images
images

चितवनका युवाले बनाए इलेक्ट्रिक ह्वीलचियर

भरतपुर- शारीरिकरूपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कूल जान कसैको सहारा चाहिँदैन । उनी इलेक्ट्रिक ह्वीलचियर चलाएर आफै विद्यालय जाने र घर फर्कने गर्छन् । धेरै वर्षसम्म उनीलाई ह्वीलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपथ्र्यो ।

युवा इन्जिनियर सुनिल परियारले उनका लागि इलेक्ट्रिक ह्वीलचियर निर्माण गरिदिएपछि हिँड्डुल गर्न सजिलो भएको हो । परियारको अनुसन्धान समूहले उनका लागि इलेक्ट्रिक ह्वीलचियर निर्माण गरिदिएका हुन् ।

शिक्षक बम्जनले इलेक्ट्रिक ह्वीलचियरले जीवनशैलीमै परिवर्तन भएको बताए । उनले भने,’नयाँ ह्वीलचियरले स्कूटर चलाउने सपना पूरा हुनुको साथै सडक पार गर्न सजिलो भएको छ ।’

युवा समूहले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी प्रयोगशाला (ल्याब) सञ्चालन गरी ह्वीलचियर निर्माण र अनुसन्धानको काम गरिरहेका छन् । नौ वर्षदेखि ह्वीलचियर निर्माण र मर्मतको काम गरेका सुनिल नेपालको वातावरणमैत्री ह्वीलचियर निर्माण अभियानमा छन् । विद्यार्थीलाई पनि ह्वीलचियर निर्माण र मर्मतको काम सिकाइरहेको उनी बताउँछन् ।

‘विभिन्न डिजाइनका ह्वीलचियरबारे अध्ययन गरेर अपांगता भएका व्यक्ति, अस्पताल र स्संघस्थाको अनुरोधमा नयाँ बनाउने र पुरानो मर्मत गर्ने काम ल्याबले गरिरहेको छ’, उनले भने,’ल्याबले फ्रेम डिजाइनिङ गरेर नयाँ मोडलको ह्वीलचियर उत्पादन गर्छ ।’ सबै अपांगता भएका नागरिकलाई सरकारले निःशुल्क ह्वीलचियर उपलब्ध गराउनुपर्ने उनको जोड छ ।

इन्फिनिटी ल्याबसँग आबद्ध खेम केसी सरकारसँग समन्वय गरी काम गर्न इच्छुक रहेको बताउँछन् । केसीले आवश्यकताअनुसारको डिजाइन र साइजमा ह्वीलचियर निर्माण गरिरहेको बताए । दुर्घटना, मस्तिष्कघात र स्पाइनलकर्ड इञ्जुरीका बिरामीलाई ह्वीलचियरको आवश्यकतापर्ने केसीको भनाइ छ ।

‘ह्वीलचियर नपाएमा स्पाइनलकर्ड इञ्जुरीको बिरामी शययमा नै हुन्छ । शरीरमा रक्त प्रवाह राम्रो हुँदैन,’उनले भने । अस्पतालमा १२ वर्ष काम गरेर त्यहाँ बिरामीले भोग्ने समस्या देखेपछि ह्वीलचियर उत्पादनको काममा लागेको उनले बताए ।

इञ्जिनियर सुनिलले भूकम्पपछि लामो समय अध्ययन गरी नेपालमै पहिलोपटक इलेक्ट्रिक ह्वीलचियर उत्पादन सुरू गरेका हुन् । उनले ह्वीलचियरबारे जनचेतनाान कमी र ह्वीलचियर मैत्री वातावरण नरहेको बताए ।

‘ह्वीलचियर प्रयोग गर्न लजाउने प्रवृत्ति अझै देखिन्छ, यसका लागि सामाजिक सचेतना जरुरी छ’, उनले भने,’अपांगता भएकालाई घरभित्रै राख्ने बानी अन्त्य गरी ह्वीलचियरमा हिँड्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ ।’

इन्फिनिटी ल्याबको भूमिका प्रेरणादायी रहेको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराइले बताए । उनले यस्ता किसिमका अनुसन्धान र विकासका काममा राज्यको सहयोग आवश्यक रहेको बताएका हुन् ।

-रासस।