images
images

बागमती नगरपालिका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता गरेकाे छ।

अघिल्लो कार्यकाल पनि प्रमुख रहेका थापाले पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी अख्तियारले गरेको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा सात करोड ८६ लाख ५० हजार रुपैयाँ वैध तरिकाले आम्दानी गरेको पाइएको जनाए। तर सोही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको पाइएको छ।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्य नमिलेको पाँच करोड ३३ लाख ५३ हजार अवैध आम्दानी गरेको अख्तियारले जनाएको छ।

अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिबाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ।

यस्तै, अख्तियारले उनकी श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ राम थापा र भाइबुहारी द्वारिका राउतलाई पनि प्रतिवादी बनाएको छ।