जोखिमयुक्त ठाउँमा सबैले हातेमालो गरेर अगाडी बढ्यौँ भने कोरोना संक्रमण नियन्त्रण हुन्छ : मेयर दाहाल

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ११, बिहीबार  
जोखिमयुक्त ठाउँमा सबैले हातेमालो गरेर अगाडी बढ्यौँ भने कोरोना संक्रमण नियन्त्रण हुन्छ : मेयर दाहाल

काठमाडौँ । कोरोना महामारिको कारण विश्व नै अक्रान्त बनेको बेला नेपाल पनि कोरोना संक्रमणबाट अछुतो रहन सकेन् । त्यस्तै नेपालमा केही केही स्थानमा पछिल्लो  समय  कोरोना संक्रमितको  संख्या निकै बढेको छ । कोरोना संक्रमितको हब नै बनेको छ । यही सम्बन्धमा चितवनको भरतपुर महानगरपालिकामा कोरोना संक्रमणको अवस्था कस्तो छ ? महानगरपालिकाले कोरोना संक्रमितको लागि कसरी व्यवस्थापन गरेको भन्ने विषयमा महानगरप्रमुख मेयर रेनु दाहालसँग गरिएको सक्षिप्त कुराकानी । 

भरतपुरमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?

महानगरभित्र करिब दुई सयको हाराहारीमा संक्रमित छन्। हरेकपटकको परीक्षणमा कोही न कोही संक्रमित भेटिएकै छन्। कतिपय अस्पताल र कतिपय होम क्वारेन्टाइनमा छन्। बाहिरी जिल्ला र विदेशबाट आउनेलाई महानगरका २९ वटै वडामा ४९ वटा क्वोरन्टाइनको स्थापना र सञ्चालन गरेका छौं। यसरी आएकालाई १४ दिन राखेर पीसीआर परीक्षणपछि मात्रै संक्रमण नभएकालाई घर पठाइएको छ। संक्रमणको जोखिम कम गर्न हामी प्रयासरत छौं।

समुदायमा संक्रमण फैलिसकेको छ। अब नियन्त्रणका लागि के प्रयास भइरहेको छ ?

संक्रमित कम हुँदा कोरोना अस्थायी अस्पतालमा राखेर उपचार गरियो। अस्पतालले थेग्न सक्ने अवस्था नरहेकाले संक्रमितलाई पनि घरैमा राख्नुपर्ने परिस्थिति बन्यो। हिजो विदेशबाट आएकामा संक्रमित पुष्टि नहुँदासम्म क्वारेन्टाइनमा राखियो भने अहिले उचित व्यवस्थापन हुन नसक्दा संक्रमितलाई घरमा पठाउनुपर्यो। संक्रमितलाई छुट्टै राखेर उपचार गर्नुपर्छ भनेर भरतपुरले सबैभन्दा पहिला कोरोना अस्थायी अस्पताल स्थापना गरेको थियो। तर खिचातानीका कारण भरतपुर अस्पताललाई हस्तान्तरण गर्नुपर्यो। आइसोलेसन पनि नहुने र अस्पतालहरूले पर्याप्त व्यवस्थापन गर्न नसक्दा आजको अवस्था देखिएको हो। तैपनि संक्रमितलाई राख्न महानगरस्तरको छुट्टै आइसोलेसन बनाउने तयारीमा छौं। संघीय सरकारले सेल्फ आइसोलेसनमा बस्ने जुन नीति ल्यायो, यसले समुदायस्तरमा संक्रमण फैलाउन सहयोग गरेको महसुस भएको छ।

अस्पताल नै हटस्पट बनेका छन्। कसरी सामना गर्नुहुन्छ ?

जिल्लाको सदरमुकाम अनि भरतपुरकै मुख्य व्यापारिक र प्रशासनिक थलो भएकाले भरतपुरमा मानिसको चहलपहल बढी छ। अर्को मेडिकल सिटी भएकाले विशेषज्ञ उपचारका लागि नेपालभरका मानिस आउने गर्छन्। सबैभन्दा बढी क्यान्सर अस्पताल रहेको वडा नम्बर ७ र भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज रहेको वडा नम्बर १० मा बढी संक्रमित छन्। यसले चिकित्सक र स्वास्थ्यकर्मीले सजग एवं सुरक्षित रही सेवा प्रवाह गर्नुपर्ने बाध्यात्मक अवस्था छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्यकर्मीले संयमतापूर्वक उपचारमा खटिनुपर्ने देखिन्छ। अर्को कुरा सरकारले देशभरका सरकारी अस्पतालले ३० प्रतिशत र निजीले २० प्रतिशत शय्या कोरोना बिरामीका लागि छुट्ट्याउनुपर्ने निर्देशन गरेको छ। यति धेरै अस्पताल भएको भरतपुरमा संक्रमितलाई घर पठाउनुपर्ने बाध्यता विडम्बनापूर्ण छ।

आइसोलेसनको व्यवस्थापन कसरी गर्नुभएको छ ?

हामीकहाँ आइसोलेसनको कमी होइन। जिम्मेवारी वहनको कमी हो। संघीय र प्रदेश सरकार छ तर समन्वयात्मक भूमिका भएन। संघीय सरकारले पाँच महिनाअघि नै बिमा र जोखिम भत्ता व्यवस्था गरेको कुरा आए। अरू सेवासुविधाका कुरा छन्। क्वारेन्टाइन व्यवस्था गर्ने भनेको छ। सबै खालको उपचार प्रक्रिया अघि बढाउने भनेको छ। तर आर्थिक हिसाबले केन्द्र सरकारबाट सहयोग छैन। तर स्थानीय तहले राम्रो तवरले व्यवस्थापनमा जिम्मेवारी बहन गरेको छ। स्थानीय सरकार व्यवस्थापन गर्न तयार छ तर केन्द्र सरकारको सहयोग हुनुपर्छ। यहाँ मेडिकल सिटी छ। अस्पतालहरू जिम्मेवार हुनुपर्छ। केन्द्रले दिएको निर्देशनअनुसार मेडिकल कलेजहरू ३० प्रतिशत बिरामी राखेर उपचार गर्नुपर्यो। अस्पतालहरूले २० प्रतिशत संक्रमितको उपचार गरिदिनुपर्यो। भरतपुर अस्पतालले केन्द्रीय स्तरको हैसियत देखाउनुपर्यो। बेड थपेर संक्रमित राख्ने व्यवस्था गर्नुपर्यो। क्यान्सर अस्पतालमा भेटिएका संक्रमितलाई त्यहींभित्र उपचारको व्यवस्था मिलाउनुपर्यो । तर कसैले पनि जिम्मेवारी नलिने परिपाटी छ। त्यति हुँदाहुँदै पनि हामी अहोरात्र खटिएका छौं। छुट्टै आइसोलेसनको व्यवस्था गर्न छलफल गरी अघि बढ्छौं।

पीसीआर परीक्षणको दायरा नबढाउँदा संक्रमित पत्ता लगाउन पनि कठिन होला नि ?

भरतपुरमा परीक्षणको सुविधा नभएको भए हामीलाई धेरै गाह्रो हुने थियो। किनकि काठमाडौंपछि उपचार गर्न बिरामी आउने ठाउँ भएकाले जोखिम भएको ठाउँमा पीसीआर ल्याब ल्याउन सुरुमा अप्ठेरो भएकै हो। यही ल्याब स्थापना भएपछि पनि रिपोर्ट ढिलो आयो भन्ने जनगुनासो छ। काठमाडौंमा परीक्षण गर्ने अवस्था भएको भए के हुन्थ्यो होला ? स्वाब लिइएको तीन दिनभित्रमा रिपोर्ट आउने व्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ। तुरुन्तै परीक्षणको दायरा बढाउन गाह्रो छ। केन्द्र सरकारले निजी अस्पताल र मेडिकल कलेजलाई परीक्षणका लागि अनुमति प्रदान गरेको छ। तर आर्थिक रूपले सम्पन्न परिवारका मानिसले पनि निःशुल्क खोज्ने परिपाटी छ। बाध्यात्मक अवस्था आउँदा जाने नत्र पैसा तिरेर परीक्षण गर्ने अवस्था छैन।

चिकित्सक र संक्रमितको मनोबल गिराउने गतिविधि भरतपुरमै देखिए, सचेतनाको पाटो सबल नभएको हो कि ?

चिकित्सकमाथि दुव्र्यवहार भएको मैले पनि सुनें। पछि सम्बन्धित चिकित्सकलाई सोधें पनि। कतिपय अवस्थामा नबुझेर पनि भएको छ। यस्ता अप्ठ्यारा चुनौती आउँदा जहाँ पनि चुनौतीको सामना गर्नु परिरहेकै छ। तर संक्रमितको मनोबल गिराउने गतिविधि कहींकतैबाट हुनु हुँदैन। कसैलाई मनोवैज्ञानिक हिसाबले हतोत्साही नगर्न खबरदारी गर्छु। आवश्यक सहजीकरण गर्नुपरे हामी नेतृत्व पनि लिन्छौं। जनतामा सचेतना बढाउन वडा र टोल विकास समितिमार्फत यी विषय लैजान्छौं।

अहिलेसम्मको तयारी र व्यवस्थापनबाट ढुक्क रहने अवस्था छ त ?

मैले अघि पनि भनें– सबै पक्ष जिम्मेवार हुनुपर्‍यो। सबै तहगत सरकार त हुनैपर्‍यो। सम्बन्धित पक्ष जस्तो– स्वास्थ्य क्षेत्र, पत्रकारिता, नागरिक समाज, कर्मचारी सबैले केही न केही जिम्मेवारी हाम्रो पनि हो भनेर जोखिम कम गर्न साझा प्रयत्न गर्नुपर्छ। तर हामीसँग अर्ती–उपदेश दिने परिपाटी मात्र छ। मेरो योगदान आवश्यक छ भन्ने बिर्सने परिपाटी छ। यसैले पनि संक्रमण न्यूनीकरण गर्न सकेका छैनौं। अरूलाई जिम्मेवार बन भन्नेले पनि जिम्मेवारी बहन गर्नुपर्छ। हामी पाँच महिनायता निरन्तर जुनसुकै सवालमा खटिएका छौं। जोखिमयुक्त ठाउँमा सबैले हातेमालो गर्‍यौं भने पक्कै पनि संक्रमण नियन्त्रण गर्न सकिन्छ।

कोभिड– १९ का मृतकको शव व्यवस्थापन गर्न निकै अवरोध भयो। प्रहरीले हवाई फायरसमेत गर्नुपर्‍यो। अब पनि यस्तै भइरहला ?

कोरोना साह्रै खतरा रोग हो, सतर्क होऊ भनेर हामीले पहिल्यै भनेका थियौं। जिउँदैले त संक्रमण गर्छ भने लासले झन् खतरा हुन्छ भन्ने भयो। तर पछि सहज भयो। भोलिका दिन महामारी धेरै भयो भने अहिलेको लास व्यवस्थापनको ठाउँले नथेगे विकल्प खोज्नुपर्छ। (अन्नपूर्णपोष्ट बाट साभार)
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार