रोल्पाको जलजला पर्यटन मार्ग अलपत्र

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १४, आइतबार  
रोल्पाको जलजला पर्यटन मार्ग अलपत्र

काठमाडौँ । निर्माण व्यवसायीको लापरवाहीका कारण रोल्पाको एउटा सडक अलपत्र  परेको छ । जिल्ला सदरमुकामदेखि पर्यटकीय क्षेत्र जलजला जोड्नका लागि निर्माण आरम्भ गरिएको उक्त सडक निर्माणको काम वर्षौ बित्दा पनि सकिएको छैन ।

जलजला पर्यटन मार्ग  निर्माण गर्ने  जिम्मा रौताह हरिहर निर्माण सेवाले लिएको थियो । रोल्पा नगरपालिका वडा नं ४ का केही भाग र वडा नं १० का अधिकांश भाग छोएर जाने उक्त सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको रोल्पा– १० का वडाध्यक्ष मानबहादुर  खत्रीले जानकारी दिए ।

पच्चीस किलोमिटर लामो उक्त  सडकको हालसम्म पैँतालीस प्रतिशत काम मात्र भएको बताइएको छ ।
उक्त सडक योजना रौताहा हरिहर निर्माण  सेवाले करीब   २१ करोडमा सम्पन्न  गर्ने  गरी बोलकबोल गरेको थियो । सो निर्माण कम्पनीले दोस्रो निर्माण कम्पनीलाई  हस्तान्तरण गरेको  थियो ।

दोस्रो निर्माण कम्पनीले समेत तेस्रो निर्माण कम्पनीलाई उक्त सडक निर्माणको जिम्मा दिएको थियो ।मूल निर्माण सेवासँग पेटीमा काम गर्ने गरी जिम्मा लिएका खटकबहादुर खत्रीले आफूहरुले काम गरेको रकम भुक्तानी नपाउँदा यस्तो समस्या सिर्जना भएको बताए । समस्या  समाधानका लागि स्थानीय प्रशासनलगायत  विभिन्न निकायमा हारगुहार माग्दासमेत न्याय नपाएपछि निर्माणले गति लिन नसकेको खत्रीले स्वीकार गरे ।

 ‘निर्माण गरिएका संरचना पनि गुणस्तरीय छैनन्’, रोल्पा  –१० का मोतीलाल  डाँगीले  भने । मेसिनरी वालको जग  कमसल हुनाका साथै मापदण्ड विपरीत प्रयोग गरिएका निर्माण सामग्रीले ठाउँठाउँमा पहिरो गएको डाँगीको भनाइ छ । निर्माण कम्पनीको लापरवाही र सरकारी निकायको फितलो अनुगमनले यस्तो समस्या आएको डाँगीको आरोप छ ।

आर्थिक वर्ष २०७७/०७८  असोजमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड –१९ का कारण भएको बन्दाबन्दीले चालु आवमा काम हुन नसकेको बताइएको छ । चालु आवका लागि प्रस्तावित  करीब ४ करोड  रकम फ्रीज हुने देखिएको स्थानीयवासीको भनाइ छ ।

कोभिड –१९ को विश्वव्यापी महामारीले निर्माणमा समेत प्रभाव पारेको हुँदा केही समय आयोजनाको म्याद  थप गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको  रोल्पा–१० का वडाध्यक्ष खत्रीले भने ।पर्यटकीय दृष्टिकोणले अब्बा  मानिएको उक्त सडक दाङ, धौलावाङ, लिवाङ हुँदै थवाङ जोड्ने जिल्लाको मध्यभागको सडकका रुपमा समेत विकास गर्न सकिने छ । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर