प्रदेश ५ का ६ जिल्लामा पुग्यो सलह

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार  
प्रदेश ५ का ६ जिल्लामा पुग्यो सलह

काठमाडौँ ।  भारतबाट आएको सलहको बथान प्रदेश ५ का ६ वटा जिल्लामा पुगेको छ। शनिबार रुपन्देही र पाल्पामा मात्रै देखिएको सलह फट्यांग्रा अन्य जिल्लामा पनि फैलिएको हो।

प्रदेशको रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाची, गुल्मी र नवलपरासीमा सलह देखिएको प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयतअन्तर्गतको कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले सलह ६ वटै जिल्लामा फैलिए पनि धेरै क्षति नभएको बताए।

‘ठूला रुख सिख्रै गराएको देखियो, तर बालीमा त्यतिधेरै नबसेकाले क्षति भएको छैन’ उनले भने। कृषि ज्ञान केन्द्रका कर्मचारी सलह बसेको स्थानको निरीक्षणकै क्रममा रहेको उनले बताए। आइतबार कपिलवस्तुमा अत्यधिक संख्यामा सलह देखिएको छ।

कपिलवस्तु नगरपालिका, बुद्घभूमि नगरपालिकाको धनकौलीमा तरकारी र फलफूलमा क्षति गरेको किसानले बताएका छन्। धनकौलीमा तरकारी, आँपका बोट नोक्सान गरेको उनीहरूको भनाइ छ। ‘छपक्कै छोपिने गरी सलह बसेका छन्, उडिरहेका पनि उत्तिकै छन्, स्थानीय रामप्रित यादवले भने,‘ हरियो तरकारीका पात खाएका छन्।’

कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहले कति क्षति गर्‍यो भन्ने विवरण प्राप्त नभएको जनाएको छ। रूपन्देहीमा देखिएकाभन्दा कैयौ गुणा धेरै सलह कपिलवस्तुमा रहेको स्थानीयले बताए। कपिलवस्तुका सबै पालिकामा सलह उडेका र बसेका छन्। प्रायः ठूला रुखमा बसेका छन्। वाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेखबहादुर केसीले लाखौंको संख्यामा आएको सलह झुन्ड झुन्डमा बाडिएकाले डराउनुपर्ने नदेखिएको बताउँदै सतर्क रहन भने आग्रह गरे।

रूपन्देहीका सैनामैना वडा नम्बर ६ मा मकै, तरकारी र धैचा खाएको किसान युवराज विश्वकर्माले बताए। ‘धानमा मल होला भनेर धेचा छरेका थियौं, अहिले ठेटा मात्रै बनाएर छाडेको छ’, उनले भने, ‘तरकारी र मकैका पातसमेत खाएको छ।’ सहल आएपछि किसानले भाडा ठटाउने र आगो लगाएर धुवार्ने गरिरहेको कृषि मन्त्रालयले जनाएको छ। मन्त्रालयले विषादी छर्किन र मारेर जम्मा पार्न समेत किसानलाई आग्रह गरेको छ।

कृषि विकास निर्देशनालयका निर्देशक देवकोटाले रूपन्देहीको देवदह र सैनामैनामा सलह बसे पनि त्यतिधेरै क्षति नपुर्‍याएको बताए। अर्घाखाँचीको शितगंगाको वडा नम्बर १ सुवर्णखाल र वडा नम्बर १० सिद्घारामा बाक्लै सलह देखिएको छ। मकैबारीमा सलह बसेपछि किसानले थाल ठटाउने, आगो बाल्ने गरेर धपाइरहेका छन्। यो क्षेत्र कपिलवस्तुसँग जोडिएको छ। अर्घाखाँचीका अन्य स्थानमा भने सामान्य मात्रामा फट्यांग्रा देखिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार