काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ। महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौँ प्रशासनले पाशुपत क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार सूचना जारी गर्दै यही फागुन २३ गतेदेखि २७ गतेसम्मका लागि पशुपतिनाथ आसपासका क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाइएको जानकारी दिएका छन्।

प्रशासनको सूचनालाई बेवास्ता गरे कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।

प्रजिअ बस्नेतका अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु तथा मदिराको बिक्री तथा सेवनमा रोक लगाइएको हो।

महाशिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने संस्कृतिविद् बताउँछन्। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउँछन्।

यस पर्वका दिन उपवास गरी ” ॐ नमः शिवाय” मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनिन्छ।

माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ । भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् । महाशिवरात्रीको ब्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरु कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने  एउटा मान्यता रहेको छ ।