images
images

ओलीको प्रतिवेदनमा निष्कर्षः सहकारीको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ (पूर्णपाठ)

सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउने कांग्रेसको मागमा समर्थन नजाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी क्षेत्रमा गम्भीर समस्या देखिएको बताएका छन् । शनिबार सुरु भएको प्रतिनिधि परिषद् भेलामा ओलीले  पेस गरेको राजनीतिक प्रतिवेदनमा सहकारी समस्याको विषयले पनि प्रवेश पाएको छ ।

उनले बचतकर्ताको रकम हिनामिना भएको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् । तर, लामिछानेको बचाउमा पनि एमाले उभिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन ।’

सहकारी रकम हिनाहिनामा लामिछाने मुछिएको भन्दै कांग्रेसले उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताउँदै आएको छ । तर, एमाले भने लामिछानेको बचाउमा केन्द्रित छ । यद्यिप ओली  पनि अहिले सहकारी क्षेत्रमा छानबिन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

यस्तै एमालेका केही नेताहरूले राजनीतिक धु्रवीकरण हुनुपर्ने बताइरहेका बेला अध्यक्ष ओली भने त्यसको विपक्षमा उभिएका छन् । धु्रवीकरण व्यवहारिक र लाभदायक नहुने बताएका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘‘मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरू माझ सहकार्य आवश्यक छ । त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन ।’

उनले अहिले सहकार्य हुँदा विश्वासको वातावरण निर्माण हुने अपेक्षा भने ओलीले गरेका छन् । उनले सहकार्यबाट विश्वासको वातावरण बनी भोलि विचार मिल्नेहरू क्रमशः एक ठाउँमा हुनसक्ने उनको विश्लेषण छ । तर, अहिले भने सबै सकरात्मक शक्तिलाई एक साथ लिएर हिँड्नुपर्ने उनको भनाइ छ । ओलीले नयाँ गठबन्धन बनेपछि राजनीति अनुकूल बनेको समेत विश्लेषण गरेका छन् । उनले नयाँ गठबन्धन बनेसँगै एमाले राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा फेरि स्थापित भएको तर्क गरेका छन् ।