्षा विभागले प्रत्येक विद्यालयमा अध्यापन गराउने शिक्षकको विवरण माग गरेको बताइएको छ ।

उक्त स्थानीय पाठ्यक्रममा काठमाडौँको कला संस्कृति, भाषा, धर्म, संस्कार, धार्मिकस्थल, ऐतिहासिक सम्पदा ढुङ्गेधारालगायत विषय समावेश गरी पठनपाठन गर्दै आइरहेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन भने पाँच सय चार निजी विद्यालय रहेका छन् । रासस