महिला स्वास्थ्य स्वयंसेविकाले गरिन आफ्नै शिशुको घाँटी निमोठेर हत्या

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै ८, मङ्गलबार  
  महिला स्वास्थ्य स्वयंसेविकाले गरिन आफ्नै शिशुको घाँटी निमोठेर हत्या

काठमाडौँ । बैतडीमा एक आमाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छन्।

डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी हुन्।

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ।

आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँको केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी गराएका थिए। माधवी अहिले प्रहरीको नियन्त्रणमा रहेको र आज अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुने प्रहरी निरीक्षक शाहीले बताए।

कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान सुरु भएको र अनुसन्धानपछि अदालतमा पेश गरिने शाहीले बताए। माधवीका श्रीमान् वैदेशिक रोजगारमा गएपछि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

गाउँकै एक १७ वर्षीय किशोरसँग माधवीको अवैध सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। माधवी महिला स्वास्थ्य स्वयंसेविका समेत हुन्। उनका १३ वर्षीय छोरा छन्।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार