युवक हत्या प्रकरण : ६ जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता

लाल्टिन खबर ,
प्रकाशित: २०७७ फागुन १२, बुधबार  
युवक हत्या प्रकरण : ६ जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता

काठमाडौँ । उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको हत्या घटनामा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत मोरङमा दर्ता भएको छ । पक्राउ परेका दुई जनाको अदालतमा बुधबार बयान गराइएको छ ।

उर्लाबारी नगरपालिका ६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार कुमार राई र मेहरमान दर्जी पक्राउ परेको र उनीहरुलाई बयानका लागि अदालतमा उपस्थित गराइएको छ ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले उर्लाबारी घटनाका आरोपीमध्ये राई र दर्जीको बयान सकिएको र बिहीबार बहसपछि पुर्पक्षका लागि आदेश हुने बताए । उनले जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको सुनाए ।

उक्त हत्या घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै मृतकका परिवाजन तथा आफन्त आइतबारदेखि आन्दोलनमा छन् । उनीहरुले इलाका प्रहरी उर्लाबारी घेराउका साथै विराटनगरमा प्रदर्शन गर्दै सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरीमा न्याय प्राप्तीका सहयोग गर्न आग्रह गरेका थिए ।

परिवारजनले हत्याको घटनामा सत्यतथ्य लुकाएर तथ्यहिन फायल खडा गर्ने प्रहरी निरीक्षक उद्धव पोखरेललाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने र दोषीलाई कानुनी कारबाहीका लागि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्नुपर्ने माग गर्दै आएका थिए ।

बास्तोलाको शव पुस ५ गते स्थानीय गोदाबरी अस्पतालमा परिवारजनले फेला पारेका थिए । उर्लाबारी ४ स्थित रमेश गिरीको घरमा डेरा गरी बस्दै आएका रिकेश शिवा भन्ने मेहरमान दर्जीले प्रवीणलाई पुस ४ गते फोन गरेर बोलाएका थिए । शिवा, दिपेश पौडेल, राजेश रणपहेलीसँगै प्रवीणले उर्लाबारीको पूर्वपट्टीको बसपार्क नजिकको सौरबी होटलमा रक्सी खाएर सबै जनासँगै शिवाको डेरामा सुत्न गएका थिए । 

प्रहरीले घटनाको भोलिपल्ट नै पक्राउ गरेका शिवा, दिपेश पौडेल, राजेश रणपहेलीलगायत माथि अभद्र व्यवहारको मुद्दा चलाएर अनुसन्धान थालेको थियो । तर उनीहरुलाई फागुन २ गते छाडिदिएकाले परिवारजनले न्याय नपाउने आशंकाले खोजीनीति गर्न थालेका थिए ।

त्यही क्रममा आइतबार इलाका प्रहरीमा बुझ्न जाँदा अनुसन्धान गरिएको फायलमा मृतकको फर्जी फोटो भेटाएपछि परिवारजन आक्रोशित भएका थिए । प्रहरीले अनुसन्धानपछि फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको तर त्यहाँबाट मृत्यु कारण खुलाइ पठाउन फायल फिर्ता गरिदिएको थियो । घटनामा जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोली गठन गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरी उपरीक्षक खड्काले मृत्युको कारण पत्ता लगाउन समय लागेकाले घटनाबारे केही भ्रम सिर्जना भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार पत्रकार सम्मेलन गरी उनले सुरुमा आएको पोस्टमार्ड प्रतिवेदनले मृत्युको कारण नखुलेपछि भिसेरा परीक्षणका लागि पूर्व क्षेत्रीय विधि विज्ञान प्रयोगशाला धरानमा पठाएको बताए ।

इलाका प्रहरी उर्लाबारीको विषयमा पीडितले उठाएको प्रश्नका कारण प्रहरी नायव उपरीक्षक राईको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा दोषी देखिए कारबाही गर्ने खड्काले प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार