images
images

कोशीमा मुख्यमन्त्री कार्कीलाई हटाउन गठबन्धनले राेज्याे संकल्प प्रस्तावकाे बाटाे

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन गठबन्धन दलले संकल्प प्रस्तावकाे बाटाे राेजेका छन् । मुख्यमन्त्री कार्कीलाई अपदस्त गरेर नयाँ सरकार गठन गर्ने उद्देश्यसहित गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संकल्प प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावको समर्थकमा एमाले प्रदेश सांसद किशोरचन्द्र दुलाल र माओवादी सांसद गणेश उप्रेती रहेका छन् ।

यसअघि एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशको अधिवेशन माग गरेका थिए । दुई दलको माग अनुसार प्रदेश प्रमुख परशुराम खापुङले ६ वैशाखमा प्रदेशसभाको अधिवेशन बोलाएका छन् ।

एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्ने भन्दै प्रदेशसभाबाट यस्तो निर्देशन दिन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

संकल्प प्रस्तावमा कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वैकल्पिक सरकार दिन सक्षम रहेको पनि पत्रमा उल्लेख गरिएको छ ।

यस्ताे छ, संकल्प प्रस्ताव