भ्रष्टाचार विरोधी अभियान चलाइने : प्रधानमन्त्री ओली 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १, बुधबार  
भ्रष्टाचार विरोधी अभियान चलाइने : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब  देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बाटामा जान आवश्यक नरहेको बताएका छन् ।

सिंहदरबारमा आज सङ्घीय संसद् भवनको शिलान्यास गर्दै उनले कुनै पनि बहाना र नाममा समाजमा हिंसा भड्काउने र लुटपाट गर्ने खालका क्रियाकपाल सह्य नहुने स्पष्ट गरे ।  “अब के प्राप्त गर्नको लागि हिंसा गर्ने हो ?’’, उनले प्रश्न गरे ।

उनले तोकिएको समयमा नै काम सम्पन्न हुनुपर्नेमा जोड दिँदै भने,‘‘ कामको गुणस्तरमा कुनै सम्झौता हुँदैन । काम गुणस्तरीय हुनुपर्छ ।’’ प्रधानमन्त्री ओलीले  तोकिएको समयभन्दा पछाडि पैसा थप्ने काम नहुने बताउँदै समयमा नै खुरुखुरु काम गर्न र सकाउन सम्बन्धित पक्षसँग आग्रह गरे । ‘‘टेण्डर गर्दा नै सम्भावित भाउवृद्धि राखिएकोले अरु पैसा थप्नु पर्दैन । परिपाटी धेरै बिग्रिएको छ । त्यसलाई सुधार गर्नुपर्दछ’’, उनले भने । 

उनले आफू प्रधानमन्त्री भएको दुई वर्षभित्र संसद् भवन बनाउने भनेको तर बल्ल शिलान्यास भएकामा असन्तुष्टि व्यक्त गर्दै आफ्नै कार्यकालमा संसद्को भवन बन्ने दृढता व्यक्त गरे ।  ‘‘यसका तयारीका पक्ष अत्यन्तै ढिलो भए । एउटा कहाँ बनाउने भन्ने कुरामा नै समय लाग्यो । त्यसअनुसार डिजाइन, लागतमा समेत समय लागेकोले ढिलो भएको छ  तर यो भवनलाई समयभित्रै सकाउनुपर्छ’’, उनले भने ।

प्रधानमन्त्री ओलीले देश विकासको बाटामा अगाडि बढे पनि चाहेजस्तो गति लिन नसकेको भनी आएको आलोचनालाई हृदयङ्गम गरी  सरकारले अझ बढी गतिको साथ काम गर्ने बताए । उनले डेढ वर्षमा थुप्रै काम भएका र ती काम देखिन थालेको बताउँदै मोतीहारी–अमलेखगञ्ज पाइप विस्तार, धरहरा निर्माण र रानीपोखरीको पुनःनिर्माण सरकारका देखिने खालका काम रहेको उदाहरण दिएका थिए ।   उनले भ्रष्टाचार विरोधी अभियान चलाइने जानकारी पनि दिए ।  
    
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर