कोरोना रोकथाम तथा नियन्त्रणको लागि राम्रो सन्देश प्रवाह गर्न सके नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १४, बुधबार  
कोरोना रोकथाम तथा नियन्त्रणको लागि राम्रो सन्देश प्रवाह गर्न सके नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्ने

काठमाडौँ ।  कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले राम्रो काम गर्न सके नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न सक्ने होटल व्यवसायीले बताएका छन् ।

होटल संघ नेपालका उपाध्यक्ष  विनायक शाहले विदेशी पर्यटकहरुलाई नेपाल जाँदा कोरोनाको संक्रमण छैन भन्ने कुराको प्रत्याभूति सरकारले गराउनुपर्ने बताएका छन् ।  त्यसको लागि पर्यटकको पीसीआर परिक्षण गर्ने व्यवस्था गर्नुपर्ने उनले बताएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नै पीसीआर परिक्षण केन्द्र स्थापना गरेमा विदेशमा राम्रो सन्देश जाने पर्यटकहरु आउन सक्ने उनले बताए । पर्यटन क्षेत्र, होटल व्यवासय सञ्चालनका लागि मौद्रिक नीतिमार्फत ५ प्रतिशत ब्याजदरमा वर्किङ क्यापिटल दिने कुरा आउनु सकारात्मक भएको शाहले बताए ।

सरकारले ५० अर्बको पुनरउत्थान कोष खडा नगरेसम्म व्यवसायीले उक्त सुविधा नपाउने र कर्मचारीलाई तलब दिन र होटल सञ्चालन गर्न नसक्ने भएकाले कोषको व्यवस्था छिटो गर्न सरकारलाई आग्रह समेत गरे । सरकार प्रस्टरुपमा नीति नियममा आएको कुरालाई कार्यान्वयनमा ल्याउन नसक्दा व्यवसायीहरु अन्योल भएको बताए । 

पर्यटन व्यवसायी सुदर्शन नेपालले ट्रेकिङ, हाइकिङ, क्याम्पिङ ट्रेक गर्ने पर्यटकहरुलाई फोकस गरेर काम गरिने बताए । अन्य मुलुक भन्दा नेपालमा कोरोना संक्रमणको जोखिम कम रहेकाले खुला गर्दा अन्य देशबाट पर्यटक नेपाल आउन सक्ने सम्भावना बढी रहेको उनले बताए । 

नेपाल आउने पर्यटकको लागि सरकारले लिने शुल्कमा छुट दिनुपर्ने समेत बताएका छन् । नेपालमा आउने पर्यटकलाई कसरी कोरोनाबाट बचाउने भन्ने विषय महत्वपूर्ण हुने व्यवसायीहरुले बताए । 
 
 

 
 

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार