विकासको जिम्मा महिला मन्त्रीको काँधमा

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असाेज २३, शनिबार  
विकासको जिम्मा महिला मन्त्रीको काँधमा

काठमाडौँ । विकासका प्रमुख पाँच खम्बाको रुपमा सडक, सहरी विकास, जलविद्युत्, सिँचाइ तथा खानेपानीलाई लिइन्छ । पूर्वाधार विकासबाट नै मुलुकको विकास र समृद्धि सम्भव छ । त्यही पूर्वाधार निर्माण गर्ने प्रमुख मन्त्रालयको नेतृत्व गर्ने जिम्मा अहिले महिला मन्त्रीको काँधमा आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्री भएका छन् ।

यी विकासे मन्त्रालय मानिन्छन् । संविधानमा हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने व्यवस्था भए पनि वर्तमान सरकारको २५ सदस्यीय मन्त्रिमण्डलमा ६ जना महिलालाई मन्त्री बनाइएको छ ।

मन्त्रिमण्डलमा ३३ प्रतिशत सहभागिता नभए पनि महिलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिलाले नेतृत्व गरेका ६ मध्ये पूर्वाधार विकाससँग जोडिएका भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास आकर्षक मन्त्रालय मानिन्छन् । यी महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका महिला मन्त्रीलाई आफ्नो कार्यदक्षता प्रमाणित गर्दै पूर्वाधार विकास अघि बढाउनुपर्ने चुनौती छ ।

सडक, जलविद्युत्, सिँचाइ आयोजना निर्माण, सहरी विकाससँग सम्बन्धित परियोजनाहरू समयमा सम्पन्न नभएर अलपत्र छन् । निर्माण क्षेत्रमा ठेकेदार कम्पनीको दबदबा छ । निर्माण क्षेत्रमा ‘माफियागिरी र डनवाद’ सधैं हाबी हुने गरेको चर्चा चल्छ । मन्त्रालयको नेतृत्व गर्दा आइपर्ने यस्ता कठिनाइसँग जुधेर काम गर्ने अवसर पाएका महिला मन्त्री कति सफल हुन्छन्, चासोको रुपमा हेरिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएकी यादवले तीनपटक मन्त्री भएर काम गरेकी भए पनि पूर्वाधारमा उनको अनुभव पहिलो हो । उनले यसअघि महिला, बालबालिका तथा समाज कल्याणमन्त्री, शिक्षामन्त्री र विज्ञान तथा वातावरण राज्यमन्त्री भएर काम गरेकी छन् ।

भौतिक पूर्वाधारलाई ‘मालदार’ मन्त्रालयको रुपमा पनि लिइन्छ । ठेकेदारले सडक आयोजना हडपेर राख्ने र काम नगर्ने प्रवृत्ति हाबी हुँदै आएको छ । यो कठिन परिस्थितिमा नवनियुक्त मन्त्री यादवले परिस्थितिको सामना गरेर पूर्वाधार निर्माणलाई कसरी अघि बढाउँछिन्, हेर्न बाँकी छ ।

भारतमा जन्मिएर वैवाहिक सम्बन्धपछि नेपाल आएकी यादव २०४७ सालदेखि नेपाली कांग्रेस, राप्रपा हुँदै अहिले जनता समाजवादीबाट मन्त्री भएकी हुन् । रेणु २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा सप्तरीबाट निर्वाचित भएकी थिइन् । उनी २०७४ सालको आमनिर्वाचनमा पनि सप्तरीबाटै निर्वाचित भएकी हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसाल माओवादी केन्द्रबाट मन्त्री भएकी हुन्। विद्यार्थी राजनीति, ‘जनयुद्ध’ हुँदै राजनीतिमा स्थापित भएकी भुसालसँग महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको अनुभव छ ।

ललितपुरबाट प्रत्यक्ष निर्वाचन जितेकी भुसाल संविधानसभा सदस्यसमेत थिइन्। भुसाललाई ऊर्जा मन्त्रालय नयाँ क्षेत्र हो । जलविद्युत्को बजार खोज्ने, ट्रान्समिसन लाइन बनाउने, अधुरा योजना पूरा गर्ने चुनौती उनको सामु छ । प्रसारण लाइन नहुँदा उत्पादन भएको विद्युत् खेर गएको छ ।

विद्यार्थी राजनीति र सडक आन्दोलनबाट उदाएकी रामकुमारी झाँक्रीका लागि मन्त्री पहिलो अनुभव हो। झाँक्री समानुपातिक सांसद हुन् । मुलुकभरका सहर अव्यवस्थित छन् । मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लामा १२ नयाँ सहर, हुलाकी राजमार्गमा १५, मधेसमा १८ गरी ४५ वटा व्यवस्थित सहर बनाउने योजना अलपत्र छन् ।

यी योजनालाई अघि बढाउँदै स्मार्ट सिटी बनाउने जिम्मेवारी मन्त्री झाँक्रीको काँधमा आएको छ। तर, छोटो समयका लागि मन्त्री भएकाले काम देखाएर ‘क्रान्तिकारी र परिवर्तनकारी’ छवि बचाइराख्न झाँक्रीलाई चुनौती छ । उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकी हुन् ।

त्यसैगरी, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार