भारतीय खबर प्रस्तोताको शैली, खबर वाचन गर्ने कि भन्ने ?

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार ३०, मङ्गलबार  
भारतीय खबर प्रस्तोताको शैली, खबर वाचन गर्ने कि भन्ने ?

–सुमन ढुङ्गाना

कोरोना कालमै नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको आफ्नो वास्तविक नक्सा सार्वजनिक गरेपछि राष्ट्रियताको मुद्धा पेचिलो बन्यो । नेपालले नयाँ नक्सा व्यवहारमा ल्याएपछि छिमेकी मुलुक भारतका मिडियालाई टाउको दुखाइ बन्यो । भारतीय टेलिभिजन च्यानलले नेपाल र नेपाल सरकारमाथि गोयवल्स शैलीमा प्रोपगाण्डा सिर्जना गरे । उनीहरूले निचताको पराकाष्ठा नाघेर खबर बनाए, त्यसलाई जति घृणा गरे पनि कम हुन्छ ।


खासगरी भारतीय खबर टेलिभिजनका केही खबर प्रस्तोताको खबर भन्ने शैलीले आम नेपालीको रातो रगतलाई तातो बनाइ दियो । परिणाम भारतीय टेलिभिजन च्यानल प्रशारण नेपालमा बन्द गर्नुपर्छ भन्दै विरोधको आवाज बुलन्द भयो । अन्तत भारतीय खबर टेलिभिजनका चारवटा च्यानलको प्रशारणमा नै प्रतिबन्ध लगाउनु पर्‍यो । उनीहरूले माफी मागे पनि पर्याप्त भएन । प्रतिवन्धको अवस्था कहिलेसम्म रहन्छ त्यो आगामी समयले नै बताउने छ ।

भारतीय टिभीका खबर प्रस्तोता सुधीर चौधरी, अर्नव गोस्वामी, स्वेता सिंहहरूको खबर भन्ने शैली यस्तो थियो कि नकारात्मकसँगै झुटलाई पनि सत्य सावित गर्ने । आफूले दानापानी खाने सञ्चारगृह र टेलिभिजनभन्दा उनीहरू बढी चर्चित र हावी भएको देखियो । संस्थाभन्दा व्यक्तिको दवदवा दर्शकले महसुस गरे । सरकारले टेलिभिजन च्यानलमा प्रतिवन्ध लगाउनुमा उनीहरूको प्रस्तुति देखिन्छ ।

प्रस्तुत आलेखमा किन मैले ती खबर प्रस्तोतालाई केन्द्रमा राखेर विषय उठान गरेको भन्ने लाग्ला । वास्तवमा उनीहरूको खबर भन्ने कला र तौरतरिकाले नै यत्रो हलचल ल्याएको हो । सायद उनीहरूले अर्काले लेखिदिएको खबर केवल वाचन गरेको भए यो बबण्डर हुने थिएन किनभने खबर वाचन मात्र गर्दा त्यसमा खासै दम हुँदैन तर कविता वाचन गर्दा सार्थक हुन्छ । त्यसैले खबर पढ्ने वा वाचन गर्ने होइन ‘भन्न’ सक्नुपर्छ । उनीहरूले भनेको खबरमा म सहमत छैन् तर उनीहरूको खबर भन्ने कलाको भने म तारिफ गर्छु । उनीहरूको त्यो क्षमता सही खबरका लागि प्रयोग भएको भए सबै नेपालीको स्यावासी पाउन सक्थे । समसामयिक प्रसङ्ग भएकाले भारतीय खबर प्रस्तोताको उदाहरण दिन खोजेको मात्रै हो ।

नेपालमा अर्काले लेखिदिएको खबर पढ्ने वा वाचन गर्नेको वहुमत छ तर खबर भन्ने क्षमता भएका प्रस्तोता हिजो थिए, आज छन् र भविष्यमा हुनेछन् । मलाई याद छ १४ इञ्चको श्यामश्वेत टेलिभिजनमा एन्टेना घुमाएर खबर हेरेको र सुनेको । खबरको भाव र मर्म नबुझे पनि नेपाल टेलिभिजनका अग्रज प्रस्तोता दुर्गानाथ शर्मा, रमा सिंह, प्रवीण गिरीको खबर भन्ने कलाले म मन्त्रमुग्ध हुन्थें । लाग्थ्यो उनीहरू हाम्रै लागि टेलिभिजनको पर्दामा देखिएर खबर भन्दै छन् । त्यति बेला खबर वाचन गर्नेहरू अरू पनि थिए तर उनीहरूको बिम्व मेरो मनमा बस्न सकेन ।

किशोरकालीन समयको प्रभावले मलाई पनि खबर कर्ममा लाग्ने अवसर प्राप्त भयो । महिना र वर्षको हिसाव गर्दा डेढ दशकभन्दा बढी समय यही कर्ममा बिताइसकेछु । सुरुवाती समय टेलिभिजनको पर्दामा अनुहार देखाउने रहरले नै खबर कर्ममा लागेको थिएँ । आफ्नो चाहनाअनुसारको मौका पाएर पनि अब्बल बन्न धेरै मिहिनेत गर्नुपर्यो । मेरो सपना एभिन्युज खबरले पूरा त गरिदियो तर लाइभ खबर भन्ने मौका मिलेको थिएन ।

चेयरमेन सहितको टोलीले स्टुडियोबाट लाइभ खबर भन्न अनुबन्धन गरे । आफ्नातर्फबाट गर्नुपर्ने केही तयारी गरेँ अनि मेकअप गरेर स्टुडियो जान खोज्दा ब्रोकास्टिङ्ग मेनेजर सगुन शाक्य दाइले तिमी खबर पढ्न वा वाचन गर्न होइन भन्न जाँदैछौ तर बेला भैसकेको छैन भनेर फिर्ता पठाउँदा मन अमिलो बनाएर डेरामा फर्केको क्षण विर्सन सक्दिनँ । त्यसबेलासम्म अन्य कार्यक्रम सञ्चालन गरिसकेको थिएँ, फिल्ड रिपोेर्टिङंग र लाइभ नियमित गरेको थिएँ यद्यपि किन खबर भन्न दिइएन भनेर मनमा प्रश्नको बीऊ थियो । सगुन दाइकै अगाडि थप अभ्यास गरेपछि उहाँले नै ‘अब तिमी खबर भन्न सक्छौ’ भनेको क्षण संझिदाँ पनि गर्व महसुस हुन्छ ।

त्यसपछि चेतना भयो ‘खबर वाचन र खबर भन्नु’ को वास्तविक भिन्नता । वाचन वा पढ्नुले तपाईंको व्यक्तित्वमा खासै प्रभाव पार्दैन तर खबर भन्दा तपाईंलाई दर्शक सामु पुर्याउछ र दर्शकलाई तपाईं सामु । खबर र रिपोर्टिङ्गको मर्म बुझेर र जानेर ‘खबर भन्दा’ आउने आनन्द अर्काले लेखेको खबर पढेर नमिल्ने रहेछ । सरकारका गुनगान र केही घटनाका खबर वाचन गर्ने चलन अहिले पनि हावी छ । खबर एक ठाउँमा बसेर मात्र भन्ने परम्परा थियो तर ती सबै चलन र परम्परा तोडेर उभिएर खबर भन्ने र एउटै विषयमा घण्टौं खबर प्रवाह गर्ने स्कुलिङ मेरो लागि नौलो र रोमाञ्चक बन्यो । खबर वाचन हैन भन्नु पर्छ भन्ने ज्ञान निर्माण भयो ।

खबर वाचन र भन्नु, सुन्दा र हेर्दा उस्तै लागे पनि यी दुई बीच थुप्रै भिन्नता छन् । खबर वाचन गर्दा हँसिलो भएर गर्नुपर्ने सामान्य मान्यता धेरैले बोकेका छन् अनि त्यही मान्यता बोकेर खबर वाचन गर्नेले मृत्युको खबर पनि हाँसेर वाचन गर्दा दर्शकले खिल्ली उँडाएको दृष्टान्त थुप्रै छन् । खबर कर्म वा रिपोर्टिङ्गबारे सामान्यज्ञान नहुँदा सम्वाददातासँगको लाइभमा त्रुटीहरू हुन्छन् । प्रतिपक्षको आन्दोलनमा सरकारको सहभागिता कहाँ छ त्यो कोणबाट पनि हेरिन्छ । सामान्य दूर्घटनाको खबरमा कतिजना हताहती भए भनेर प्रश्न गर्ने खबर बाचक पनि छन् । यस्तो भूल किन हुन्छ भने ती खबर बाचकको खबरसँग साइनो छैन् । खबरको सेन्स छैन् भन्ने प्रष्ट हुन्छ ।

टेलिभिजन हेर्ने दर्शकले कहिले पनि फलानोले पढेको खबरमा यस्तो थियो नि भन्दैनन, उनीहरू भन्छन फलानोले खबरमा यस्तो भन्यो । त्यसैले तपाईंसँग सिधै सम्पर्कमा हुन्छन दर्शक र तपाईं पनि दर्शकसँग सम्पर्कमा रहने गरी खबर भन्न सक्नु भयो भने तपाईंको कलाको तारिफ स्क्रिन पछाडि पनि भइरहन्छ । मेरा सहकर्मी प्रेम बानियाँ हाल अमेरिकामा छन् तर उनको खबर भन्ने कलाकै कारण दर्शकले उनलाई सम्झिरहेका छन् । भूगोलको दूरी टाढा भए पनि उनको बिम्व मानसपटलमा छ । उनले खबर वाचन गरेर नोकरी गरेनन् खबर भने र नागरिकका ह्रदयमा बसे । यही तथ्यले पुष्टी गर्छ खबर वाचन मात्र गर्नु र खबर भन्नुमा अनेकौं भिन्नता छन् । अर्को अर्थमा भारतीय खबर टेलिभिजनका प्रस्तोता जस्तै चर्कोचर्को कराएर, गाली र आलोचना मात्र गरेर अनि भ्रामक सन्देश फैलाएर महानता कायम हुँदैन् ।

हुनत अधिकांश टेलिभिजनले कर्मचारीको विज्ञापन आह्वान गर्दा ‘खबर बाचक’ भनेर नै बिज्ञापन निकाल्छन् । खबर पढ्न मन भएकाहरू दरखास्त हाल्छन् पनि । केही दिनको प्राविधिक ज्ञान अनि खबर पढ्ने लय समात्ने बित्तिकै स्टुडियो धकल्ने प्रचलन छ । वर्षौंदेखि खबर सङ्कलन र खबर बनाउनेहरूलाई वेवास्ता गर्छन् । टेलिभिजनका मुटु भएका सम्पादक र मालिकहरू कस्तुरीले आफ्नै नाभीको गन्ध थाहा नपाए झैं भौतारिन्छन् । हुन त खबर पढेरमात्र सेलिब्रेटी भैसकेको ठान्ने वाचक पनि छन् तर उनीहरू त्यो सेलिब्रेटी पदलाई धान्न अन्य कर्म गर्न बाध्य छन् । कसैका मिठा होलान कसैका तिता खबर कर्ममा लागेकाले मात्र बुझ्ने अन्तरवस्तु हो यो । एउटा गीतकारले लेखेको गीतलाई गायकले गाउँदा ऊ गायक आफैमा त बन्छ तर दिलैदेखि गाएन भने स्रोताको लागि ऊ कहिले पनि गायक बन्न सक्दैन् । त्यस्तै खबर वाचन नोकरी धान्नका लागि गर्नु र खबरमा भिजेर भन्नु उस्तै उस्तै हो ।

आजकल विद्यालयदेखि विश्वविद्यालयसम्म पत्रकारिता पढाइ हुन्छ तर सिकाई भने हुँदैन । एसईई वा प्लस टू सक्ने वित्तिकै धेरै भाइबहिनीहरू भन्छन् ‘म पनि पत्रकारिता पढ्छु ।’ तर पत्रकारिता गणितको सूत्र जस्तो, विज्ञानको सिद्धान्त जस्तो कर्म होइन । यो सत्य हो, पौडी खेल्न पानीमा हाम फाल्नै पर्छ, त्यसैगरि पत्रकारिता गर्न फिल्डमा उत्रिनै पर्छ । धमिराले हजारौं किताब खान सक्छ तर किमार्थ विद्वान् बन्दैन् । किताबी ज्ञानले र पत्रकारिताको पढाइले पत्रकारिता पढाउन त सकिन्छ तर खबरकर्मी बन्न कठिन छ । खबरकर्म कोठे पण्डित भन्दा फरक कुरा हो ।

प्रविधिले आजकल धेरै कुरा सजिलो भएको छ । यसो केही भयो भने म सञ्चारकर्मी हुँ भन्ने अहम्सहितको परिचय दिने चलन छ । सामान्यतय एउटा सञ्चारकर्मी खबरकर्मी हुन सक्दैन् यद्यपि हाम्रो बुझाइमा त्रुटी छ । सञ्चार गृहमा काम गर्ने सबै सञ्चारकर्मी हुन् तर खबरकर्मी हैनन् । सञ्चारकर्मी भन्ने वित्तिकै तपाईं पत्रकार पो भन्ने आम बुझाइले वास्तविक खबरकर्मीको अपमान गरेको छ ।

(लेखक सुमन ढुंगाना डेढ दशकदेखि टेलिभिजनमा क्रियाशील खबरकर्मी हुन् ।)

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार