आज गुरु पूर्णिमा : गरुप्रति सम्मान भाव प्रकट गरेर मनाइँदै

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार २१, आइतबार  
आज गुरु पूर्णिमा : गरुप्रति सम्मान भाव प्रकट गरेर मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।

ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएको छ ।

यस वर्ष गुरुपूर्णिमाका दिन चन्द्रग्रहण परे पनि गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने पर्व बिहान पर्ने भएकाले कुनै असर नगर्ने समिति अध्यक्ष गौतमले बताए । पूर्णिमा व्रत पनि यस वर्ष मङ्गलबार नै परेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार