न्यायिक समितिबाट ६७  मुद्दा फैसला

लाल्टिन खबर ,
प्रकाशित: २०७८ वैशाख ७, मङ्गलबार  
न्यायिक समितिबाट ६७  मुद्दा फैसला

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये चालू आर्थिक वर्षको हालसम्म ६७  फैसला भएको छ । ती  मुद्दा मिलापत्र मार्फत टुङ्ग्याइएको हो । समितिमा विभिन्न किसिमका १३८  मुद्दा परेको बताइएको छ ।

अघिल्लो आर्थिक वर्षमा फैसला हुन नसकेका १८  गरी सो समितिमा १५६  मुद्दा दर्ता भएका थिए  । तीमध्ये ६७ मुद्दा फैसला भइसकेको सो उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले जानकारी दिइन् ।

फैसला हुन बाँकी मुद्दामध्ये एउटा मुद्दा समितिले सम्बन्धित स्थानीय तहमा पठाएको छ भने तीन मुद्दाको सुनवाइका लागि जिल्ला अदालतमा पठाइएको न्यायिक समितिका कर्मचारी डिल्लीराम पोखरेलले जानकारी दिए । समितिमा  दर्ता भएकामध्ये दुई मुद्दा फिर्ता लिइएको छ भने १५  मुद्दामा मेलमिलाप हुन नसकेको र ६५ मुद्दा  प्रक्रियामा रहेको छ ।

उनका अनुसार समितिमा दर्ता भएका मध्ये सबैभन्दा बढी मुद्दा जग्गाको साँध सीमाना सम्बन्धि   छ । त्यस्तै बाटो , पारिवारिक  र ज्यालासम्बन्धि विवाद  छ । उपमहानगरपालिका–३, १७, १८ र १९ बाट समितिमा बढी मुद्दा दर्ता भएको छ ।

समितिले अर्काको बालीनोक्सान गरेको, चरण, धाँस–दाउरा, ज्याला– मञ्जदुरी नदिएको, नावालक छोराछोरी वा पतिपत्नीलाई खानलाउन र शिक्षा नदिएको तथा पतिपत्नीबीचको सम्बन्धविच्छेद, गाली वेइज्जती र कुटपिटलगायतका समस्याको फैसला गरेको छ ।

उपमहानगरपालिकाबाट न्यायिक समिति कार्यविधि ऐन, २०७४ पारित भएपश्चात् २०७४ फागुन ८ गतेदेखि नगरउपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भएको थियो । उपप्रमुख लामाले स्थानीय समस्या समाधानमा समितिले सहजीकरण गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार