महाशिवरात्रीकै दिन पशुपति किन आउँछन् भक्तजन ? यस्तो छ पशुपतिनाथ दर्शनको विशेष महत्व

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन ७, बुधबार  
महाशिवरात्रीकै दिन पशुपति किन आउँछन् भक्तजन ? यस्तो छ पशुपतिनाथ दर्शनको विशेष महत्व

काठमाडौँ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामाकरण भएको यो पर्व कालरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये महाशिवरात्रि एक पवित्र पर्वका रुपमा लिने गरिएको छ ।

यस वर्ष फागुन ९ गते शुक्रबारका दिन शिवरात्रि पर्व परेको छ । यस्तो पवित्र पर्वका दिन स्वर्गबाट पनि देवताहरु भगवन पशुपतिनाथको दर्शनका लागि आउन चाहने भनेर पुराणहरुमा उल्लेख गरिएको छ । उक्त दिन शिवजीको चार प्रहर नै पूजा हुने विधान रहेको छ ।

सृष्टिको प्रारम्भदेखि नै यस दिन मध्यरात्रि कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रुपमा अवतरण भएको पुराणहरुमा उल्लेख गरिएकाले पनि शिवरात्रिको विशेष महत्त्व रहिआएको छ ।  शिव पुराणको ३५१ नौ श्वलोकमा श्री पशुपति लिंगकोबारेमा ब्याख्या  गरिएको छ।  उक्त श्लोकमा ज्योतिर्लिंगकै रुपमा पशुपतिनाथको लिंगको पनि  व्याख्या गरिएको छ ।

भगवान् आशुतोष शिव एक समयमा  सुन्दर तपोभूमि प्रति आकर्षित भएर  कैलाश पर्वत छोडेर  मृग चरणको  भूमिमा रमाउन आफ्नो रुप परिवर्तन गरेर मृगको रुप धारणगरी क्रिडा गर्न आएको उल्लेख गरिएको छ। सुन्दर तीन सिङ भएको मृगको रुपधारण गरेर रमाउँदै  बसेको  क्षेत्र पशुपतिनाथ भन्दा उत्तर भागमा पर्ने मृगस्थली भएको पुराणमा उल्लेख गरिएको छ ।

लामो समयसम्म कैलाश पर्वतमा शिवलाई नदेखेपछि ब्रह्मा र बिष्णुलाई चिन्ता लाग्यो र दुवैजना शिवको खोजिमा निस्कएको उल्लेख गरिएको पाइन्छ । आफ्नो ध्यानदृष्टिले हेरेर उक्त सुन्दर भूमिमा शिवजी भएको थाहा पाएपछि ब्रह्मा र बिष्णु मृगस्थलीमा शिवलाई खोज्न आएको प्रसङ्ग पनि शिवमहा पुराणमा उल्लेख गरिएको छ । 

उक्त सुन्दर भूमिमा मृगहरु चरिरहेका थिए, उक्त भीडमा  दिव्यमान तीन सिङ भएको मृगमाथी दुई देवताहरुको ध्यान केन्द्रीत भयो । ब्रह्माले आफ्नो दिव्य दृष्टिले उक्त सुन्दर मृग शिवजी नै भएको थाहा पाए । तत्कालै उक्त मृगलाई नियन्त्रणमा लिन समाउने प्रयास गर्दा सिङ नै भाँचिएर तीन टुक्रा भएको कुरा उल्लेख गरिएको छ ।

समाउँदा तीन टुक्रा भएको सिङ मध्ये एक टुक्रा यहीँ पवित्र भूमिमा झर्यो र त्यहाँबाट महारुद्र उत्पन्न भयो, जुन पशुपतिनाथका नामले प्रसिद्ध रहन गयो । शिवको इच्छाअनुसार भगवान् विष्णुले नागमणिसहित शिवको लिंगका रुपमा स्थापना गरिएको र उक्त लिंग पशुपतिनाथले प्रसिद्ध रहेको कुरा शिव पुराणमा उल्लेख गरिएको छ । 

पशुपति भन्नाले पाश नभएको भन्ने बुझिन्छ । प्रकृतिदेखि माथि माया, त्यसदेखि माथि महामाया, त्यसदेखि माथि चिति, त्यसदेखि माथि परा शक्तिहरु छन् । पशुपतिनाथ पञ्चमुख भएकाले पञ्चवक्रम भनेर भनिएको छ । नेपाल महात्म्य तथा जनश्रुतिका अनुसार नित्यानंद नामगरेका एक जना ब्राह्मणले गाई पाल्ने काम गर्दथ्ये ।

उनले पालेको गाईहरुमध्ये कैली रंगको गाईले  हरेक दिन त्यहाँको उच्च स्थानमा गई दैनिक रुपमा दुध बगाउने गर्द्थिन। त्यहीँ क्रममा एक दिन उक्त नित्यानन्द नाम गरेका ब्राह्मणलाई स्वप्पनामा भगवान् शिवको दर्शन भयो र स्वप्पनामा भनेअनुसार उक्त स्थानमा खन्दैजाँदा भव्य लिंग प्राप्त भयो र पशुपति नाथले विश्वभरि परिचित हुन गयो भन्ने कुराको नेपाल महात्मेमा उल्लेख गरिएको छ ।

गणतन्त्र आउनु अघिसम्म नेपालका शासकहरुको भगवान् पशुपतिनाथ इष्टदेवका रुपमा पूजा तथा आरधना गर्ने चलन थियो । कुनै बिपत्ति आएमा तथा आउने संकेत देखिएमा राष्ट्र प्रमुखले देशबासीका नाममा पूजा तथा अनुष्ठान गरेमा कुनै पनि बिपत्ति नआउने जनविश्वास रहिआएको छ । यसरी पूजा गर्ने पशुपतिनाथको शिवलिंगमा पारस पत्थरको गुण रहेकाले जुन कामनाले जुन बस्तु स्पर्श गर्यो ठिक त्यही  फल मिल्ने कुरा उल्लेख गरिएको छ ।

यदि फलाम लगेर छोयो भने सुन बन्ने सम्मको चमात्कार उक्त पत्थरमा हुने हुनाले पनि शक्तिशाली रहिआएको छ ।यस्तो पञ्च मुख भएको शिवलिंगको दर्शनका लागि नेपाल लगायत विश्वभर रहेका हिन्दुहरुले दर्शन तथा नियमअनुसार पूजा गर्न पाउँदछन् । विशेषगरी नेपालमा रहनेहरुले कुनै प्रकारका शुभकर्म प्ररम्भ गर्नु भन्दा अगाडि पशुपति नाथको दर्शन तथा आशिर्वाद लिएर मात्रै शुभ कर्म प्रारम्भ गर्ने प्रचलन छ । 

पशुपतिनाथको काखबाट वाग्मती गंगा बगिरहेकी छिन् । उक्त जलमा पशुपतिनाथको लिंगमा पूजा गरेको जल सिधै नदीमा जानेहुनाले मानिसको मृत्युु भएपछि र हुनु अघि उक्त जलबाट अभिषेक गरेपछि अन्तिम संस्कार गर्ने प्रचलन रहिआएको छ। यसरी उक्त स्थानमा संस्कार गरेमा मोक्ष प्राप्तिको कुरा पुराणहरुमा उल्लेर्खे गरिएको छ ।

वाग्मती नदीको महात्म्यअनुसार कुनै समयमा ब्रह्माजीले शिवपुरीमा बसी शिवको ठूलो र कठिन तपस्या गरे । उक्त कठिन तपस्याबाट भगवान् शिव प्रसन्न भई हेर्दा शिवको नाभि समेत हल्लिन पुग्यो र शिवजीको नाभिमा रहेको अमृत हल्लेर ब्रह्मालाई वर माग भन्दा उक्त अमृतको थोपा मुखबाट छिटा उछिट्याउँदा भुमरीमा पर्नगई वाग्मती नदिको उत्पत्ति भएको शास्त्रमा उल्लेख गरिएको छ ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार