काउन्टर सभाको तयारीमा ओली समूह

लाल्टिन खबर ,
प्रकाशित: २०७७ माघ ११, आइतबार  
काउन्टर सभाको तयारीमा ओली समूह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन् । नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो ।

वाग्मती प्रदेशको आयोजनामा हुने आमसभामा देशभरबाटै नेताकार्यकर्ता सहभागी हुने ओली समूहले जनाएको छ । ओली समूहले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ । यो एक प्रकारको नेपाल–दाहालको आमसभालाई काउन्टर दिने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

तर सो समूहका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यो काउन्टर आमसभा नभएको बताए । ‘हाम्रो राजनीतिक उद्देश्य र मूल्यमान्यता जनतालाई जानकारी गराउने हेतुले कार्यक्रम गर्न लागिएको हो । काउन्टर आमसभा होइन’, आमसभा आयोजकसमेत रहेका पोखरेलले भने ।

उनका अनुसार यस्ता सभाले राजनीतिक उद्देश्य बोकेका कारण यसलाई काउन्टर भन्ने शब्द प्रयोग गर्नु हुँदैन। ‘उहाँहरूसँग हामीले प्रतिस्पर्धा नै गर्नु छैन। उहाँहरू निर्वाचनबाट भाग्दै हुनुहुन्छ भने कसरी काउन्टर हुन्छ  ? यो त स्वाभाविक आमसभा हो’, पोखरेलले भने। नागरिक दैनिकमा खबर छ ।

  

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार