आज शहीद दिवस, वीर सपूतहरुको सम्मान गरेर मनाइँदै

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ १६, बिहीबार  
आज शहीद दिवस, वीर सपूतहरुको सम्मान गरेर मनाइँदै

काठमाडौँ । देश र जनताको अधिकारको निम्ति जीवन बलिदान गर्ने सहिदहरुको सम्मानमा आज सहिद दिवस मनाइँदै छ ।

निरंकुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ ।

पछिल्लो समय शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहुती दिने योद्धाहरुको सम्मान गर्ने गरिन्छ । विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

सरकारले शहीद दिवस विशेष कार्यक्रम सहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ । 

मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार