सरकारले दिएको सुविधाको भरपूर उपभोग गर्न पर्यटन व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असार ८, मङ्गलबार  
सरकारले दिएको सुविधाको भरपूर उपभोग गर्न पर्यटन व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल तथा पर्यटन व्यवसायीहरुलाई  सरकारले दिएको सेवा सुविधाको भरपुर उपभोग गर्न अनुरोध गरेका छन् ।

मंगलबार होटल संघ नेपाल (हान) को सुझाव पत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् । उनले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको समेत बताएका छन् ।

होटल तथा पर्यटन क्षेत्रलाई बजेटमार्फत उत्पादनमुलक उद्योग सरहको सुविधा उपलब्ध गराइएको उल्लेख मन्त्री पौडेलले कोभिड–१९ का बेला योभन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको बताए ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने, कोभिड–१९ बाट प्रभावित होटल, ट्रेकिङ लगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिइ स्वतः नवीकरण हुने व्यवस्था उल्लेख गरिएको छ । 

यस्तै होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, कोभिड–१९ का सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्डअनुसार रकम उपलब्ध गराउने लगायत उल्लेख गरिएको छ । 

होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटललाई सेवामूलक उद्योगमा राख्नु ठुलो कुरा भएको उल्लेख गर्दै बजेट निर्माणका बेला होटल संघ नेपालले दिएको सुझावहरु बजेटमा सम्बोधन भएकोमा धन्यवाद व्यक्त गरिन् ।

सो अवसरमा होटल संघ नेपालले २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको अनुगमन गर्नुपर्ने, हाल कायम रहेका पुनर्कर्जाको रकम थप गरिनुपर्ने र सो कर्जाको अवधि एक वर्षसम्म कायम गरिनुपर्ने लगायतका सुझाव समेत अर्थमन्त्री पौडेललाई दिएकी छन् ।
       
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार