अविष्मरणिय क्रान्तिकारी योग्दा प्रकाश दाहाल सधै स्मरणमा !

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १७, बुधबार  
अविष्मरणिय क्रान्तिकारी योग्दा प्रकाश दाहाल सधै स्मरणमा !

हसिँलो चेहरा, ओठमाथि कालो जुंगा, मझौला कद। एउटा गतिशील युवा, जो हरदम आफ्ना पिताका साथ जीवनको सम्पूर्ण समय समाजकै प्रगतिका लागि खर्चिरहेको हुन्छ। त्यही व्यक्ति, जो प्रशंसा र आलोचना दुवैको शिखरमा छ। तर, ऊ आलोचकप्रति बैरभाव राख्दैन। किनकि, आलोचनाको चुरो उसको मगजले राम्रैसँग ठम्माइसकेको छ।

त्यही युवा, जो ३५ वर्षको उमेरमै धर्तीबाट विदा भयो। जतिञ्जेल ऊ जीवित थियो, उसका सारा गुणहरु औंशीको रातभित्र हराए। ऊ एउटा यस्तो युवा थियो, उसका पनि असीमित आकांक्षाहरु थिए, उसलाई पनि स्वतन्त्र पंक्षीझैं वेगसँग उड्न मन लाग्दो हो। तर, ऊ सधैं राजनीतिक प्रतिद्धन्दिताको शिकार बनिरह्यो। उसका सारा गुणहरु जान वा अन्जानमा भएका प्राविधिक गल्तीको टोकरीमा हालिए।

प्रकाश दाहाल, जो ३५ वर्ष बाँच्यो। तर, जीवनमा सम्पूर्ण आरोह र अवरोहको जीवन्त अनुभूतिसहित। लेनिन भन्थे, ‘क्रान्तिकारीहरुले मात्र पूर्ण जीवन जिउँछन्। पूर्ण जीवनमा संयोग र वियोग दुवै हुन्छ।’ प्रकाश दाहाल पनि एउटा त्यस्तै क्रान्तिकारी योद्धा थिए, जसले जीवनमा संयोग र वियोगका अनगिन्ती अनुभवहरुबाट आफूलाई परिस्कृत गरेका थिए।

उनी एक नागरिक त थिए नै, त्यसका अतिरिक्त समाज रुपान्तरणका लागि मुक्ति वा मृत्युको सपथ लिएर महासंग्राममा होमिएका एक क्रान्तिकारी योद्धा थिए। वर्गयुद्धमा होमिएको क्रान्तिका सर्वोच्च कमाण्डरको सन्तान, सारथि र सहयोद्धा हुनुको नाताले क्रान्तिकारी शक्तिमाथि सोझाइएको प्रहारको निशानामा पटकपटक पर्थे उनी। जसले उनलाई चिन्दैनथे, जसले चिनेर पनि उनीसँग संगत थिएन, उनीहरु राजनीतिक आग्रहसहित उनीमाथि हमला गर्थे, ताकि उनको काँधमा बन्दुक राखेर क्रान्तिका नायकमाथि निशाना साँध्न सकियोस्।

मान्छे त्यही प्राणी हो, जो यही धर्तीमा जन्मिन्छ, यही धर्तीको माटोसँग मित्रता गाँस्छ। जीवनवृत्तिका क्रममा धर्तीकै माटोमा लड्छ, फेरि उठ्छ र धुलो टक्टकाउँदै फेरि आफ्नो गन्तव्यतिर हानिन्छ। प्रकाश दाहाल त्यही संघर्षको बलिबेदीबाट हुर्किएका एक योद्धा थिए, जहाँ उनको कुनै नीजि सपना थिएन। उनीभित्र एउटै सपना थियो, ‘आफूजस्तै हजारौं योद्धाले रोपेको क्रान्तिको बिरुवा कसैले ननिमोठोस्।’ जो पटकपटक सत्ताको केन्द्रमा पुगेर पनि सादगी जीवनलाई प्रिय ठान्थ्यो। तर, त्यही योद्धा २०७४ मंसीर ३ गते भौतिक रुपमा ढल्यो।

आज असार १७ अर्थात् कमरेड प्रकाश दाहालको जन्मदिन। ३५ वर्षको एक युवा, जो समाज परिवर्तनको सपना देख्थ्यो, जसले समाज बदल्ने अभियानका लागि आफ्नो जीवन सम्पूर्ण रुपमा संघर्षमा होम्यो। त्यो योद्धा आज भौतिक रुपमा हामीसँग छैन। तर, सानो पद र ठूलो कदको त्यो योद्धाको समर्पण र योगदान हाम्रा लागि सामान्य छैन। ३५ वर्षको उमेरमा उसले गरेको संघर्षको कथा र युवा मनमा जमाएको डेरा कम्ति अनुकरणीय पक्कै थिएन र छैन।

उसले औपचारिक विश्वविद्यालयमा व्यवस्थापनको शिक्षा लिएको थिएन। तर, जीवन व्यवहारका क्रममा उसले हासिल गरेको अनुभव र प्रयोग विश्वविद्यालयको शिक्षाभन्दा उन्नत र जीवन्त थियो। हरेक चुनौतीसँग खेल्न बानी परिसकेकाले होला, सबैभन्दा चुनौतीपूर्ण काम नै उसको रोजाइमा पर्थ्यो। उसका लागि हर कुरा सम्भव थिए। राजनीतिक क्रान्तिको अग्रमोर्चामा रहेर उसले खेलेको भूमिका होस् वा सूचना–प्रविधि, जनसम्पर्क, युवा युस्तामा राजनीतिक जागरणका लागि खेलेको भूमिका होस्, त्यो युवा पुस्ताले नजरअन्दाज गर्न चाहेर पनि सकिने खालको छैन।

उसले चाहेको भए राजनीतिक झमेलाभन्दा अलग शान्त जीवन बाँच्न सक्थ्यो। तर, उभित्र हुर्किएको क्रान्तिकारी ज्वारभाटा, रुपान्तरणका लागि गरेको संकल्पले उसलाई शान्त रहन दिएन। हरेक राजनीतिक मतभेदको शिकार उही हुन्थ्यो। तर, उसले कहिल्यै हरेश खाएन। बरु, सिकाइका नयाँ–नयाँ प्रक्रियामा आफूलाई अभ्यस्त गर्न हमेशा समर्पित गरिरह्यो र आलोचना र आग्रहकै अवरोध छिचोलेर नयाँ पुस्तालाई केही उत्प्रेरणा दिएर विदा भयो।

त्यो योद्धा आज हामीसँग छैन। तर, वर्षका आधारमा होइन, कर्मका आधारमा नापिने उसको जीवनको प्रेरणा हामीसँग जीवित छ। हामी उसका योगदान र संकल्पबाट धेरै कुरा सिक्न सक्छौं। प्रकाश दाहालप्रतिको हाम्रो स्मरण कुनै आग्रहमा आधारित छैन। बरु, किताबबाट होइन, व्यवहारबाट जीवन पढ्ने शिक्षामा आधारित छ।

मैले किताबमा होइन, व्यवहारमा जीवन पढ्ने जे–जति अवसर प्राप्त गरें, ती सबै उनकै प्रेरणाका प्रतिफल थिए। यसर्थ, म प्रकाश दाहाललाई किताबी जीवनबाट व्यवहार र प्रयोगको जीवन बाँच्न सिकाउने एक गुरुका रुपमा सम्झिन्छु र भावपूर्ण श्रद्धासमुन अर्पण गर्दछु।  

मनहरि तिमिल्सिना
१७ असार २०७७, काठमाडौं 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार