images
images

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न -जम्मै धोका पाएका एक ठाउँमा आए तपाई कहाँ पुग्नुहुन्छ ?

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालबाट धोका पाउन बाँकी कोही नरहेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

लेखकअघि बोलेका प्रधानमन्त्री दाहालले कांग्रेसको महासमिति बैठक दस्ताबेजमा उल्लेखित कुरा, कोशीको धोका, महासमिति बैठकमा उठेको धर्मको कुराका कारण गठबन्धन भत्काउनुपरेको टिप्पणी गरेका थिए।

त्यसको प्रत्युत्तर दिँदै लेखकले पार्टीले आफ्ना दस्ताबेजमा लेखेका कुराका आधारमा देशलाई अस्थिरताको बन्धक बनाउन नहुने बताए।

‘पार्टीले आफ्ना दस्ताबेजमा लेख्छन्। तपाईलेको पार्टीले कांग्रेसलाई प्रयोग गरेका शब्द स्मरण गर्नुस् त ! शत्रु, दुस्मन भन्दा कांग्रेसलाई रिस उठेन,’ उनले भने,‘बरु तपाईँहरूलाई शान्ति प्रक्रिया, मूलधारमा सँगसँगै हिँडाएर यही संसदमा ल्याउन सहयोग गर्‍या होइन ? तपाईँका दस्ताबेजले आत्तिएर भाग्यौँ।’

कांग्रेसको छलफलका कुराले आत्तिएर गठबन्धनबाट भाग्नुपर्ने जस्ता हलुका कुरा नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

लेखकले नयाँ गठबन्धनको ठूलो दल नेकपा एमालेको दस्ताबेजमा माओवादी केन्द्रप्रति लक्षित टिप्पणी पनि प्रस्तुत गरे। ‘एमालेको दस्ताबेजमा तपाइप्रति ‘पार्टी कब्जा गर्ने र विदेशी विदेशी प्रतिक्रियावादीको इच्छापूर्ति गर्ने नाम हो प्रचण्ड’ भनेर भनेको छ,’ लेखकले भने,‘तपाईँले एमालेसँगको गठबन्धन तोड्दा माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय चरित्रसँग हामी अपरिचित छैन । गएका छ वर्षमा हामीमाथि पटक–पटक धोका भएको छ। भनेको छ। यसलाई कसरी लिनुभा हो ।’

एमालेले यस्तो समीक्षा गरिसकेको अवस्थामा आफू माओवादी केन्द्रबाट धोका पाउन कोही बाँकी नरहेको समीक्षामा पुगेको लेखकले बताए। ‘म त कुन निष्कर्षमा पुगेको छु भने अब धोका पाउन कोही बाँकी छैन। एकचोटी सोच्नु जम्मै धोका पाएका एक ठाउँमा आए तपाई कहाँ पुग्नुहोला ?,’ लेखकले भने।