निषेधाज्ञाको पहिलो दिन : सुनसान सडक, छैन चहलपहल ( तस्वीरसहित) 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ४, बिहीबार  
निषेधाज्ञाको पहिलो दिन : सुनसान सडक, छैन चहलपहल ( तस्वीरसहित) 

काठमाडौं । चैत ११ गतेदेखि साउन ८ गतेसम्म भएको लकडाउनका बेला सामान्यतय मानिसहरु घर बाहिर पनि निस्किएकै थिए । मर्निङ पनि गरेकै थिए । शुरुका दिनमा मानिसहरु डराएर घर बाहिर ननिस्किए पनि दोस्रो सातादेखि त चहलपहल बढकै थियो ।

लकडाउन सकिनुअघिसम्म उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । तर, पछिल्लो दिन दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेका छन् । त्रास बढेको छ । अस्पतालहरुमा शय्याको अभाव भइसकेको छ । एकप्रकारले काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्ने स्थिती आइसकेको छ ।

यसलाई रोक्न बुधबारदेखि लागु भएको निषेधाज्ञाको आदेशानुसार प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा खुबै कडाई गरिरहेको छ । निषेधाज्ञा कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई सडकका चोक तथा गल्लीहरुमा परिचालन गरिएको छ ।

बिहीबार बिनाकाम सडकमा निस्कनेलाई एक घण्टा नियन्त्रणमा राखेर घर पठाइएको छ । पहिलो दिन भएकाले चेतावनीस्वरुप एक घण्टा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई १ महिना कैद वा ५ सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानीरबिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यक बाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मंगलबार गरेको हो ।

निषेधाज्ञापछि काठमाडौं उपत्यकामा बिहीबार अत्यावश्यक सेवाबाहेकका सवारी चलेका छैनन् । निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार