निषेधाज्ञा खोल्नुभन्दा कडा बनाउने बेला भइसक्यो- उपत्यकाका सीडीओ

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ८, शुक्रबार  
निषेधाज्ञा खोल्नुभन्दा कडा बनाउने बेला भइसक्यो- उपत्यकाका सीडीओ

काठमाण्डौ । गत मंगलबार गृह मन्त्रालयले लामो र मध्यम दूरीमा सार्वजनिक सवारी सहजीकरणका लागि देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो । कोरोना महामारी बढिरहेको बेला गृह मन्त्रालयले यस्तो निर्देशन दिँदा काठमाण्डौ उपत्यकाका तीन जिल्लाका सीडीओ भने अन्योलमा परेका छन् ।

‘‘त्रिभुवन विश्व विद्यालयका अब हुने परीक्षाका परीक्षार्थीलाई अप्ठेरो पर्ने भएकालाई सहयोग हुने हेतुले सार्वजनिक यातायात सहजीकरण गर्न गृहले निर्देशन दिएको हो,” जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘‘अन्य प्रयोजनका लागि निर्देशन दिएको होइन । यसर्थ हामीले अत्यावश्क लामो दूरीका सार्वजनिक सवारी साधनलाई सहजीकरण गरिरहेकै छौँ । भिडभाड कै कारण संक्रमण फैलिने र पहिलेजस्तै भयावह अवस्था आउने जोखिम छ ।”

अब १० गतेपछि लामो मध्यम दूरीका र अन्य प्रयोजन खुला हुनेबारे  प्रजिअ निरौला भन्छन्, ‘‘संक्रमणदर हेरर हुन्छ, अहिले उपत्यकाको संक्रमणदर हेर्ने हो भने निषेधाज्ञा राम्रोसँग खोल्नुभन्दा घटाउनुपर्ने बेला भएको छ । तर, निषेधाज्ञाबारे तीन जिल्लाका सीडीओबीच केही छलफल भएको छैन । आज काठमाण्डौका सीडीओलाई फोन गर्ने सोचमा छु ।”  काठमाण्डौ उपत्यकामा पछिल्लो १० दिन थप गरिएको निषेधाज्ञामा खुकुलो प्रावधना छ तर अहिले संक्रमण बढिरहेकाले निषेधाज्ञा के हुने भन्नेबारे टुंगो लागिसकेको छैन । कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ ।

अर्कातर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरको जोखिम भएकाले पूर्वतयारीमा बस्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिइसकेको छ । निषेधाज्ञा थप्ने वा हटाउने र खुकुलो प्रावधान नियन्त्रण गर्न कस्तो प्रावधान लागु गर्नेबारे निषेधाज्ञा सकिन एक  वा दुईदिन अघि सीडीओ बैठक बस्दै आएको छ । सीसीएमसीको निर्देशन बमोजिम उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको थप निर्णय गर्दै आएका छन् ।

काठमाण्डौ उपत्यकामा दैनिक ७५० भन्दा धेरै संक्रमित थपिरहेका छन् । निषेधाज्ञा जारी नै रहेपनि भिडभाड हुने गतिविधीहरु भइरहेका छन् । त्रिभुवन विश्व विद्यालय अन्तर्गतका रोकिएका स्नातक तहका परीक्षाहरु सञ्चालन भइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार