images
images

सहकारीमा मिटरब्याज : १० लाख ऋणको ब्याज ८५ लाख

नवलपुर, चैत २६ गते । पचपन्न वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ ।

दीर्घनारायणले भन्नुभयो, “चिन्ताले म डिप्रेसनको सिकार भएको छु । औषधि खानुपर्ने बनायो । छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ । यो तनावबाट परिवारै उम्कन सकेका छैनौँ ।”

भुर्तेल परिवार २०७२ सालमा कावासोतीमा खुलेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचतकर्ता हुनुभयो । त्यसको पाँच महिनापछि १० लाख रुपियाँ लगानी गरेर सेयर सदस्य हुनुभयो । सहकारीमा बचतकर्ताको रकम थपिँदै गयो । सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक पुख्र्यौली घर पर्वतका गाउँले भान्जा योगेन्द्र पाण्डे रहेको दीर्घनारायणले बताउँदै भन्नुभयो, “भान्जाले बिनाधितो ऋण लिन उकासेपछि २०७३ सालमा १० लाख रुपियाँ ऋण लियौँ । अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपियाँ सकिइसकेको छ ।”

२०७७ सालमा १० लाखको ब्याज ६० लाख रुपियाँ पु¥याइयो । त्यो ६० लाख असुल गर्नका लागि कावासोतीकै एक ठाउँको १८ कट्ठा र अर्को ठाउँको दुई बिघा जग्गा धितो राखेर कागज गराइयो । उक्त ऋण व्यवस्थापन गर्नका लागि २०७३ सालमा चितवनको नारायणघाटमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट बिनाधितो ३० लाख रुपियाँ उपलब्ध गराइयो । छिपछिपे सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे नै सनराइज सहकारीको सचिव रहेको जानकारी दिइएको छ ।

२०७८ सालमा छिपछिपेको ब्याज ७८ लाख रुपियाँ पुगेको थियो । त्यसको २९ दिनपछि ब्याज बढेर ८५ लाख १६ हजार रुपियाँ पु¥याइयो । उता सनराइजको ब्याज महिना महिनामा तिरेको ३० लाख र छ महिना अघिसम्मको जोड्दा थप एक करोड २६ लाख रुपियाँ पुगिसकेको थियो । त्यो ब्याज तिर्नका लागि भुर्तेल परिवार चार करोड रुपियाँ पर्ने जग्गा दुई करोड रुपियाँमै बेच्न बाध्य भयो र सनराइजको बाँकी रहेको एक करोड २६ लाख तथा छिपछिपेको ८५ लाख १६ हजार साँवा ब्याज तिरेर चुक्ता गरिसकेको छ ।

यहाँसम्म आइपुग्दा भुर्तेल परिवारले सनराइजलाई एक करोड ५६ लाख रुपियाँ र छिपछिपेलाई एक करोड १९ लाख रुपियाँ गरी दुई करोड ७५ लाख रुपियाँ बुझाइसकेको बताएको छ । जसमा २०७२ सालमा छिपछिपेमा राखेको १० लाख रुपियाँबराबरको सेयरको हिसाबकिताब र मासिक बचतको हिसाब कतै देखिन्न । सनराइज सहकारी भने बचतकर्ताको रकम हिनामिना गरेर बन्द भइसकेको छ ।

नवलपुर प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । छिपछिपेका प्रबन्ध निर्देशक योगेन्द्र पाण्डे, सनराइज सहकारी चितवनका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमाल र सहकारीबाट हिनामिना गरिएको रकम व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछानेलाई पक्राउ गरिएको नवलपुरका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिनुभयो । “सरकारीमार्फत बचतकर्ताको रकम हिनामिनामा ठुलो गिरोह सक्रिय भएको देखिएकाले प्रहरीले अनुसन्धानलाई तीव्रता दिइएको छ,” उहाँले भन्नुभयो ।

फिर्ता भएन धितो

२०८० साल भदौ ६ गते सबै रकम तिरिसक्दा पनि २०७७ सालमा छिपछिपेमा धितो राखेको ३, ४ र ९० कित्ता नम्बरको दुई बिघा १८ कट्ठा जग्गाको तीन वटा जग्गा धनीपुर्जा भुर्तेल परिवारले फिर्ता पाउन सकेको छैन । उक्त पुर्जा छिपछिपेले राष्ट्रिय सहकारी बैङ्कमा धितो राखेर आफैँले ऋण लिएकाले ऋण तिर्न नसक्दा फिर्ता हुन सकेको छैन । राष्ट्रिय सहकारी बैङ्कका अनुसार छिपछिपेले झन्डै १६ लाख रुपियाँ तिर्न नसकेर भुर्तेल परिवारको जग्गा धनीपुर्जा बन्धक बनेको हो ।

अनुसन्धान हुँदै

छिपछिपेले बचतकर्ताको १० करोड रुपियाँ हिनामिना गरेको शङ्कामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पनि छानबिन गरिरहेको छ । रकम फिर्ता नपाएपछि बचतकर्ताको उजुरीका आधारमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेको हो ।

२०७२ देखि २०७९ सम्म एउटै व्यक्ति (योगेन्द्र पाण्डे) सहकारीको अध्यक्ष र व्यवस्थापक भएर बचत हिनामिना गरेको छानबिनका क्रममा देखिएको छ । पाण्डेले सहकारीको रकम मिटरब्याजमा समेत लगानी गरेको शङ्कामा सहकारी रजिस्ट्रार र प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएका छन् ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय प्रमुख भेषराज रिजालले पाण्डेले सहकारीकै रकम झिकेर मिटरब्याजमा लगाएको तथा बिनाधितो आफू र नजिकका व्यक्तिलाई कर्जा प्रवाह गरेकोसमेत छानबिनका क्रममा देखिएको बताउनुभयो । पाण्डेले चितवनको एउटा सहकारी संस्थामा करिब एक करोड र बर्दियाको सहकारीमा करिब ९० लाख रुपियाँ रकमान्तर गरेको पाइएको पनि उहाँले बताउनुभयो ।

व्यवस्थापक पाण्डेले कावासोती–१६ मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर २०७९ पुसमा सहकारीबाट आफैँले ३२ लाख रुपियाँ ऋण लिएका थिए । सहकारीका वर्तमान अध्यक्ष गोपी शर्माले सञ्चालक समितिको बैठकबिनै जग्गाको नक्कली कागजात बनाएर पाण्डेले मालपोतबाट धितो फुकुवा गराएर अन्तै बिक्री गरिसकेको जानकारी दिनुभयो ।

लामो समयसम्म एउटै व्यक्ति सञ्चालक समितिको अध्यक्ष र व्यवस्थापक रहेर तालुकदार निकायमा वर्षौंसम्म हिसाब पेस नगर्दासमेत संस्थाको निगरानी गर्ने प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय बेखबर रहेको बचतकर्ताको आरोप छ ।

पाण्डेले आफैँ सहकारीको अध्यक्ष र निर्देशक बनेर आफ्नी बहिनी नाता पर्ने (सानीआमाकी छोरी) सुनीताकुमारी न्यौपानेलाई व्यवस्थापक बनाएरसमेत रकम हिनामिना गरेको पाइएको वर्तमान अध्यक्ष शर्माले बताउनुभयो । पाण्डेले बचतकर्ताको रकममा गम्भीर अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धान गरिरहेको र सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनपछि थप प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।गोरखापत्र दैनिक