निष्पक्ष पत्रकारीताको लागि प्रण गरौँ !

अभिषेक अर्याल ,
प्रकाशित: २०७७ वैशाख २१, आइतबार  
निष्पक्ष पत्रकारीताको लागि प्रण गरौँ !

सम्पादकीय,

आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । स्वतन्त्र र निष्पक्ष पत्रकारीताको लागि वातावरणको माग गर्दै विश्वभर विभिन्न कार्यक्रमका साथ मनाउने गरीन्छ । तर, यो समय अलिक फरक छ र पत्रकारीताको दायित्व पनि उत्तिकै छ । कोरोना (कोभिड–१९) को संक्रमणको यस समयमा विश्वभर जनतालाई सहि सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरु जोखिम मोलेर फ्रन्टलाईनमा बसेर काम गरिरहेका छन । 

यही सत्यतालाई सिरोपर गर्दै सरोकारवालाहरूले स्वतन्त्र प्रेसका सिद्धान्तको सम्मान गर्दै विश्वब्यापी महामारी कोरोनाका तथ्य उजागर गर्ने चुनौतिबीच पत्रकारहरूका लागि थप जिम्मेवारी बोध गर्ने र साहस देखाउने दिवसका रुपमा स्मरण गर्न सकिने बनाउनु पर्छ । तर यस्तो जोखिमपूर्ण अवस्थामा पनि प्रेसका सन्दर्भमा सरकारले गरेको प्रतिवद्धतामा चुकेको देखिन्छ ।

सरकार आफैले प्रतिवद्धता जनाएको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय अभिसन्धि, १९६६ को धारा १९ र नेपालको संविधान, २०७२ को धारा १९ ले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताले सुनिश्चित गरेको भएतापनि यसको प्रत्याभुति भने राज्यले दिन सकेको छैन । 

यस जोखिमपूर्ण घडिमा पनि चितवनमा कोरोनासम्बन्धि रिर्पो्टिङका क्रममा पत्रकारहरू प्रमिता ढकाल, विनोद रिजाल र अर्जुन अधिकारीलाई द्रुव्यवहारसहित पक्राउ गरिनु, स्थानीय सरकारका प्रतिनिधिहरूबाट विभिन्न ठाँउमा समाचारको विषयमा पत्रकारहरूलाई त्रास र धम्की दिइनु, रेडियो नेपालका कार्यकारी निर्देशक तथा समाचार प्रमुखलाई समाचारको विषयलाई लिएर सञ्चार मन्त्रालयबाट स्पष्टिकरणसहित कारवाही गरिनु जस्ता घटनाहरूले निष्पक्ष र स्वतन्त्र पत्रकारीतामाथि अंकुश लगााउने प्रयास गरिएको छ ।

यसै सन्दर्भमा भय र पक्षपातरहित पत्रकारिताको नारा दिइएको यस वर्षको प्रेस स्वतन्त्रता दिवसको अन्तर्य पत्रकारले निर्भयपूर्वक सत्य र तथ्यपरक सूचना उत्पादन र सम्प्रेषण गरि भ्रामक र गलत सूचनाको रोकथाम तथा विश्वसनीय पत्रकारिताको प्रवर्धनमा योगदान पुर्याउन सके मात्र पुरा हुने देखिन्छ ।

कोरोना नियन्त्रणसम्बन्धि सामग्री खरिदमा भएको अनियमितताबारे सञ्चारमाध्ययमले उजागर गरेका घटनामा पत्रकारहरूलाई हतोत्साही गरिनु तथा प्रधानमन्त्रीकै सल्लाहकारको संलग्नतामा अनलाइनको समाचार ह्याक गरि स्वतन्त्र प्रेसमाथि सकारका विज्ञ बाट नै अवरोध सिर्जना गर्नुजस्ता घटनाहरूले स्वतन्त्र सरकार र राज्यका निकायको गलत काममा निगरानी गर्ने वातावरण बन्न सकेको छैन ।

सत्य तथा तथ्यपरक सूचनाले मात्रै नागरिक स्वतन्त्रताको संरक्षणमा सहयोग पुग्ने हुन्छ । त्यसैले विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताका आफ्ना प्रतिवद्धता पुरा गर्न सरकारले पनि आफ्नो भूमिकालाई अझै सशक्त बनाउनुपर्ने देखिन्छ । विश्व प्रेस स्वतन्त्रता दिवसमा सबैले निष्पक्ष पत्रकारीताका लागि प्रण गरौँ र यसको वातावरण तयार गर्न सबैले खबरदारी गरौँ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार