सरकार चलाउन दाहाल–नेपाल समूहलाई कांग्रेसले सहयोग गर्छ : नेता पौडेल  

लाल्टिन खबर ,
प्रकाशित: २०७७ फागुन २०, बिहीबार  
सरकार चलाउन दाहाल–नेपाल समूहलाई कांग्रेसले सहयोग गर्छ : नेता पौडेल  

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताए । वरिष्ठ नेता पौडेलले भने, “कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ ।

यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ ।”  प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको जनाउँदै उनले प्रधानमन्त्री हुनबाट उनलाई रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताए ।

उनले भने “अहिलेको स्थिति नाजुक छ, सङ्कटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? कांग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन ।”पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै उनले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अबस्था देखिएको बताए ।

उनले भने, “सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छौँ ।” एक प्रश्नका जवाफमा अहिलेको ‘भद्रगोल राजनीति’ कांग्रेसले सम्हाल्नुपर्ने बताउँदै उनले भारत, चीन र अमेरिकालार्ई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुनेगरी सरकार बन्नुपर्ने बताए ।

उनले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई कहिल्यै नचाहिने बताए । आफू बाँचुञ्जेल क्रियाशील भूमिकामा बाँचुञ्जेल रहने पौडेलको भनाइ थियो । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार