images
images

कांग्रेस महासमिति बैठक: आजदेखि सुरु हुँदैछ बन्दसत्र, सहभागी हुन आउनेलाई बसको व्यवस्था

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ ।

सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुन लागेको छ ।

यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौं आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

बसको व्यवस्था
महासमितिको बैठकमा भाग लिन आएका सदस्यलाई आवतजावतका लागि २० बसको व्यवस्था गरेको छ । कांग्रेसको सोमदेखि सुरु भएको महासमिति बैठकमा भाग लिन सङ्घीय राजधानी काठमाडौँ आएका प्रतिनिधिलाई ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रसम्म आवतजावत गर्नका लागि बसको व्यवस्था गरेको हो ।

कांग्रेसले महासमिति बैठकलाई व्यवस्थितरूपमा सम्पन्न गर्न निर्माण गरेको यातायात व्यवस्थापन उपसमितिमार्फत काठमाडौँबाट बैठकस्थल गोदावरीसम्म जान दैनिक २० बसको व्यवस्था गरेको हो ।

काठमाडौंबाट गोदावरी जान विभिन्न चार रुटबाट बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवस्थापन उपसमितिका सदस्य सुवन गिरीले राससलाई जानकारी दिए ।