images
images

कति दिन मन्त्री हुन्छु थाहा छैन, डटेर काम गर्छु –

३ चैत काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै पदबाट राजीनामाको माग गरेको छ। शुक्रबारको प्रतिनिधि सभा बैठकमा वेल घेराउ गर्दै कांग्रेसका सांसदहरूले ‘सहकारी पीडितलाई न्याय देऊ, गृहमन्त्री राजीनामा देऊ’ भन्ने नारा पनि लगाएका थिए।सहकारी प्रकरणमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले केही दिनदेखि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट जबाफ मागिरहेको छ। तर प्रधानमन्त्री संसदमा उपस्थित भएका छैनन्।

गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सभामुख देवराज घिमिरेले समय दिए पनि कांग्रेस सांसदहरूले वेल घेराउ गरेपछि कार्यसूचीबाटै यो विषय हटाएर चैत ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ।कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्न नपाएका गृहमन्त्री लामिछानेलाई संघीय संसद भवन परिसरमा पत्रकारहरूले शुक्रबार अपराह्न प्रश्न सोधेका थिए।त्यसको जवाफ दिँदै लामिछानेले आफू कति दिन गृहमन्त्री हुने थाहा नभए पनि डटेर काम गरिराख्ने बताए।

‘कांग्रेसको नारा चर्को होला, राजीनामा दे भन्ने होला। म आफ्नो काम गरिरहन्छु, मलाई यो शक्ति नेपाली जनताले दिएका हुन्। मैले प्राप्त गरेको यो शक्ति नेपाली जनतालाई ब्याजसहित फिर्ता गर्नका लागि आएको हो,’ उनले भने, ‘कतिदिन हुन्छु मलाई थाहा छैन। जतिदिन हुन्छु डटेर, नझुकीकन आफ्नो काममा निरन्तर लागिरहनेछु।’संसदमा बोल्न आफूले समय पाएपछि नेपाली कांग्रेसले उठाएका विषयमा राम्रोसँग बताउने उनले प्रतिक्रिया दिएका छन्। उनले सुन प्रकरणको अनुसन्धानमा प्रभावित हुन नदिने पनि बताए। ‘कांग्रेसजस्तो लोकतान्त्रिक दलले सदनमा विधेयक नै प्रस्तुत हुन नदिने भन्नेजस्तो चिजलाई निरन्तरता दिने छैन भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘के विषय उठाएको छ, त्यसको मेरिट के हो, कहाँ उठेको छ। कस्तो उजुरी हो, कसले गराएको हो त्यति कुराचाहिँ एक पटक सदनमा मौका पाएँ भने नेपाली कांग्रेसलाई पढाउने इच्छा छ, ९ मिनेट १८ सेकेन्डमा धन्यवाद।’

उनले संसदमा उठेका विषयमा जबाफ दिन आफू तयार रहेको बताए।‘संसदमा विधेयक प्रस्तुत गर्न नदिने भन्ने त के गर्न सकिन्छ र! जबाफ दिनका लागि तयार नै छु। जबाफ सुनेपछि उहाँहरू बेहोस हुने हो कि थाहा छैन,’ गृहमन्त्री लामिछानेले भने, ‘कानुन बनाउने प्रक्रिया रोक्नु भएन। कुन कुरा सडक कुन कुरा सदनमा गर्ने भन्ने कुरा कांग्रेसजस्तो इतिहास बोकेको लोकतान्त्रिक दललाई भर्खरै आएको दलले पढाउन सुहाउँछ, हामी पढाउँदैनौं, कांग्रेसले आफैँ पढोस्।’

आफूहरू प्रतिपक्षमा हुँदा अवरोध नगरेको दाबी गर्दै उनले सदन चल्नुपर्छ भनेको र प्रश्न सोधिएको बताए।‘कांग्रेसलाई गफ गर्ने चिजहरू आज बेलुकीबाट पनि आउँछ,’ उनले भने।सुन तस्करीबारे जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र त्यो प्रतिवेदन प्रधानमन्त्रीलाई पनि बुझाइएको उनले बताए।‘आयोगले दिएका प्रतिवेदनमा भएका विषयबस्तु टेकेर पुन: छानबिन हुन्छ। उन्मुक्ति पाएकाहरूले केही समय रमाए होलान्, कोही रमाउन पाउँदैन,’ उनले भने, ‘सुशासनको प्रत्याभूति दिन आएको छु।’