कांग्रेसको १४औँ महाधिवेशन फागुन ७ मा गर्ने तय, पौडेल पक्ष अझै सशंकित

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १५, साेमबार  
कांग्रेसको १४औँ महाधिवेशन फागुन ७ मा गर्ने तय, पौडेल पक्ष अझै सशंकित

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्नेबारेमा छलफल भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तर नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केही पूर्वपदाधिकारी र केही केन्द्रीय समिति सदस्य सहभागी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशन निर्धारित मितिमै हुनेमा आशंका व्यक्त गरेका छन्। 

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ‘कोभिड १९ को प्रकोपका कारण जारी लकडाउन खुकुलो भएपछि’ १४औं महाधिवेशनको प्रक्रिया सुरु हुने भनेर परिमार्जित कार्यतालिका प्रस्तुत गरे पनि वरिष्ठ नेता पौडेल सशंकित  रहेका छन् । 

लकडाउन खुकुलो भएपछि’ भन्ने संस्थापन पक्षका भनाइले पौडेलको शंकालाई बलियो बनाएको छ। उनले क्रियाशील सदस्यता वितरणबारे उत्पन्न विवाद समाधानका लागि छानबिन गर्नुपर्ने बताएका छन् । क्रियाशील सदस्यता वितरणको विषयमा छानबिन समिति गठन गरी महाधिवेशनको सम्पूर्ण तयारीमा लाग्नुपर्नेमा पौडेलको जोड छ।

‘तर, नेतृत्वले यो विषयमा अझै गाम्भीर्यता नदेखाएकाले ढुक्क हुने अवस्था छैन,’ पौडेलले भने। २०७२ सालमा सम्पन्न महाधिवेशनबाट नेपाली कांग्रेसका सभापतिमा निर्वाचित भए शेरबहादुर देउवा। कांग्रेसको विधानअनुसार देउवाको कार्यकाल २०७६ सालमै पूरा भयो। 

२०७६ पुसमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको १४औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ। तर, कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण कांग्रेसका पूर्वनिर्धारित कार्यक्रमहरू २०७६ चैत ८ गतेदेखि स्थगित छन्।  तर, विधानले दिएको ‘विषम् परिस्थितिमा’ एक वर्ष कार्यकाल बढाउन पाउने अधिकारको प्रयोग गर्दै देउवाले आगामी फागुनमा १४औं महाधिवेशन हुने घोषणा गरे। 

२०७६ पुसमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको १४औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ। तर, कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण कांग्रेसका पूर्वनिर्धारित कार्यक्रमहरू २०७६ चैत ८ गतेदेखि स्थगित छन्। फागुनका लागि निर्धारित १४ औं महाधिवेशन पर सर्न सक्ने स्थापना पक्षको नेताहरूले बताउने गरेका छन्।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले परिस्थिति प्रतिकुल नभएमा १४औं महाधिवेशनको कार्यतालिका हेरफेर हुनसक्ने बताएका छन्। कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले निर्धारित मितिमा महाधिवेशन हुनुपर्ने बताएका छन्।

केसीले यो वा त्यो बहानामा महाधिवेशन योभन्दा पर धकेल्न नमिल्ने बताए।  वरिष्ठ नेता पौडेल पक्षका नेता केसीले नयाँ नेतृत्व नआएसम्म वैचारिक पूनर्जागरणको अवस्थामा नआउने बताए। ‘अब कुनै बहाना चल्दैन, महाधिवेशनको विकल्प छैन, परिमार्जित कार्यतालिका कार्यान्वयन हुनैपर्छ,’ केसीले भने।

 

 

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर