आज राष्ट्रिय धान दिवस, किसानहरुले खेतमा रोपाई गरि दही चिउरा खाएर मनाईदै

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १५, साेमबार  
आज राष्ट्रिय धान दिवस, किसानहरुले खेतमा रोपाई गरि दही चिउरा खाएर मनाईदै

काठमाडौँ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । सरकारले असार १५ लाई केही वर्षदेखि धान दिवसका रुपमा मनाउँदै आएको छ । असारे भाका गाउँदै हिलोमा छुपुछुपु धानका बेर्ना रोप्ने चटारो यहि बेला पर्छ । यो बेला अधिकांश किसानहरु धान रोप्न व्यस्त हुने गर्छन् ।

वर्षायामलाई ‘मानो रोपेर मुरी फलाउने’ भनेर पनि नेपाली समाजमा बुझ्ने गरिन्छ ।  नेपालमा १४ लाख हेक्टर जमिनमा खेतीपाती हुने गरेको छ । सिंचाई सुविधा नपुगेका कारण धेरैजसो खेतीपाती आकासे पानीमै निर्भर हुँदै आएको छ । असारको १५ लाई दहीचिउरा खाने दिनका रुपमा समेत मनाइन्छ । असार १५ मा दहीचिउरा, केरा, आँप खाने प्रचलन छ ।

अझ धान रोप्ने, आली मिलाउने बाहसेहरुलाई समेत दहीचिउरा खुवाउने पनि गरिन्छ ।  देशैभर धानखेती र रोपाइँ हुने अनि यस समय कृषकहरूको व्यस्तता र माहौल नै अर्कै हुने गरेकाले पनि असार १५ विशेष मानिन्छ ।  तर यस वर्ष भने कोरोना भाइरस (कोभिड १९) महामारीका कारण दिवस र महोत्सवका औपचारिक कार्यक्रम भने राखिएका छैनन् ।

सरकारले आज १७ औँ राष्ट्रिय धान दिवस सामान्य औपचारिकताका साथ मनाउने भएको छ । सरकारले यस वर्ष धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरेको छ । तर कृषकहरूमा भने कोभिड महामारीको सन्त्रासको बीच पनि रोपाइँ अर्थात् धान रोप्ने कार्यको रौनक खासै घटेको छैन ।

यस वर्ष समयमै मनसुनी वर्षा समेत भएको र अधिकांश युवाहरू समेत गाउँघर फर्किएका कारण किसानहरूलाइ रोपाइँमा सहज भएको छ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

दही चिउराको महत्व

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने र दही(चिउरा एवं फलफुल र मिष्ठान्न खाने चलन पुरानै हो ।  मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही(चिउरा खाँदै आनन्द लिन्छन् ।

आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार