images
images

राष्ट्रपति पौडेललाई भेट्न शितल निवास जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास जाँदै छन् ।

स्रोतका अनुसार राजनीतिक समीकरणमा आएको फेरबदलका र नयाँ सत्ता समीकरणबारे राष्ट्रपतिसँग छलफल गर्न प्रधानमन्त्री शितल निवास जान लागेका हुन् ।

प्रधानमन्त्री दाहाल आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन् । नयाँ सत्ता गठबन्धनमा चारजना उपप्रधानमन्त्री हुने भएका छन्।

सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने समझदारी भएको हाे ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुने पक्का भएको छ । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । पुन यसअघि पनि अर्थमन्त्री भएका थिए ।

त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन्। उनी यसअघि दुईपटक परराष्ट्रमन्त्री भएका थिए ।

रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ । उनले गृहमन्त्रालय मागेका छन् ।

उता एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने बलियो सम्भावना छ। तर उनले कुन मन्त्रालय पाउने भन्नेबारे अलिहेसम्म टुंगो लागिसकेको छैन ।

गत वर्ष पुस १० गते दाहालकै नेतृत्वमा सरकार बन्दा पौडेल अर्थ र लामिछाने गृहमन्त्री भएका थिए ।

शक्ति बाँडफाडबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक बसिरहेको छ। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठन हुने जानकारी दिएका छन् ।

नयाँ गठबनधनमा प्रतिनिधिसभामा एमालेको ७८, माओवादी ३२, रास्वपा २१, जसपाका १२ जना सांसद छन् । जनमत पार्टीलाई पनि सरकारमा ल्याउने तयारी छ ।

एमाले रास्वपा सरकारमा जाँदा कांग्रेस एकीकृत समाजवादी भने बाहिरिने भएका छन् ।