यस्तो थियो नेकपाको ७० वर्षे इतिहास

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १०, शनिबार  
यस्तो  थियो नेकपाको ७० वर्षे इतिहास

काठमाडौँ । नेपाली कम्युनिष्ट आन्दोलनको महान् परम्परा भनेको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको एकीकृत तथा समष्टिगत आन्दोलनको महान् परम्परा हो।

यसमा कहिले राष्ट्रियताको प्रश्न प्रमुख बनेर खडा भयो, कहिले जनजीविका प्रश्न प्रमुख बनेर खडा भयो भने कहिले लोकतन्त्रको प्रश्न प्रमूख भएर आयो र कहिले लोकतन्त्रको पुनर्वहालीको आन्दोलन प्रमूख बन्यो र अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सामन्तवादका अवशेषहरुलाई समाप्त गर्ने र दलाल नोकरशाही पूँजीवादको विरुद्ध सङ्घर्ष गर्दै श्रमजीवी मजदुर किसान वर्गलाई अधिकारसम्पन्न बनाउने, सम्पूर्ण देशभक्त तथा प्रगतिशील शक्तिलाई सुदृढ गर्ने, उत्पादक शक्तिको तीव्र विकास गरेर सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियाद्वारा सिङ्गो राष्ट्र र जनतालाई समृद्ध बनाउने तथा नेपाली विशेषताको समाजवाद निर्माणको विषय प्रमूख बनेर उपस्थित भएको छ।

नेपाली कम्युनिष्ट पार्टी स्थापनाका ७० वर्ष व्यतीत भएका छन्। यस अवधिमा नेपाल कम्युनिष्ट पार्टीले ठूूलठूला उपलब्धीहरुका साथै समय समयमा गम्भिर प्रकारका नोक्सानीहरु पनि बेहोर्नुपर्‍यो। विगत ७० वर्षहरु नेपाल कम्युनिष्ट पार्टीका निम्ति कुनै वर्ष सिद्धान्त प्रतिपादनका हिसाबले महत्वपूर्ण बन्यो। त्यस्तै गरी कुनै वर्ष सङ्घर्षका दृष्टिकोणले महत्वपूर्ण वर्षहरु बने।

कुनै वर्ष संगठन निर्माणका हिसाबले महत्वपूर्ण रहे। यिनै कुरालाई प्रत्येक वर्ष नेपाल कम्युनिष्ट पार्टीका लागि कुन–कुन हिसाबले महत्वपूर्ण रहे, त्यसको वर्ष घटनाका रुपमा संक्षिप्त विवेचना प्रस्तुत गरिएको छ। भविष्यमा नेकपाको इतिहास लेखनका लागि गोरेटो सावित हुनेछ। २००५ सालमा अन्तर्राष्ट्रिय कम्युनिष्ट घोषणापत्रको प्रकाशनको १०० वर्षपछि त्यसको क। पुष्पलालद्वारा नेपाली भाषामा अनुवाद गरी प्रकाशित भयो।

२००६ वैशाख १० गते नेकपा स्थापनाको घोषणा भयो। क। पुष्पलाल लगायत ५ जना (नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ) द्वारा नेकपाको स्थापना र सेप्टेम्बर १५ मा नेपाल कम्युनिष्ट पार्टीको प्रथम घोषणापत्र प्रकाशित भयो। जसमा नेपाली क्रान्तिको कार्यक्रम जनवाद भन्ने थियो।

२००७ सालमा नेकपाको सङ्गठन विस्तार २००७ सालको क्रान्तिमा समावेश, दिल्ली सम्झौता विरोधी आन्दोलनको मुक्ति सेनाप्रति समर्थन। २००८ सालमा नेकपाको प्रथम सम्मेलन, जनवादी कार्यक्रम पारित। क। पुष्पलाल महासचिवमा निर्वाचित, माघमा पार्टीमाथि प्रतिबन्ध। यसै वर्ष विभिन्न जनवर्गीय सङ्गठनको गठन, जसमा अखिल नेपाल किसान सङ्घ, नेपाल महिला सङ्घ, विद्यार्थी फेडरेशन आदि जनवर्गीय संगठनहरुको स्थापना– कार्तिक महिनाको विद्यार्थी आन्दोलनमा गोली लागेर चिनियाकाजीको मृत्यु।

२००९ सालमा जातीय जनतान्त्रिक मोर्चाको गठन, रौतहटमा किसान आन्दोलन, स्वतन्त्र न्यायलयमाथि राजाको हस्तक्षेपका विरुद्ध नेकपाको विरोध। सोही वर्षको असोज ५ गते श्यामप्रसाद शर्माको नेतृत्वमा प्रलेसको स्थापना। २०१० सालमा नेकपाको प्रथम अधिवेशन क. मनमोहन अधिकारी महासचिव पार्टी कार्यक्रममा फेरबदल। २०११ साल गुरिल्ला युद्धको तालिमका निम्ति गौरीभक्त प्रधान चीन प्रस्थान, नेकपाको अन्तर्राष्ट्रिय पार्टीहरुसँग सम्बन्ध विस्तार।

२०१२ सालमा नेकपाको दोस्रो सम्मेलन, क। मनमोहन अधिकारी उपचारका निम्ति चीन प्रस्थान, रायमाझी कार्यवाहक महासचिव। २०१३ साल पार्टीमाथिको प्रतिवन्ध फुकुवा, संविधान सभाको माग सम्बन्धि आन्दोलन जारी। २०१४ सालमा भद्र–अवज्ञा आन्दोलनमा नेकपा र नेपाली कांग्रेसको संयुक्त पहल, संविधानसभाको चुनावको मागपछि कांग्रेसले संसदीय चुनावमा मञ्जुरीपछि कम्युनिष्ट पार्टीद्वारा त्यसको विरोध, नेकपाको दोस्रो अधिवेशन, क. पुष्पलालद्वारा प्रस्तुत गणतान्त्रिक कार्यक्रम पारित तर रायमाझी महासचिव।

२०१५ सालमा प्रथम संसदीय निर्वाचनमा नेकपाको सहभागिता र ४७ सीटमा उम्मेद्वारी ४ सीटमा विजयी। विजयीहरुमा हृदयलाल महतो, शेख सिराजुल–रौतहट, कमलराज रेग्मी–पाल्पा, तुलसीलाल अमात्य–पाटन। शम्भुराम श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित। नगरपालिका निर्वाचनहरुमा नेकपाको भारी विजयी।

२०१६ सालमा पार्टीको विस्तारित बैठक संसदीय व्यवस्थाप्रति आसन्न खतराप्रति पार्टीद्वारा सचेतना खबरदारी अपील प्रकाशन। २०१७ सालमा संसदको विघटन पञ्चायतको सुत्रपात। पार्टीको दरभङ्गा प्लेनममा बहुमत केन्द्रीय सदस्यहरुद्वारा संविधान सभाको मागसम्बन्धी प्रस्ताव पारित, रायमाझीद्वारा पञ्चायतको समर्थन।

२०१८ सालमा तेस्रो महाधिवेशनको तयारीका निम्ति ५ वटा अन्तर्जोन समन्वय समितिको गठन। २०१९ सालमा पार्टीको तेस्रो महाधिवेशन, तुलसीलाल अमात्य महासचिव । राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित। २०२० सालमा सर्वसत्तासम्पन्न सार्वभौमसत्ता सम्पन्न संसदको स्थापनाका निम्ति आन्दोलनको अपील र सङ्गठन विस्तार।

२०२१ सालमा तेस्रो महाधिवेशनको केन्द्रीय समिति लथालिङ्ग। रायमाझीद्वारा पुनः नयाँ सम्मेलनको आयोजना। २०२२ जेठ १ मा अनेरास्ववियुको गठन र विद्यार्थी आन्दोलनको सुत्रपात। २०२३ सालमा नेकपा महामन्त्री र क। पुष्पलालका बीचमा तीव्र मतभेद, कुन बाटो र मूल बाटोमा विवाद। पार्टीको सातौं केन्द्रीय समितिको बैठक पार्टीको आचारसंहिता स्वीकृत। त्यसको परिपालना नभएपछि औपचारिक विभाजन, रायमाझीको नेतृत्वमा तेस्रो सम्मेलन।

२०२४ सालमा क. पुष्पलालद्वारा पार्टीको कन्भेन्सनको आह्वान। कम्युनिष्ट पार्टीको १८ वर्षे सिंहावलोकन र नयाँ जनवादी कार्यक्रमको खाका प्रस्तुत। २०२५ सालमा पार्टीको तेस्रो सम्मेलन, क. पुष्पलालद्वारा नयाँ जनवादी कार्यक्रमको व्यवस्थित रुपमा प्रस्तुत। पञ्चायती व्यवस्थाको विरोध र किसान आन्दोलनमा जाने नीति पारित, १/३ सर्कुलर जारी।

२०२६ सालमा कम्युनिष्ट नेताहरु क। मनमोहन अधिकारी, मोहनविक्रम सिंह लगायतका जेलमुक्त। १८ कलेजहरुको खारेजीमा विद्यार्थी आन्दोलन। २०२७ सालमा कम्युनिष्ट एकताको प्रथम प्रयास, क। मनमोहन अधिकारीको नेतृत्वमा केन्द्रीय न्युक्लियस गठनको प्रयास, ठाउँ–ठाउँमा किसानहरुद्वारा आन्दोलनहरु।

२०२८ सालमा न्युक्लियसको गठन, पूर्वकोशी प्रान्तीय कमिटिको झापा जिल्ला कमिटीद्वारा विद्रोह, झापा सङ्घर्षको सुत्रपात। मंसीर २० मा मोहनविक्रम लगायत बागमती प्रान्तीय कमिटीमा रहेका सिद्धिलाल सिंह, नरबहादुर कर्मचार्य, देवेन्द्रलाल श्रेष्ठ मिली केन्द्रीय न्युक्लियस गठन। त्यसका अन्य सदस्यहरुमा मनमोहन अधिकारी, निर्मल लामा, शम्भुराम श्रेष्ठ, जयगोविन्द शाह, भरतमोहन अधिकारी, रामबहादुर ह्यामो, कमल कोइराला।

२०२९ साल नेकपाको चौंथो सम्मेलन, संयुक्त जनआन्दोलनमा जाने नीति पारित। प्रवासी नेपाली कल्याणकारी समितिको गठन। झापा सङ्घर्षमाथि घोर दमन। २०३० सालमा लुम्बिनी अञ्चलको किसान आन्दोलन, त्यस आन्दोलनको भीषण दमन। अर्घाखाँचीमा हर्रेवर्रे सङ्घर्ष, कैयौं नेता कार्यकर्ता गिरफ्तार।

२०३१ सालमा झापा सङ्घर्षका कैयौ नेता गिरफ्तार, राजा वीरेन्द्रको राज्यभिषेक। भाद्र ३० देखि असोज ७ सम्म निर्मल लामा, मोहनविक्रमहरुको पहलमा चौंथो महाधिवेशन। महाधिवेशनको नारा देशभक्त र प्रजातन्त्रवादीहरुको संयुक्त सरकार। मोहनविक्रम सिंह महासचिवमा निर्वाचित। पुष्पलालले राजतन्त्र परास्त गर्न कांग्रेससँग पनि संयुक्त मोर्चा बनाउनुपर्ने धारणा राखेकोमा मोहनविक्रमद्वारा कडा आलोचना।

२०३२ सालमा सीपी मैनाली, माधवुकमार नेपाल, झलनाथ खनाल र अमृत बोहराको पहलमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोओर्डिनेशन केन्द्र (माले) को गठन। त्यस्तै गरी केन्द्रीय न्युक्लियसबाट कमरेड शम्भुराम श्रेष्ठ अलग र नेपाल कम्युनिष्ट लिगको गठन।

२०३३ सालमा सीपी मैनाली र प्रदीप नेपालको नेतृत्वमा नख्खु जेल विद्रोह। पुष्पलालको पार्टीबाट जीवराज आश्रित, मोदनाथ प्रश्रित, मदन भण्डारी, वामदेव गौतम अलग भएर मुक्ति मोर्चा समूह गठन।

२०३४ सालमा विभिन्न कम्युनिष्ट घटकहरुका बीचमा एकताको प्रस्ताव। को.के., मुक्ति मोर्चा, पूर्वको रातोझण्डा र नेत्रलाल अभागीको सन्देश समूहबीच एकता वार्ता। को.के. र मुक्ति मोर्चाबीच एकता।

२०३५ सालमा क। पुष्पलालको निधन, विद्यार्थी आन्दोलनको सुत्रपात नेकपा (पुष्पलाल) को सङ्कटकालीन सम्मेलन सम्पन्न। क. बलराम उपाध्याय, प्रवक्ता सहाना प्रधानद्वारा क। पुष्पलालको नीति तथा कार्यक्रम लागू गर्ने प्रतिवद्धता। ४ समूहका बीचमा एकता भएर नेकपा (माले) को स्थापना, सीपी मैनाली महासचिव। निर्मल लामा नेकपा (चौम) को महामन्त्रीमा चयन।

२०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थापना। विद्यार्थी आन्दोलनको पराकाष्ठा र जनमत सङ्ग्रहको घोषणा। जनमत सङ्ग्रहमा क। बलराम समूहद्वारा ५ पूर्वशतको प्रस्ताव जनमत सङ्ग्रहमा केही कम्युनिष्ट घटकहरुद्वारा बहिष्कार र केहीको सहभागिता, नेकपा (माले) को ढुलमुल नीति, चौमद्वारा बहिष्कार अन्य घटकहरु पुष्पलाल, मनमोहन, बर्मा, मानन्धर, रोहित आदि समूहद्वारा सहभागिता। उक्त प्रस्तावको समर्थन। ८ वाम नेताको भाद्र २४ गते संयुक्त सङ्घर्ष गर्ने वक्तव्य र सङ्घर्षको आह्वान। भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ नेकपा (चौम) को महामन्त्री। मंसीरमा मुकुन्द न्यौपाने र कमल बहादुरको नेतृत्वमा स्वतन्त्र मजदुर सङ्गठनको स्थापना।

२०३७ सालमा नेकपा मालेको सातौं बैठकमा महत्वपूर्ण निर्णय र नेकपा पुष्पलाल पार्टीद्वारा पूर्वशर्तसहित जनमत सङ्ग्रहमा जाने घोषणा पहिलो खुल्ला मञ्चमा ऐतिहासिक आमसभा। त्यसपछि मनमोहन समूहद्वारा आमसभा। शान्ता मानवीको संयोजकत्वमा अखिल नेपाल महिला सङ्घको गठन। नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई जनस्तरमा मनाउन सुरु।

२०३८ साल नेकपा मालेको ७५ पेजको अन्तरपार्टी सर्कुलर, पार्टी नीतिमा महत्वपूर्ण परिवर्तन, जसले गर्दा पार्टी जीवनमा दुरगामी प्रभाव। केशरजङ्ग रायमाझीले नेतृत्व गरेको नेकपाबाट उनैलाई निष्काशन र मानन्धर र वर्मा समूहको गठन। वैशाखमा लक्ष्मण रायमाझीको नेतृत्वमा अखिल भारत प्रवासी नेपाली सङ्घको स्थापना। चैत्रमा पारिजातको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक सङ्घ गठन।

२०३९ सालमा नेकपा (माले) भित्र “पार्टी स्वतन्त्रता” कि “राजनीतिक स्वतन्त्रता” भन्ने विषयमा महाविवादको आरम्भ। तत्कालीन माले महासचिव सी.पी. मैनालीलाई कार्यवाही, झलनाथ खनाल महासचिव।

२०४० सालमा नेकपा माले र नेमकिपाबीच पार्टी एकीकरण र केही नेताहरुको पार्टीबाट पलायन। नेकपा पुष्पलालको बनारस प्लेनम र सबै वाम घटकसँग आन्दोलनमा एकता प्रस्ताव र नेकपा (मनमोहन) सँग पार्टी एकता गर्ने निर्णय। मंसीरमा निर्मल लामाको नेतृत्वमा नेकपा (चौम) को राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन। निर्मल लामाद्वारा राष्ट्रिय सम्मेलनको आयोजना। सम्मेलनपछि मोहनविक्रम सिंह महामन्त्री। भक्तबहादुर श्रेष्ठ गिरफ्तार, चित्रबहादुर केसी नेकपा (चौम) को कार्यवाहक महासचिव।

२०४१ सालमा नेपालका शिक्षकहरुको आन्दोलनलाई वाम प्रजातान्त्रिक सबै शक्तिको समर्थन, नेकपा पुष्पलाल र नेकपा मनमोहनबीच पार्टी एकताका लागि आयोजक समिति गठन। मंसीर १–१६ मा चौमको पाँचौं महाधिवेशन। महाधिवेशनमा मोहनविक्रम सिंहको कार्यदिशा पास, तर उनीमाथि कार्वाही, मोहन वैद्य ‘किरण’ महामन्त्रीमा निर्वाचित।

२०४२ सालमा पाँचौं महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये ४ जनालाई लिएर मोहनविक्रम सिंहद्वारा नेकपा मसाल गठन, यसलाई ‘पातलो मसाल’ पनि भनिन्थ्यो। मोहन वैद्यको नेतृत्वमा नेकपा (मशाल) र मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा (मसाल) का रुपमा मशालको विभाजन। नेपाली कांग्रेसको सत्याग्रहलाई समर्थन नदिने मालेको निर्णय। असारमा रामराजाप्रसाद सिंहद्वारा बमकाण्ड, नेकपा पुष्पलाल समूहद्वारा छुट्टै आन्दोलनमा जाने निर्णय।

२०४३ मा बनारसमा नेकपाको छैटौं सम्मेलन त्यस सम्मेलनमा नेकपा पुष्पलाल र मनमोहनको एकता नेकपा (माक्र्सवादी) को गठन। नेकपा (माले) को जनपक्षीय उम्मेदवारहरुद्वारा पञ्चायती व्यवस्थामा हस्तक्षेप। मालेका ७ जना नेता राष्ट्रिय पञ्चायतमा निर्वाचित, स्थानीय पञ्चायतमा मालेको बलियो उपस्थिति। नेकपा (माक्र्सवादी)को एकता सम्मेलन। नेकपा मशालका तर्फबाट काठमाडौंका प्रहरी बिटमा आक्रमण र पोष्टर टाँस्ने काम। पार्टीका धेरै कार्यकर्ता गिरफ्तार, जसलाई सेक्टरकाण्ड भनिन्छ। सेक्टरकाण्डपछि मोहन वैद्यद्वारा महामन्त्रीबाट राजीनामा, प्रचण्ड महामन्त्रीमा चयन।

२०४४ सालमा सोभियत सङ्घलाई हेर्ने नेकपा (माले) को दृष्टिकोणमा परिवर्तन। नेकपा मालेद्वारा माओ विचारधाराको परित्यागको निर्णय, सोभियत सङ्घलाई समाजवादी मान्यता प्रदान।

२०४५ सालमा नेकपा मशालको सम्मेलनद्वारा प्रचण्ड महामन्त्रीमा निर्वाचित। २०४६ सालको जनआन्दोलनमा नेकपा मशाल, नेकपा मसाल (विद्रोही), सर्वहारा श्रमिक सङ्गठन, नेकपा चौम लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति गठन।

२०४६ साल आश्विनमा नेकपा मालेको चौंथो महाधिवेशन सम्पन्न। पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा जाने निर्णय। माघमा ७ घटक मिलेर सहाना प्रधानको नेतृत्वमा संयुक्त वाममोर्चा गठन, संयुक्त जनआन्दोलनको सुरुवात। माओवाद मान्ने कम्युनिष्ट घटकहरुद्वारा डा। बाबुराम भट्टराईको नेतृत्वमा संयुक्त जनआन्दोलन संयोजन समिति गठन गरी जनआन्दोलनमा सहभागी। पौष २५ गते कम्युनिष्ट नेता जय गोविन्द शाहको निधन।

२०४७ सालमा माधवकुमार नेपाल, भरतमोहन अधिकारी र निर्मल लामा संविधान मस्यौदा समितिमा सामेल। संविधान निर्माणमा वामपन्थी शक्तिको महत्वपूर्ण योगदान। श्रावणमा प्रचण्ड नेतृत्वको नेकपा मशाल, निर्मला लामा नेतृत्वको नेकपा चौम र रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक सङ्गठनबीच एकता भई नेकपा एकता केन्द्र गठन। त्यसको केही समयपछि हरिबोल गजुरेलको नेतृत्वमा डा. बाबुराम भट्टराई लगायतका नेताहरु एकता–केन्द्रमा समाहित। पुष २२ गते नेकपा माले र नेकपा माक्र्सवादी एकीकरण भई नेकपा (एमाले) को गठन।

२०४८ सालमा संसदको दोस्रो निर्वाचनमा कम्युनिष्ट प्रतिनिधिहरु ८२ सिटमा विजयी। नेकपा एमालेबाट केही नेताद्वारा विद्रोह पुनः नेकपा माक्र्सवादी गठन। राष्ट्रियताको सवालमा महान् जनसङ्घर्ष। मंसीर ४ मा नेकपा (एकता–केन्द्र) को एकता महाधिवेशन। महाधिवेशनमा प्रचण्डको प्रस्तावमा माओवाद र दीर्घकालीन जनयुद्धको कार्यदिशा पास। प्रचण्ड महामन्त्रीमा निर्वाचित। डा.बाबुराम भट्टराईको नेतृत्वमा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन गठन।

२०४९ माघमा नेकपा एमालेको पाँचौं महाधिवेशन। मदन भण्डारीद्वारा प्रस्तुत जनताको बहुदलीय जनवादको कार्यक्रम प्रचण्ड बहुमतद्वारा पारित। मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव। नेकपा (एकता–केन्द्र) द्वारा केन्द्रीय सामना सांस्कृतिक परिवार गठन।

२०५० साल जेठमा क। मदन भण्डारी र क। जीवराज आश्रितको दासढुङ्का जीप दुर्घटनामा षडयन्त्रपूर्ण हत्या, क. माधव कुमार नेपाल महासचिव।

२०५१ सालमा क। मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा नेकपा एमालेको ऐतिहासिक सरकार गठन र प्रगतिशील सुधारका कार्यक्रम घोषणा। ‘आफ्नो गाउँ आफै बनाउँ र सामाजिक सुरक्षा भत्ता’जस्ता लोकप्रिय कार्यक्रमको सुरुवात। असारमा नेकपा (एकता–केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरु पार्टीबाट अलग। निर्मल लामाको नेतृत्वमा नेकपा एकताकेन्द्रको गठन। भदौ २ गते नेता रामवृक्ष यादवको हत्या। फागुन २–४ प्रचण्डको नेतृत्वमा रहेको नेकपा एकता–केन्द्रको तेश्रो बिस्तारित बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा निर्माण। पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी नामाकरण।

२०५२ सालमा नेकपा एमालेद्वारा मेची–महाकाली १२ सुत्रीय अभियान सञ्चालन। माघ २२ गते नेकपा (माओवादी) द्वारा देउवा सरकारलाई ४० बुंदे मागसहितको ज्ञापनपत्र प्रस्तुत। फागुन १ गते जनयुद्ध नेकपा (माओवादी) ले ‘प्रतिक्रियावादी राज्यसत्ता ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ जनयुद्धको घोषणा।

२०५३ सालमा महाकाली सन्धिको अनुमोदन र संयुक्त सरकारमा नेकपा एमालेको सहभागीता, पार्टी शुद्धिकरण एवं सुदृढीकरण अभियान प्रारम्भ। नेकपा माओवादीको जनयुद्धको विभिन्न चरणहरुको निर्धारण र सङ्घर्षको दोस्रो योजनाको समीक्षा। पुस १९ गते माओवादीद्वारा रामेछापको बेथान चौकीमा आक्रमण।

२०५४ साल स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको प्रचण्ड बहुमत। नेकपा एमालेको छैटौं महाधिवेशन सम्पन्न। महाकाली सन्धिलाई हेर्ने दृष्टिकोणलाई लिएर नेकपा एमालेमा विवाद र पार्टी विभाजन भई नेकपा मालेको पुर्नगठन। नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठकले जनयुद्धको तेस्रो योजनाको घोषणा र छापामार युद्धलाई नयाँ उचाइँमा उठाउँ भन्ने नीति पारित।

२०५५ सालमा माले र एमाले बीचमा तीव्र विवाद। सरकारमा सामेल हुन माले र एमालेको बीच होडबाजी। भाद्रमा नेकपा (माओवादी) को केन्द्रीय विस्तारित बैठकद्वारा जनयुद्धको चौंथो योजनाको निर्माण। आधार इलाका निर्माणको दिशामा अघि बढौं भन्ने नीति पारित। सरकारद्वारा माओवादीमाथि ‘किलो सेरा–टु अप्रेशन।

२०५६ सालमा तेस्रो आम निर्वाचन। कम्युनिष्ट सरकार गठन हुने सम्भावना क्षीण। मालेद्वारा एक सिटमा पनि विजयी हुन नसक्नु, माओवादीको जनयुद्ध जारी। असारमा माओवादीको केन्द्रीय समितिको बैठकद्वारा जनयुद्धको पाँचौ योजनाको निर्माण, आधार इलाका निर्माणको दोस्रो चरणमा प्रवेशको निर्णय। जेठ २ गते माओवादी नेता दण्डपाणि न्यौपानेलाई गिरफ्तार गरी बेपत्ता। भदौ २३ गते माओवादी बैकल्पिक पोलिटव्यूरो सदस्य सुरेश वाग्ले ‘वासु’को गोर्खाको सैनिक कार्वाहीमा मृत्यु।

२०५७ सालमा नेकपा (माले) को राष्ट्रिय सम्मेलन। पुनः पार्टी एकीकरणको नीति पारित । वैशाख २७ गते कम्युनिष्ट नेता निर्मल लामाको निधन। असार २ गते माओवादी नेता रितबहादुर खड्काको हत्या। माघ–फागुनमा नेकपा (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलन। सम्मेलनद्वारा जनयुद्धका ५ वर्षका अनुभवहरुको समीक्षा गरी माक्र्सवाद–लेनिनवाद–माओवादमा नयाँ वैचारिक आयाम थपिएको घोषणा। विशिष्ट विचार श्रृङ्खलाका रुपमा प्रचण्डपथ संश्लेषण, प्रचण्ड पार्टी अध्यक्षमा निर्वाचित। राष्ट्रिय सम्मेलनद्वारा गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभा निर्वाचनको शर्तसहित सरकारसँग वार्ता गर्न सकिने औपचारिक प्रस्ताव पारित।

२०५८ सालमा एमाले र माले बीचमा पुनः पार्टी एकीकरण। राजदरबार हत्याकाण्डपछि माओवादीद्वारा गणतन्त्रको संस्थागत विकासमा जोड। असारमा माओवादीद्वारा रोल्पाको होलेरी चौकीमा आक्रमण। जनसेना र शाही सेना आमनेसामने। राजाद्वारा सेना परिचालन गर्न अस्वीकार। गिरिजाप्रसाद कोइरालाबाट प्रधानमन्त्री पदबाट राजीनामा, शेरबहादुर देउवा दोस्रोपटक प्रधानमन्त्रीमा नियुक्त। तत्कालीन सरकार र माओवादी बीचको पहिलो वार्ता दोरम्बा नरसंहारका कारण असफल।

मंसीर ८ गते माओवादीद्वारा युद्धविराम भङ्ग। स्याङ्जा र दाङमा माओवादीको सशस्त्र आक्रमण तथा ठूलो मात्रामा हतियार र नगद कब्जा। माओवादीद्वारा औपचारिक रुपमा जनमुक्ति सेनाको घोषणा, प्रचण्ड सुप्रिम कमाण्डर। मंसीर ८ गते माओवादीद्वारा डा। बाबुराम भट्टराईको नेतृत्वमा केन्द्रीय जनसरकारको घोषणा, माओवादीद्वारा दाङको घोराही र स्याङ्जामा आक्रमण। मंसीर ११ गते देशभरि सङ्कटकालको घोषणा। सरकारद्वारा आतङ्ककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण ऐन जारी। देशभरि सेना परिचालन, देशका विभिन्न स्थानमा युद्ध जारी । वामदेव गौतमको नेतृत्वमा अखिल नेपाल किसान सङ्घको गठन।

२०५९ साल नेकपा एमालेको सातौं राष्ट्रिय महाधिवेशन। नेकपा एकता केन्द्र र मसालबीच पार्टी एकता । राजाद्वारा २०४७ सालको संविधानमाथि अतिक्रमण। बैशाखमा माओवादी नेताहरुलाई आतङ्कवादी घोषणा र रेडकर्नर नोटिस जारी, देशमा सङ्कटकालको झनै सघन। जेठ १३ गते पत्रकार एवं कवि कृष्ण सेन ‘इच्छुक’को हत्या। असोज १८ गते राजा ज्ञानेन्द्रद्वारा शाही घोषणा। माघ १२ गते माओवादीको आक्रमणबाट सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको मृत्यु। राजनीतिक सङ्कट गहिरिँदै जाँदा माघ १५ गते दोस्रोपटक युद्धविराम। संसदवादी दललाई पाखा लगाउँदै माघ १९ मा राजा ज्ञानेन्द्रद्वारा दोस्रो शाही घोषणा। माओवादी–संसदवादी शक्तिबीच सहकार्यको बाटो खुला।

२०६० सालमा माओवादी जनयुद्ध जारी। नेकपा (माओवादी) र नेकपा (एमाले) बीच सिलगुढीमा वार्ता। जेठमा सम्पन्न नेकपा (माओवादी) केन्द्रीय समितिको बैठकबाट इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारे दस्तावेज प्रस्तुत, सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिसँग राजनीतिक प्रतिस्पर्धा गर्ने माओवादीको निर्णय। माओवादी नेताहरु मोहन वैद्य, सीपी गजुरेल, मातृका यादव र सुरेश आलेमगर गिरफ्तार।

२०६१ साल जेठ २५ गते कम्युनिष्ट नेता बलराम उपाध्यायको निधन। नेकपा (माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठकद्वारा ‘रणनीतिक प्रत्याक्रमणको पहिलो योजना सफल पारौं र वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौं’ भन्ने नीति पारित। यसै वर्षको चैत्रमा रुकुमको खारामा माओवादी आक्रमण। प्रचण्ड र डा. बाबुराम भट्टराईबीच वैचारिक विवाद, पार्टी अनुशासनमा कडाइ। माओवादी नेताहरु कुलप्रसाद केसी, लोकेन्द्र बिष्टमगर, कुमार दाहाल, हितबहादुर तामाङ र अनिल शर्मा ‘बिरही’ गिरफ्तार। माओवादीका केन्द्रीय सदस्यहरु नेपबहादुर केसी, शेरमान कुंवर र मोहनचन्द्र गौतमको मृत्यु।

२०६२ सालमा नेकपा (एमाले) द्वारा राजतन्त्रविरुद्ध सङ्घर्षको घोषणा, महान् जनआन्दोलनको आरम्भ। माओवादी जनयुद्ध जारी। माओवादीद्वारा ७ डिभिजन जनमुक्ति सेनाको घोषणा। असोजमा सम्पन्न माओवादी बैठकद्वारा लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित, जसलाई चुनवाङ्गमा बैठक भनिन्छ। बैठकद्वारा लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिसँग मिलेर संयुक्त आन्दोलन गर्ने निर्णय, पार्टीभित्र व्यापक शुद्धिकरण। कार्तिकमा तात्कालीन माओवादीको शीर्ष नेतृत्व र एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीबीच रोल्पा वार्तामा ६ बुँदे सहमति। उक्त वार्ता नै १२ वुंदे समझदारीको महत्वपूर्ण आधारशिला। मंसीर ७ गते माओवादी र संसदवादी शक्तिबीच १२ बुंदे सहमति। त्यसकै बलमा २०६२–२०६३ को जनआन्दोलन।

२०६३ वैशाख ११ गते संसद पुनस्र्थापनाको घोषणा। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त। असार २ गते आफ्नो २५ वर्ष लामो भूमिगत राजनीतिबाट प्रचण्ड पहिलोपटक सार्वजनिक। बालुवाटारमा सम्पन्न वार्ताले सरकार र विद्रोहीबीच शान्ति सम्झौताको वातावरण निर्माण। मंसीर ५ गते सरकार र विद्रोही माओवादीबीच बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर। गिरिजाप्रसाद कोइराला र प्रचण्डले हस्ताक्षर गरेपछि ११ वर्ष लामो सशस्त्र सङ्घर्ष अग्रगामी रुपान्तरणसहित शान्तिपूर्ण मार्गमा रुपान्तरण।

२०६४ साल चैत्र २८ गते पहिलो संविधानसभाको पहिलो निर्वाचन। नेकपा (माओवादी) बहुमत स्थानमा विजयी। कमरेड प्रचण्डको नेतृत्वमा एमालेसहितको वामपन्थी सरकार गठन। माओवादीको बालाजु विस्तारित बैठकमा मोहन वैद्यको फरक मत। पार्टीमा गम्भिर वैचारिक र सङ्गठनात्मक मतभेद। विस्तारित बैठकद्वारा नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माणको पहलकदमी लिने प्रस्ताव पारित।

२०६५ साल जेठमा संविधान सभाको पहिलो बैठक। संविधान सभाको बैठकद्वारा औपचारिक रुपमा राजतन्त्र अन्त्यको घोषणा। राजा ज्ञानेन्द्रद्वारा पत्रकार सम्मेलन गरी गद्दी त्याग। पुस २९ गते नेकपा (माओवादी) सँग नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा रहेको नेकपा (एकता केन्द्र–मसाल) एकता घोषणा। पार्टीको नाम एकीकृत नेकपा (माओवादी)। माघमा नेकपा एमालेको आठौं महाधिवेशन, झलनाथ खनाल अध्यक्षमा निर्वाचित।

२०६६ सालमा माधव नेपाल प्रधानमन्त्रीमा निर्वाचित। माओवादी सेनाको व्यवस्थापन र शान्ति प्रक्रियाका काममा प्रगति। माओवादीद्वारा अनिश्चितकालीन हड्तालसहित सङ्घर्षका कार्यक्रमको घोषणा, शान्तिपूर्ण राजनीतिक कार्यदिशाका विषयमा माओवादीभित्र चर्को मतभेद।

२०६७ मंसीरमा गोरखाको पालुङटारमा माओवादीको बिस्तारित बैठक। अध्यक्ष प्रचण्डको प्रस्तावका विरुद्ध मोहन वैद्य र डा.बाबुराम भट्टराईको अलग अलग फरक मत। विद्रोहको आधार खडा गर्ने बिस्तारित बैठकको निर्णय, पार्टीभित्रको मतभेद उत्कर्षमा।

२०६८ सालमा एकीकृत नेकपा (माओवादी) का नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री। संविधान निर्माण र संविधानका अन्तर्वस्तुबारे दलहरुबीच तीव्र मतभेद।

२०६९ सालमा संविधान निर्माण गर्न नसकेपछि पहिलो संविधानसभा भंग। पुनः दोस्रो संविधानसभा निर्वाचनको घोषणा। जेठ ३ गते बौद्धमा सम्पन्न भेलाद्वारा मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादीको गठन। असारमा एकीकृत नेकपा (माओवादी) औपचारिक रुपमा विभाजित। माघमा एकीकृत नेकपा (माओवादी) द्वारा सातौं महाधिवेशनको आयोजना। उक्त महाधिवेशनमा शान्ति सम्झौतापछिका सबै राजनीतिक निर्णयहरु संस्थागत गर्ने निर्णय। नयाँ जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै जनवादी क्रान्तिका बाँकी कार्यभारको पूर्णता र समाजवादी क्रान्तिको तयारी एकैसाथ गर्ने निर्णय। समाजवादी क्रान्तिको रणनीति पारित।

२०७० साल दोस्रो संविधानसभाको निर्वाचन नेकपा एमाले दोस्रो र माओवादी तेस्रो पार्टीमा सीमित। दलहरुबीच संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने प्रयास जारी।

२०७१ साल नेकपा एमालेको नवौं महाधिवेशन – के।पी। शर्मा ओली पार्टी अध्यक्ष निर्वाचित। संविधान निर्माणको दोस्रो प्रयास जारी। मोहन वैद्य किरणको नेतृत्वको माओवादीबाट नेत्रविक्रम चन्द अलग भई राष्ट्रिय सम्मेलन आयोजना गरी नेकपा माओवादी गठन।

२०७२ वैशाख १२ गते देशमा ठूलो भूकम्प, अपार धनजनको क्षति। असोज ३ गते समावेशी, धर्मनिरपेक्ष, सङ्घीय गणतन्त्रात्मक संविधानको घोषणा। भारतद्वारा नेपालमा नाकाबन्दी सुरु। माओवादीको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित। माओवादी परित्याग गरी डा। बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टीको गठन। साना वामपन्थी पार्टीहरु मिलाएर मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादी क्रान्तिकारीको गठन।

२०७३ साउनमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री। ७५३ स्थानीय तहहरुको घोषणा र स्थानीय निर्वाचन सम्पन्न। क. रामबहादुर थापा ‘बादल’को नेतृत्वमा नेकपा (क्रान्तिकारी–माओवादी) बाट विद्रोह गरी तात्कालिन एकीकृत नेकपा (माओवादी) सँग पार्टी एकता भई एकीकृत पार्टीको नाम नेकपा (माओवादी–केन्द्र) राख्ने निर्णय।

२०७४ साल असोज १७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा पार्टी एकता गर्ने प्रतिवद्धताका साथ संयुक्त रुपमा संसदीय निर्वाचनमा जाने घोषणा, संयुक्त घोषणापत्र र संयुक्त उम्मेदवारको घोषणा। जनताको व्यापक समर्थन, वाम गठबन्धनलाई बहुमत प्राप्त।

२०७४ फागुन ३ गते कमरेड केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित। २०१५ सालपछि नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वामपन्थी सरकार गठन। फागुन ७ गते नेकपा (एमाले) र नेकपा )माओवादी केन्द्र) बीच एकताका प्रारम्भिक आधारहरु सम्बन्धी सहमति।

२०७५ साल जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनको घोषणा। समाजवादउन्मूख जनताको जनवादको सङ्क्रमणकालीन कार्यदिशामा जाने निर्णय। विभिन्न तहका पार्टी एकताका काम जारी।

२०७६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सम्पूर्ण पार्टी एकीकरणको काम अझै जारी। २३ वर्षपछि चीनका राष्ट्रपति सी. चिनफिङको ऐतिहासिक नेपाल भ्रमण। भारतद्वारा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो भू–क्षेत्रको नक्सामा समावेश गरेपछि त्यसका विरुद्ध अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन। कुटनीतिक पहलद्वारा समस्या समाधान गर्न सबै दल सहमत।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर