मानव विकासको मुल आधर शिक्षा हो : सांसद पहारी

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १२, साेमबार  
मानव विकासको मुल आधर शिक्षा हो : सांसद पहारी

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा सांसद राजिव पहारीले मानव विकासको मुल आधर शिक्षा भएको बताएका छन् ।

सवैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको वर्तमान समयको समस्याहरुलाई आजको प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै उनले मुलुकको समृद्धिको उज्यालो प्रकाश दिने शिक्षा क्षेत्रको गुणस्तरिय विकास अहिलेको टड्कारो आवश्यकता रहेको देखिएको बताए ।

उनले विकास भनेको बाटो घाटो, पुल, पुलेसो निर्माण हुनुमात्र हैन, विकास भनेको बुद्धि, विवेक, ज्ञान, चेतना र सारमा मानिसको सर्वार्गिण चेतनासँग जोडिएको कुराहरु रहेको बताएका छन् ।  जुन कुरा शिक्षाबाट प्राप्त हुन्छ । शिक्षाबाट सस्कार र संस्कृति पनि जोडिएको हुन्छ । २१औं शताव्दी ज्ञान, विज्ञान र प्रविधिको युग पनि हो, जुन शिक्षाबाट आउँछ । जसको लागि शिक्षा क्षेत्रको व्यापक मात्रामा सुधारको आवश्यकता रहेको छ ।’

पृथ्वी नारायण क्याम्पसले दक्ष जनशक्तिमात्र उत्पादन गरेको नभई राज्यका महत्वपूर्ण निकायको जिम्मेवार ठाउँको नेतृत्व गरिरहेको सविस्तार उल्लेख गर्दै उनले क्याम्पसमा सिमित स्रोत र साधनका कारण शुद्ध खानेपानीको समेत अभाव रहेकोले पानीको लागि व्यवस्थित कार्य गर्नुपर्ने, महिला होस्टेल वर्षाको समयमा पुरै चुहिने अवस्थामा रहेको, आर्थिक अवस्थाका कारण मर्मत हुन नसकेर विगत १० वर्षदेखी पुरुष छात्रावास वन्द भएको अवस्थामा रहेकोले प्रदेश सरकारले सानो लगानी गरी ठूलो फाइदा लिनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको प्रकृया समेत अघि बढाएको जसको लागि जग्गाको समेत व्यवस्था भइसकेको जानकारी गराउँदै उनले भने, ‘पोखराका कुनै पनि ठाउँमा पाँच सयभन्दा बढी क्षमताको सभाहल समेत नभएको अवस्थामा क्याम्पसमा भने सात सयभन्दा बढी अट्ने क्षमताको सभाहल रहेको तर आर्थिक अभावका कारण संरक्षण र सञ्चालनको पर्खाईमा रहेको छ ।

केही मात्रामा क्याम्पसमा लगानी गर्न सके ठूलो मात्रामा लाभ प्राप्त हुने छ । पृथ्वीनारायण बहुमुखी क्याम्पस आफैमा भौतिक स्रोत र साधनले सम्पन्न भएकोले यसलाई व्यवस्थित गर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार