प्रदेश नं २ को सरकारले कोरोना उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई ५० लाख दिने र ब्याज तिर्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ चैत २८, शुक्रबार  
प्रदेश नं २ को सरकारले कोरोना उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई ५० लाख दिने र  ब्याज तिर्ने

काठमाडौँ ।प्रदेश नं २ को सरकारले कोरोना भाइरसको आशङ्का गरिएका बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मृत्यु भएमा परिवारलाई  सरकारले ५० लाख रुपैयाँ दिने भएको छ ।शुक्रबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले कोरोनाको आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारमा संलग्न हुने ब्यक्तिको कारणबस मृत्यु भएमा  पीडित परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

त्यसैगरी, सो बैठकले लकडाउनले गर्दा किसान पीडित भएकोमा प्रदेश सरकारले किसानले बैंक तथा वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको छ। जसमा कृषि फर्मका लागि किसानले रु पाँच लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको ब्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ।

कानूनमन्त्री यादवका अनुसार ,पाँच लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्म ऋणमा ४० प्रतिशत र ३० लाख रुपैयाँभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम ब्याज तिरिदिने निर्णय गरेको हो । त्यसका साथै, अतिरिक्त दूध, फलफूल, तरकारी, कुखुरा र माछामा यस निर्णय अतिरिक्त राहत उपलब्ध गराउने निर्णय भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार