पाटनको भीमसेन जात्रा पूजामा सीमित

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै १५, मङ्गलबार  
पाटनको भीमसेन जात्रा पूजामा सीमित

काठमाडौँ । पाटन दरबार क्षेत्र मङ्गलबजारमा अवस्थित भीमसेनको जात्रा पूजामा मात्र सीमित गरिने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भीमसेनको खटजात्रा हुने भएसँगै मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सो पूर्ण विधि नगरिने निर्णय भएको हो ।

भीमसेनको पूजा विधिपूर्वक गर्ने तर चल्दै आएको परम्परा अनुसार राति खटजात्रा नगरिने मङ्गलटोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताए । उनले भने, “ललितपुरमा मच्छिन्द्रनाथको जात्रापछि भीमसेनको खटजात्रालाई दोस्रो ठूलो पर्वका रुपमा मनाउने गरिन्छ ।”

सो जात्राका दिन भीमसेनको सानो मूर्तिलाई मन्दिरबाट निकालेर चित्रकारले बिहान सफा गर्छन् । सफा गरिएको मूर्तिलाई पूजारीले विधिपूर्वक पूजा गरी जीवन्यास गरेपछि खटजात्रा सुरु नभएसम्म दिनभरि सर्वसाधारणलाई पूजा अनि दर्शन गर्न दिइन्छ । 

राति भएपछि सोही मूर्तिलाई खटमा बोकेर नगर परिक्रमा गर्ने चलन रहेको प्रधानले जानकारी गराए ।
मुलुकमा कोभिड भित्र्नु दुई वर्षअघि भीमसेनलाई मङ्गलबजार हुँदै सुन्धारा, ओकुबहाल, हगोल, पूर्णचण्डी, गाबाहाल अनि बङ्गलामुखी नगरपरिक्रमा गराएर पुनः मङ्गलबजार मन्दिरमा राति ल्याएर नित्य पूजा गरी राखिने गरिएको सङ्घका महासचिव वीरेन्द्रलाल श्रेष्ठले बताए । उनले भने, “भीमसेनलाई घुमाएर मन्दिरमा ल्याएपछि हाँसको बलि दिने चलन छ ।”

सो जात्रामा काठमाडौँ उपत्यकाका तीनै सहरका साथै दोलखाका व्यापारीसमेत भीमसेनको आरधना गर्न पाटन आउने गरेका श्रेष्ठको भनाइ छ । भीमसेनको उपासना गर्नाले श्रीवृद्धि हुने मान्यताका साथ प्रत्येक वर्र्र्ष ललितपुर उद्योग वाणिज्य सङ्घबाट पूजा गर्न जाने चलन रहेकाले त्यसको तयारी भइरहेको निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले बताए ।

भीमसेनलाई सुगन्धमय धूपका साथै लड्डु र पेडा मन पर्छ । सो वस्तु मन पर्ने भएकाले अर्पण गरी ‘भीमसेन महाराजकी जय’ भन्दै जयजयकारसहित पूजा अनि नगरपरिक्रमा गराउने चलन रहेपनि रोगका कारण संस्कृति मासिने डर भएकोे पाटनका शोभा महर्जनको बुझाइ छ ।

तीन तले प्यागोडा शैलीमा रहेको भीमसेन मन्दिर विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटकपटक आएको पराकम्पनका कारण माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँच्चिएर भित्तासमेत चिराचिरा भएपछि हाल पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ ।

भीमसेन मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले ३५औँ कला नगरीसमेत घोेषणा गरिसकेको छ । भीमसेन मन्दिर पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा रहेको छ । यहाँ विगत दुई वर्ष पहिले दिनानुदिन हजारौँ हजार स्वदेशी तथा विदेशी पर्यटक घुम्न तथा अध्ययन गर्न समेत आउने गर्थे । 

सो मन्दिरसहित पाटनमा नेपालमा शिखर शैलीमा ढुङ्गैढुङ्गाबाट निर्मित २१ गजुर भएको एक मात्रै कृष्ण मन्दिर, दरबार सङ्ग्रहालय, चारनारायण, नरसिंह, अशोक स्तम्भ र हिरण्यवर्ण महाविहार आदि रहेका छन् ।

पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीको पुरानो थलो पनि हो । पाटनमा भीमसेन जात्रासहित मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छ । पाँच पाण्डवका माइला भाइ भीमसेनको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास आम व्यवसायीमा छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार