कोरोनाले छेक्न नसकेको काठमाडौँ उपत्यकाको होली (तस्वीरसहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ चैत १५, आइतबार  
कोरोनाले छेक्न नसकेको काठमाडौँ उपत्यकाको होली (तस्वीरसहित)

काठमाडौँ । आइतबार फागू पूर्णिमा अर्थात् होली। देशको हिमाली तथा पहाडी क्षेत्रमा उत्सवका साथ होली मनाइंदै छ । राजधानीको वसन्तपुरमा सहभागी भएर हजारौं संख्यामा युवा–युवती, बृद्धवृद्धा र बालबालिकाले होली मनाएका छन् ।

वसन्तपुरमा होलीको बेलामा अघिल्ला वर्षहरुमा हुने चहलपहलको तुलनामा यसपालि केही कम चहलपहल छ। होली लेखेको सेतो टिसर्टमा युवायुवती होलीको शुभकामना साटासाट गर्दै रंग दलिरहेका छन्। पर्यटकहरु होली खेलेर रमाइरहेका देखिन्छन्। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

सरकारले भीडभाड गरेर होली मनाउन रोक लगाए पनि काठमाडौँको वसन्तपुरमा युवाहरु भेला भएर होली मनाइरहेका छन्। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको हो।

काठमाडौं प्रशासनले पनि सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको थियो। बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको थियो।

तर वसन्तपुरमा होली खेल्न भीड जम्मा भएका र उनीहरुले स्वास्थय सतर्कता खासै नअपनाएको पाइन्छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार