images
images

सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरीः उपप्रधानमन्त्री महासेठ

काठमाडाैँ – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताएका छन्।

काठमाडौंमा शनिवार आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभइ सरकारको पनि बताए। उनले नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशत भन्दा तल आएको बताए।

केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको उहाँको दाबी थियो। उनले अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण रहेको बताए। उनले अबका दिनमा अर्थतन्त्र थप सुधार हुँदै जाने बताए।

उनले भने, ‘अहिलेको पोजिसन हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ७.१ बाट झरेर २ भन्दा मुनि छ। त्यो अब एक दुई महिनापछि सार्वजनिक गर्ने नै छौँ। देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै होइन। नेपाल सरकारको पनि हो। जबसम्म नेपाल सरकार र निजी क्षेत्रको बीचमा एउटा सहकार्य हुँदैन, आर्थिक क्षेत्रमा हामी फड्को मार्न सक्दैनौँ। निजी क्षेत्र मात्रै म अघि बढ्छु भनेर उहाँहरु सक्नुहुन्न। सरकारले निजी क्षेत्रलाई बाइपास गरेर जान्छु भयो भने पनि सफल हुँदैन। हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि गठबन्धनको सरकार छ। तर गाडी जाँदाखेरि ड्राइभरलाई धेरै डिस्टर्ब गर्‍यो भने गाडी एक्सीडेन्ट हुने सम्भावना हुन्छ। बसभित्र बस्ने प्यासेन्जरहरुले पनि यो बस सुरक्षित ठाउँमा पुग्नुपर्छ, त्यो जिम्मेवारी लिनुपर्छ। त्यसमा सचेत हुनुपर्छ। आशा गरौँ, अब हिजो भन्दा अलिकति सुधार हुँदै अघि बढ्नेछ। यो सरकारबाट हुनसक्ने सबै प्रकारको सहयोग हामी गर्न तयार छौँ।’ उनले नेपालले तयारी पोशाकमा धेरै ठूलो परिवर्तन गर्नसक्ने बताए।