नेकपा स्थायी कमिटिको बैठक बस्दै, तय भएका सात एजेण्डामाथि छलफल हुने 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १२, शुक्रबार  
नेकपा स्थायी कमिटिको बैठक बस्दै, तय भएका सात एजेण्डामाथि छलफल हुने 

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक बस्ने भएको छ । आज (शुक्रबार) बिहान ११ बजेबाट बैठक सुरु हुने उच्च स्रोतले जानकारी दिएको छ ।

बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल  प्रचण्डले धारणा राखेपछि शुक्रबारसम्मका लागि बैठक स्थगित भएको थियो । बुधबार दुई अध्यक्षले मात्र सम्बोधन गरेको बैठकमा आजदेखि सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने छन् ।

बुधबारको बैठकले सातवटा एजेण्डा तय गरेको थियो । जसमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्ध सरकारले गरेका काम कारबाही, नेपालको सीमा समस्या र समाधानका लागि भएको प्रयास, सरकारको कामको समग्र समीक्षा, पार्टी एकताको बाँकी, एमसिसी, रूकुम घटना, नागरिकता विधेयक र सांसदको बैठक भत्ताबारे छलफल हुनेछ।

दाहाल र नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न दबाब दिने स्रोतले बताएको छ । बुधबारको बैठकमा अध्यक्षद्वय ओली र दाहालले एक अर्काप्रति अविश्वास र असन्तुष्टि व्यक्त गरेका थिए ।

दुवैले अध्यक्षले पार्टी व्यवस्थित हुन नसकेको स्वीकार गर्दै एकले अर्कालाई असहयोग गरेको आरोप लगाएका थिए ।

यसअघि नेकपाको स्थायी समिति बैठक गत पुस पहिलो हप्ता बसेको थियो। एमसिसीबारे निर्णय गर्न बैशाख २५ गते बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित गरिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर