images
images

रविको प्रतिवाद : के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो?

काठमाडौँ : सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि मिडियाले बनाएका समाचारबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज सामाजिक सञ्जालबाट लामो स्टेटसमार्फत प्रतिवाद गरेका छन्।

उनले आफूले सहकारीबाट ऋण नलिएको दावी गर्दै तर नाम लेखिएको बताएका छन्। उनले अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाइसी फर्म, तीन पुस्ते विवरणलगायतका कुनै विवरण नभएको तथा ल्याप्चे, हस्ताक्षर पनि नभएको जिकिर गरेका छन्।

उनले लेखेका छन्, ‘मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ। रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन् कि कसैले नाम लेखिदिनु भनेको भरमा रवि लामिछानेको नाम लेखिदिएको मात्रै हो।’

गृहमन्त्री लामिछानेले जीबी राईका सबै बदमासीको ठेक्का आफूले लिनुपर्ने हो? भन्दै प्रश्न समेत गरेका छन्।

समाचारहरूमा बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ करोड रुपैयाँ लिएको उललेख छ। सुप्रिम सहकारी संस्थाले गोर्खा मिडिया नेटवर्क प्रा.लि.का संचालक समिति सदस्यसमेत रहेका गृहमन्त्री लामिछानेको बैंक खातामा सेवा शुल्क बापत ४ लाख रुपैयाँ कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ गएको लेखा परीक्षण प्रतिवेदनमा देखिएको जनाइएको छ।

सुप्रिममा भएका सागर के.सी.को बचत खाताबाट लामिछानेले १३ लाख रुपैयाँ कारोबार गरेकोसमेत देखिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले हिजो सोमवार रुपन्देही जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा संस्थाको बचत सदस्य लामिछानेको नाममा कुनै प्रक्रिया पुरा नगरी ऋण लगानी गरेको देखिएको उल्लेख छ।

लामिछानेको ऋण भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गरिदने रोसनी गुरुङ्गको नाम अभियोगपत्रमा उल्लेख छ। सागर केसीलाई फरार अभियुक्त बनाइएको छ भने रोसनी गुरुङ्गलाई पक्राउ गरिएको छ तर गृहमन्त्री भएकै कारण लामिछानेले भने उन्मुक्ति पाएका छन्।

उनले सार्वजनिक गरेको स्टेटस जस्ताको तस्तै :-

कान्तिपुर लगायतका केही मिडियाहरूले आज फरक तरकारी पस्केछन् । “आलु काउली” खाँदा खाँदा वाक्क लाग्याथ्यो । आज “काउली आलु” आएछ। फरक त्यत्ति हो।

भ्रम पढेर भ्याइ सकियो होला भन्ने सम्झेर केही तथ्यहरू २ बुँदामा राख्दैछु :

बुँदा नं. १: 

रवि लामिछानेको नाममा Fake  धितो ऋण खाता Create गरी ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको होइन, मेरो व्यक्तिगत खातामा सहकारीको  पैसा आएको लिएको गएको केही होइन,छैन।

अनुसन्धानले देखाए अनुसार  उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, KYC फर्म, तिनपुस्ते विवरणलगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ।  रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन कि कसैले नाम लेखिदिनु भनेको भरमा रवि लामिछानेको नाम लेखिदिएको मात्रै हो।

के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? 

के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टि भएको छ र? अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालीन समयमा शेयरधनी रहेकोबाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टि भएको कतै  केही छ? म जीबी राईले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक व्यक्ति थिए? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहीन मान्छे हुँ ?

अभियोग पत्रले त स्पष्ट पारेको रहेछ त। कि कान्तिपुरले छुट्टै अभियोग पत्र प्राप्त गर्‍यो?  अदालतमा अभियोगपत्र दायर भएको मुद्दामा सहकारी सञ्चालनमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका २८ जना प्रतिवादीहरूले के कति रकम कुन प्रतिवादीले ठगी गरी हिनामिना गरेको भनी बिगो दावीसहित प्रतिवादी कायम भइसकेकोले Fake ऋणी Create गरिएको व्यक्तिलाई बयान लिने, मुद्दा दायर गर्ने, प्रतिवादी कायम गर्ने कार्य आफैँ कानुन विपरीत होइन र? प्रमाण चाहिन्न? कि कान्तिपुर  हेडलाइन नै सारा प्रमाण हुन्? नाम लेख्दै ऋण लिँदै तिर्दै गरेका कयौँ मान्छे मध्ये म पनि एक रहेछु। कान्तिपुर कै एक कर्मचारी पनि रैछन्। अनि गैरकानुनी ऋण प्रवाहमा मेरो कसरी संलग्नता हुन्छ?

कान्तिपुरको समाचारमा आए जस्तो सरकारी वकिलले अभियोगपत्रमा रवि लामिछानेले गैरकानुनी रुपमा ऋण लिएको पुष्टि भएको छैन ।

बुँदा नं.२:  बुँदा नं १ पटकपटक पढ्नु होला, बुझ्ने गरी पढ्नु होला।

अन्त्यमा: 

म सहकारी ठगी कार्यमा कहीँ कतैवाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु ।

फौजदारी न्यायको सिद्धान्तले प्रमाण र कानुनको आधारमा दोषी प्रमाणित गर्नु पर्छ भन्छ । प्रमाणको अभावमा कानुन विपरीत मलाई वलजफ्ति प्रतिवादी कायम गराउन विशेष गरी कान्तिपुर किन उत्प्रेरित गरिरहेको छ ?

यसको जवाफ मै खोज्छु,छिट्टै खोज्छु। थोरै धैर्य गर्नु होला। मैले आज सम्म आफ्ना शुभ चिन्तकहरूलाई निराश बनाएको छैन।

भोलि आलु काउली कि काउली आलु?? कि मिक्स ??

ह्यापी चैत दसैँ!!!