सरुवा, संकटकाल र संयोग

राजनविक्रम थापा ,
प्रकाशित: २०७७ जेठ २, शुक्रबार  
सरुवा, संकटकाल र संयोग

वीरगञ्ज । आजभन्दा करिब पन्ध्र वर्ष अघि जागीर कै सिलशिलामा नेपालगञ्ज थिएँ । जागिरे जीवनको घर छाडेर जानु पर्ने पहिलो सरुवा थियो । देशमा संकटकाल कै अवस्था थियो । बाह्र बर्षसम्म चलेको माओवादी द्धन्द उत्कर्षमा पुगेको थियो । कान्तिपुर टेलिभिजनमा समाचार प्रसारण हुनसाथ हाम्रा फोनहरु बज्न थाल्थे ।

हामी बसेकै वरीपरि कुनै न कुनै क्षेत्रमा माओवादी आक्रमण र हताहतका समाचार प्रसारण हुन्थे । परिवार र आफन्तजनहरुले चिन्ता व्यक्त गर्थे । कतै बैंकमा नै पो आक्रमण गर्दछन् की? कर्मचारी भनेर समातेर पो लान्छन वा मारिहाल्छन की भन्ने भय एकातिर हुन्थ्यो भने कामक्षेत्र रुकुम रोल्पा, सल्यान दाङ समेत रहेकोले दोहोरो भिडन्तमा पो पर्छन की भन्ने पीर हुन्थ्यो प्रियजनलाई ।

लाश र घाइतेका संख्या गनेर संवेदनशिलताको आँकलन गरिने त्यस वेलामा हामी केही साथीहरु नेपालगञ्ज मा खटिएका थियौं । नेपालगञ्ज बसेर सुदुरपश्चिम र मध्ये पश्चिमको नौ वटा अति द्धन्द प्रभावित जिल्लाहरुको पारिवारिक बजेट सर्वेक्षणको लागि खटिएको थियौं ।

प्लाष्टिकमा पोको पारेर जहाजमा ल्याइएका लाशहरु देख्दा आमाहरु जागिर छोडेर घर आइज भन्नु हुन्थ्यो । काठमाडौंमा ससना बच्चाहरु सहित रहने जीवन संगीनीको अमनचैन सबै हराएको हुन्थ्यो ।
अहिले फेरी जागीरकै सिलसिलामा गञ्ज मैै छु । वीरगञ्जमा । तईस वर्षको जागिरे जीवनमा यो मेरो गृहत्याग गर्ने गरी भएको दोस्रो सरुवा हो । उस्तै छ । आफन्तको चिन्ताको विषय । अहो एकै दिनमा ३९ जना थपिएछन् ? लौ है सुरक्षित बस्न परयो । सोत्तर पार्ने भयो वीरगञ्ज ।

घरबाट बाहिर ननिस्कनु है । एसएमएस, मेसेन्जर, भाइवर सवैतिर शुभचिन्तक र आफन्तको सन्देश आइरहेकै छ । आमा विदा लिएर गोरखा आइज भन्नु हुन्छ । त्यतिवेला मानिस र गोलीहरुको डर थियो तर अहिले आँखाले नदेखेको तर मनले हरेस खाएको भाइरसको डर छ । सबैले भन्थे जीवन संयोग नै संयोगले गाँसिएको डोरी जस्तै हो ।

जीवनमा धेरै संयोगहरु गुजारियो । कोरोनाको कहरबाट बाच्न लकडाउन कै अन्योलमा बसिरहँदा गुज्रिएका धेरै संयोगहरु मध्ये जागीरे जीवनसँग जोडिएका यी अनौठो संयोगहरुका बारेमा लेख्न मन लाग्यो । २०६२ सालको भाद्र महिना । देश आन्तरिक द्धन्दको उत्कर्षमा थियो । यसैवीचमा केन्द्रीय बैंकको महत्वपूर्ण कार्यसूचिमा रहेको चौथो पारिवारिक बजेटको काम रोक्ने की अघि बढाउने? भन्ने अन्योलको वीच तत्कालीन कार्यकारी निर्देशक रविन्द्र पाण्डेको नेतृत्वमा सर्वेक्षण गर्ने भन्ने भयो ।

अरुवेला भएको भए परियोजनामा प्राप्त हुने अतिरिक्त भत्ताको कारण तछाड मछाड हुन्थ्यो तर संकटकाल घोषित अवस्थामा द्धन्द प्रभावित क्षेत्रमा कर्मचारी खटाउन बैंक व्यवस्थापनलाई हम्मे परेको थियो । म सामान्य अधिकृत स्तरकै कर्मचारी तत्कालीन का.मु गर्भनर कृष्णबहादुर मानान्धर समेतको प्रत्यक्ष उत्प्ररेणा र पाण्डेसरको हौसला र सहास पश्चात मित्र राजेन्द्र भट्टराईको नेतृत्वमा कार्यक्षेत्रमा जाने राजी भईयो ।

हाम्रो करिब सोह्र महिनाको नेपालगञ्जका कार्यकालमा अनगिन्ती उल्लेख्य घटना र परिघटनाहरु छन् । स्मरण गर्न लायक । तर अहिले फेरी जीवन र मृत्युको खेलको क्लाइमेक्समा भएकोले त्यतिवेलाका द्धन्दको कहरका केही घटनाहरु जोडन मन लाग्यो । परियोजनाको कार्यालय जेनतेन धम्बोजीस्थित बैंकको परिसरभित्रै स्थापना गरिए पनि म लगायत साथीभाईको लागि आवासको दीर्घकालीन व्यवस्था हुन सकेन । भाडा मै घर लिएर बस्नु पर्ने अवस्था आयो ।

तत्कालीन प्रशासनको रवैया अहिलेको स्थानीय सरकार र प्रशासनको भन्दा कम थिएन । बैंकको अतिथिगृह र सवारी साधन अघोषित रुपमा कब्जामा लिइएको थियो । राजेन्द्रसर, लेखनाथ पोख्रेल दाई र म तीन जनाको टोली कार्यालयको नजिक गणेशपुरमा डेरा गरी बस्यौं । हाम्रो कार्यक्षेत्रमा जताततै मृत्यु विछयाइए झै भान हुन्थ्यो । कुनै पनि हप्ता दोहोरो भिडन्त नभएको अवस्था हुन्थेन।

रातभरी दोहोरो फाईरिंग सामान्य थियो । हामी बसेको वस्ती नजिक सेनाको व्यारेक समेत भएकोले नियमित फाईरिंग हुन्थ्यो । हामी फोन लगायर घरमा रहेका सदस्यहरुलाई गोली पटकेको सुनाउथ्यौ । त्यतिवेला गोली अघि अघि हामी पछि पछि भने जस्तो निकै घटना घटे । मेरी पत्नी पवित्रा समेत आएको बेला एकदिन राष्ट बैंक परिसरबाट दुई वर्षको छोरालाई डोरयाउँदै पसलतिर निस्कन खोज्दै थिएँ । एक्कासी बाहिरबाट फारिंग हुन थालेछ ।

भित्रबाट पनि सेनाहरुले फाइरिंग गरिरहेका रैछन् । मैले हेका राखिन । मरो बच्चा सहित मलाई सेनाका जवानले गलहत्याएर भित्र घचेटदिए । अपशब्दको प्रयोग त सामान्य थियो त्यतिवेलाका सेनाका लागि । विचरा हाम्रै ज्यान बचाउन जो उनले गरेका थिए ।  माओबादीद्धन्दको वेला विद्राहीका तर्फबाट  निकै अपहरणका घटना हुने गर्दथे । सुराकीको आरोपमा विद्यालयका शिक्षक र कर्मचारी बढि चेपुवामा पर्दथे ।

हाम्रो कार्यकालमा हामीले पनि अपहरण कै शैलीमा विद्रोहीको कब्जामा केहि घण्टा विताउनु परयो । कोहलपुर पारी रहेको चप्परगढीको जंगलमा रहेको सानो बस्तीमा हाम्रो सर्वेक्षण गर्ने करिब ११ घरधुरी  छनौटमा परेको थियो । मतदाता सूचिबाट गरिएको नमुना छनौट भएकोले नियमानुसार तोके कै घरमा पुग्न पर्दथ्यो । तर त्यो इलाका माओवादीहरुको सेल्टर रहेकोले त्यता नजान स्थानीय र शुभचिन्तकहरुले सल्लाह दिनु भएको थियो ।

हाम्रो समुह नेता राजेन्द भट्टराइका साथमा जोखिम लिन रुचाउने शालिकराम पोख्रेल र प्रकाश धिताल  म सहित चार जना थियौं । धितालजी दुनैमा बैंकको छ करोड रकम लैजाँदा पहिलो पटक माओबादी आक्रमणमा परेर बाँच्न सफल कमृचारी थिए । माओवादी आन्दोलनको उदगम स्थल अर्थात पहिलो शहिद दिलबहादुर रम्तेलको जिल्ला गोरखाको म थिएँ । फेरी राजनैतिक विद्रोह भएकोले भेटे पनि मारिहाल्दैनन संवाद गरुँला भन्ने आँट पनि थियो । 

जब हामी विहानको खाना खाने समयपश्चात कोहलपुरबाट आधा घण्टा पैदल हिडेर झुप्राहरुको बस्ती रहेको चपरगढी पुग्यौं । प्रश्नावलीमा लेखिएका कुरा सोध्दै केही घरमा फारम पनि भरयौं । स्थिति शान्त थियो । कोही बोल्न उत्साहित थिएनन् । सवै घरमा हामीलाई शंकाको आँखाले हेरे जस्तै लाग्दै थियो । हामी पनि हतार हतार काम सकेर निस्कन पाए हुने भन्ने मनस्थितिमा थियौं । जंगलभित्र रहेको वस्तीमा घरहरु पनि केहि टाढा पनि थिए ।

तर कोही मंगालिएन फेस भएको एकजना युवक हामी पुगेका घरलाइ टाढैबाट निगरानी गरिरहेका पनि रैछन । एफएम सुुन्दै हिडेका देखिन्थे । तर हामीसँग संबाद गरेका थिएनन् । टाढै बसेर कुरा सुन्दा रैछन् । जब हामी एउटा घरमा पुग्यौं, तब त्यो व्यक्ति आएर सरहरुभित्र हिडनुस भन्दै एउटा ढोका खुलै रहेको कोठा देखायो । अरु सबैलाई ईशाराले त्यहाँ नबस्न आदेश दियो । हामीभित्र भयौं । उसले भित्रबाट चुकुल लगायो ।

अघि देख्दा नबोल्ने लाटो अनुहार परेको त्यो युवक जब बोल्यो हामी स्तब्ध भयौ । शुरु मै उसले भन्यो “तपाइहरु कसको आदेशले हाम्रो राज्यसत्तामा आउनु भयो ? तपाईहरुलाई थाहै होला । देशमा दुइवटा राज्य सत्ता छ । यो हाम्रो सत्ता हो ।” हामी एक अर्कालाई हेर्न थाल्यौ । कसले बोल्ने र के बोल्ने अन्योल नै थियो । अरु तार्किक र बौद्धिक विषयमा बोल्न परेको भए के बाँकी राख्थ्यौं । हामी सबै एकसे एक थियौं । तर चुप लाग्यौ । एकछिन । उ पटट बौल्दै गयो ।

“हाम्रा मान्छे तिमीहरुका सत्तामा देखियो भने ढयांग गोली हानेर मार्छन । तिमीहरुलाई हामी किन जिउँदै छाडने ?” भन्नुस । यसो भन्दै गर्दा उसले कम्मरमा लुकाएको पेस्तोल र अर्काेतिर रहेको बाकीटकीमा हात लगिरहन्थ्यो । सायद हामीलाई मनोबैज्ञानिक रुपमा कमजोर सावित गर्न खोज्दै थियो । अब नबोली धर थिएन । शुरुमा हामीले राष्ट बैंकको भूमिका र महत्व बुझाउने प्रयास गरयौ तर उ टसकामस थिएन ।

अझ हामीले फारम भर्दा सोधेका प्रश्नमा आपत्ती जनाउँदै दुश्मनको तर्फबाट जासुसी गर्न आएको र आफ्नो सेल्टर ध्वस्त बनाउने योजना लिएर हामीलाइ जनकारवाही गर्न हाम्रै स्वीकृति माग्दै थियो । संकटको समयमा एउटा हद पार भैसकेपछि डर हराउँदै जाँदो रछ । उसो पनि मलाई माओवादीप्रति न त नकारात्मक धारणा थियो न त अधिक डर नै । मात्र डर कतै सेनाले आक्रमण गरिहाल्यो भने दोहोरो भिडन्तमा परिन्छ कि भन्ने थियो । बोल्नै परयो ।

राष्ट बैंक स्वायत्त संस्था भएको र यसले कुनै राजनैतिक उद्देश्य नहुने बताउँदै रुकुम र काठमाडौंमा एकै मुल्यमा नुन उपलब्ध गराउन यो सर्वेले सहयोग गर्ने कुरा बताएपछि अलि बुझेका भाव जनायो । अनि मैले एकछिन भावनात्मक आर्कषणमा तान्ने प्रयास गरे । आफुपनि गोरखा जिल्लावासी भएको र पार्टीको राजनैतिक उद्देश्य राम्रासँग बुझेको कुरा बताए ।

जनयुद्ध लडाकुको भरमा मात्र अघि बढेको छैन । सवै जनताको साथ र सहयोगले अघि बढेको कुरा नभुल्नुस भने । जनताहरु बाध्यताले सवै आफनो आफनो पेशामा छन् । पेशामा रहँदा सबैले पेशागत इमान्दारिता देखाउन पर्छ । हामी पनि राज्यलाई मजबुत बनाउन हिडेका हौं । भोली तपाईहरु सत्तामा पुग्नु भयो भने हामी तपाईहरुसंग मिलेर यो काम गर्न पर्छ भने ।

जेहोस् हाम्रो कुराबाट उ हामी सुराकी हैनौ भन्ने कुरामा भने सुनिश्चित भयो । उसले बाहिर गएर एकछिन वाकीटवाकीमा कुरा गरयो । सजिलै छाडेन । झण्डै चारघण्टाको बहस र हाम्रो आत्मविश्वास सहितको संवादले हामीलाइ त्यहाँबाट सकुशल फिर्ता पठायो । यदि दिन विग्रको हुन्थ्यो भने त्यहि साँझ कान्तिपुर समाचारको हेडलाइन बन्न कुनै बेर लाग्थेन।

त्यो बसाईमा मृत्युका नजिक पुगेका यति धेरे संयोगहरु थिए की । सवैमा हामी संयोगले नै जोगिन्थ्यौ । त्यहि अवधिमा एक पटक रुकुममा अनुगमन जाने विषयमा राजेन्द्रजी र मेरो वीचमा समय तालिकालाई लिएर विवाद परेर यति एअरमा बुक गरेको टिकट रद्द गरियो । जुन दिन हामी फर्कने तय गरेका थियौं त्यो दिनको जहाज दुर्घटना परेर सुन्दर महिला पाइलट सहित २२ जनाले ज्यान गुमाए । एकदिन नेपालगञ्जको सिद्धार्थ कटेजमा गोष्ठी सम्पन्न गरयौ ।

रकम भुक्तानी गर्न कोठामा नगद लिन निस्केको थियौं हामी निस्कन साथ त्यहि स्थानमा दोहोराभिडन्त भएर चार जना पुलीस ढलेछन् । मात्र केही मिनेटको अन्तरमा हामी बाहिरिएका थियौ ।
 हो, फेरी संयोगले कसैले नसोचेको संकटकालको संघारमा वीरगञ्जमा छु । खास भन्ने हो भने म यतिवेला सरुवा भएर काठमाडौं पुगिसक्नु पर्ने हो । बैंकभित्रको नेतृत्व परिवर्तनको वेला र व्यवस्थापनले मलाई छिटै केन्द्रमा लैजान अग्रसर नभएकै कारण फेरी नयाँ संकटको सामना गर्ने मौका पाएको छु ।

यसलाइ अवसरको रुपमा लिएको छु । बैंकले हरेक अप्ठायोरामा साथ दिएको छ । यो कठिन घडिमा बैंकको कर्मठ कर्मचारी बनेर यो संकटग्रस्त क्षेत्रको नेतृत्व गर्नेछु । हिजो पनि साथीभाईको सहयोग र आफन्तको शुभेच्छाले जिम्मेवारी सफल ढंगले पुरा गरेकै हो । आज पनि आफ्नो संस्थाको जिम्मेवारीमा सधै संवेदनशिल हुनेछौ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार