श्वेता खड्काको चुनौती- कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु !

लाल्टिन खबर ,
प्रकाशित: २०७७ फागुन १, शनिबार  
श्वेता खड्काको चुनौती- कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु !

काठमाडौँ । नायिका श्वेता खड्काले आफ्नो पहलमा सिन्धुपाल्चोकको झ्याँडीमा निर्माण भइरहेको एकिकृत वस्तीको बारेमा आएका समाचारहरु सत्य नभएको भन्दै त्यसको खण्डन गरेकी छिन् ।

आज सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले माझी बस्तीका केही ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचनाहरु सम्प्रेषित भइरहेको भन्दै ती समाचारहरु सत्य नभएको बताएकी हुन्।

उनले ती समाचारहरुको यथार्थ के हो भन्ने बारेमा सबै सामु स्पष्ट पार्न चाहन्छु भन्दै जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन, भनेकी छिन् ।

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रियाहरु पनि देखेको छु । तर जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु । खड्काले भनेकी छिन् ।

उनको स्टाटस जस्ताको त्यस्तै :

माझीबस्ती स् यथार्थ र भ्रम
अहिलेका केही दिनहरुमा निर्माणाधीन माझीबस्ती र श्वेताश्री फाउण्डेशनलाई जोडेर केही मिडियामार्फत् भ्रामक समाचारहरु सम्प्रेषण भई रहेका छन्।  
‘श्वेताले माझीबस्तीबाट हात झिकिन्’ शीर्षकका ती भ्रामक समाचारहरुसँगै माझी बस्तीका केही व्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर  एकीकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचनाहरु सम्प्रेषित भइरहेका छन्। यसरी प्रकाशित र प्रशारित यी समाचारहरुको सत्यता र यथार्थतालाई  यहाँहरुसामु स्पष्ट पार्न चाहन्छु।

तीन वर्षअगाडि माझी बस्ती निर्माणको लागि अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने साहस गरिरहँदा त्यो बेलामा मेराअगाडि र पछाडि मलाई सहयोग गर्नेहरुको लर्को थिएन न त मसँग प्रशस्त धन नै थियो।  थियो त केवल आत्मविश्वास अनि साहस।  

भूकम्पले क्षतविक्षत भएको माझी बस्तीलाई सम्बन्धित सरकारी निकायहरु लगायत मनकारी दाताहरुसँग जोडीदिने एउटा कडीको रुपमा आफुले  भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा, शान्त र स्वर्गीय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घच्घच्याएको थियो।

त्यसकै परिणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकारलगायतका सरकारी निकाय र विभिन्न बैकिङ्ग संस्था, मनकारी दाता तथा सहयोगी व्यक्तिहरुसँगको हातेमालोले आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ।

भूकम्पले भताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा  सुन्दर, शान्त र मनमोहक बस्तीको रुपमा यो बस्तीले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर ‘श्वेताले माझी बस्तीबाट हात उठाइन्’ भन्ने भ्रामक समाचार आउनु आँफैमा हास्यास्पद छ।

मैले यसलाई माझी बस्ती र म बीचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु। माझी बस्तीभित्रका केही व्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर श्वेताले भूकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिन्छ भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकि राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कार नै हो।
५३ घरधुरीभित्र बस्ने ३२२ जना जनसंख्यामध्येबाट केही सीमित व्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेको छु।

माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, विभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाहरुलाई हतोत्साहित गर्ने अनि टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा  इट्टाको एउटा टुक्रासमेत नबोक्ने दुई–चार व्यक्तिहरुलाई छानी–छानी अन्तर्वाता लिएर एकीकृत बस्ती विकासको कार्यलाई  थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्। यसलाई माझीटोलका अधिकांश व्यक्तिहरुले पनि राम्ररी बुझेका छन्। नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानीय युवाहरुको जमातलाई सोध्दा हुन्छ।

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रियाहरु पनि देखेको छु तर जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु। तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेको छ त्यसको बारेमा झिनो जानकारीसमेत नलिई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो रु
यही आरोपलाई झूटो सावित गर्नका निमित्त  म यथाशीघ्र ‘प्रेस मिट’ आयोजना गर्ने छु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्ने नै छु।  

हिजो माझी बस्तीले आर्थिक अभाव झेलेर निर्माणको काम रोक्ँिकदै गर्दा चुइँक्कसम्म नबोल्नेहरु अहिले मतिर फर्किएर प्रश्न गर्दैछन्। ‘तैले त्यो  बस्तिमा के योगदान गरिस्’ मैले बस्ती निर्माणको काम रोक्किदै गर्दा व्यक्तिगत रुपमा ३२ लाख रुपैयाँ दिएर काम सुचारु गरेको छु। विभिन्न दाताले घरबाहेकका पूर्वाधार निर्माणका लागि प्रदान गर्नुभएको आर्थिक सहयोगलाई पनि ‘रिस्क’ लिएरै उपभोक्ता समितिको खातामार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् माझीटोललाई बजेट मिलाउन प्रोपोजलको फाइल बोकेर सयौँपटक  सिंहदरबार धाएको छु। कैयौँ मिटिङ्ग र झञ्झटिलो कागजी प्रक्रियापश्चात मात्र माझीटोलमा सहयोगहरु पुगेको हो।
बस्ती निर्माणका क्रममा आएका कैयन बाधाहरुसँग नडराई अनि हरेश नखाई  जुधेको छु। जीवनमा कसैसँग हात फिँजाएर भीख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु।

सहयोगको अपिल गरेकी छु तर आजका दिनसम्म कोही कसैलाई जोर–जबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन। मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनुपर्छ भनेर कहिल्यै भनेकी छैन। माझीटोलकै उपभोक्ता समितिमार्फत् डाइरेक्ट सहयोग गर्न अपील गरेको छु। विश्वास छैन भने स्थानीय उपभोक्ताहरुको बैंक खाता र हाम्रो बैंक खाता केलाएर हेर्दा हुन्छ। हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौँको कारोबार भएको देखिन्छ।

यो परियोजना माझीटोललाई जबर्जस्ती लादिएको परियोजना होइन् भन्ने बुझ्नलाई स्ठानिय उपभोक्ता समितीसंग भलाकुसारी गर्नुपर्ने हुन्छ।
बस्ती निर्माणपूर्व नै आठ वटा घरको डिजाइनहरुमध्येबाट हालको डिजाइन रोज्ने स्थानीयवासी नै हुन। नेपाल सरकारबाट भूकम्पपीडितले अनुदानस्वरुप पाउने ३ लाख रकमभित्रैबाट बन्ने घरका डिजाईन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अति नै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानीयवासीहरुकै सहमतिमा हालको घरको डिजाइन तयार गरिएको हो। घर निर्माणको लागि प्राविधिकहरुले तयार गरेको अनुमानित लागत रु ८ लाख २५ हजार थियो।

केही दाताहरुले  ढोका लगायत  जस्तापाता सहयोग गर्ने प्रतिवद्धता दिए अनुरुप सो सामाग्रीको मूल्य कटाएर ७ लाख मूल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मूल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन्। घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समिति नै हो।

सरकारी अनुदानबाहेक अन्य नपुग रकम रु। ४ लाख ऋण स्वरुप लक्ष्मी बैंकबाट लिने भनेर साझा सहमति जुटाउने पनि स्थानीय उपभोक्ता समिति नै हो। याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ।

अतः यही प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्नेलगायत निर्माणको लागि आवश्यक ईकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनी पूर्वसहमति भएकै हो।
घरबाहेकका नयाँ पूर्वाधारहरुजस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्माणको कार्यमा भने स्थानीय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले विभिन्न निकायहरुसँग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमती जुटेकै हो।

आजका दिनसम्म पनि सोही सहमतिअनुसार कार्य भएकै छ। अतः घर निर्माणको पाटोमा ४ लाख ऋण बोक्नुपर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवारमध्येका केही व्यक्तिले  अहिले आएर आफूलाई नयाँ घर घाँडो भएको भन्नु कत्तिसम्मको जायज हो रु सार्वजनिक निजी साझेदारी ९एगदष्अि९एचष्खबतभ९एबचतलभचकजष्उ ० मोडालिटी अनुरुप जनताको पनि लागानी रहने गरी तयार गरिएको एकीकृत बस्ती विकासको यो मोडल दिगो विकासको सफल मोडल पनि हो। ‘एनजीओहरुले सबै कुरा गरिदिनुपर्छ’ भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि  जनताको सहभागिता र लगानीलाई आत्मसाथ गरिएको हो।

चार लाख ऋण बोकेका माझी परिवारले ऋण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तिको मूल्य बढेको नदेख्नु विडम्वनापूर्ण छ। बस्ती निर्माणपूर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मूल्य अहिले ९० हजार पुगेको छ। ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरु छन्।
त्यसो त माझीहरुले बोकेको ऋणको भारी तिर्नको लागि होम–स्टेको परीकल्पना गरिएको छ। जसले स्वरोजगार सृजना भई आम्दानीको स्रोत हुने छ। ऋण तिर्नको लागि सहजता आउनेछ। यसको लागि भौतिक पूर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ। अतः दूरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यसको बारेमा गलत अफवाह फैलाउन खोज्नु कत्तिको न्यायसङ्गत होला रु

यतिखेर माझी टोलमा इट्टा र सिमेण्ट जडित भौतिक पूर्वाधारहरु मात्र बनेका छैनन्। बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि सशक्त बन्दै गएका स्थानीयवासीहरुले आफूमा आएको मानसिक र बौद्धिक विकासको मूल्यांकन पनि गर्नुपर्ने हुन्छ। बनाएको घर भत्किन्छ तर मानसिक सशक्तीकरण कहिल्यै भत्किँदैन।

अत बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनि कर्म हो। मैले अपील गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तीलाई सम्पन्न गर्ने जिम्मेवारी मेरो हो। म मेरो जिम्मेवारीबाट विमुख हुने छैन। ‘माझी टोलबाट हात झिकी’ भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु।
जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन। मेरो अन्तिम ईष्र्या ‘म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाइयोस् र मेरो अन्त्यष्टि त्यहीँ गरिओस्।’  
उही तपाईंकी छोरी र चेली
श्वेता खड्का

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार