हवाई उडान डिले वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ १२, आइतबार  
हवाई उडान डिले वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने

काठमाडौँ । हवाई उडानमा डिले वा रद्द भएको खण्डमा यात्रुले क्षतिपूर्ति पाउने भएका छन् । सरकारले गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन २०१५ लाई विस्थापित गरी नयाँ ल्याउन लागेको ऐनमा यस्तो कुरा समेट्न लागेको हो ।

पछिल्लो समय  यात्रुलाई विना जानकारी घण्टौं विमानस्थलमा कुर्न बाध्य बनाउने जस्ता लापरबाहीलाई कम गर्न यस्तो ऐन प्रभावकारी हुन सक्ने देखिएको छ । सरकारले हवाई यात्रामा यात्रुको अधिकारलाई बलियो बनाउँदै ‘नेपाल नागरिक उड्डयन ऐन २०७६’ को मस्यौदा तयार पारी उक्त मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मन्त्रिपरिषद्मा  पठाएको छ ।

ऐन लागू भएपछि हवाई सेवा संचालन गर्ने उद्योगले हवाई यात्रुको जानकारीका लागि यात्राका शर्त, सुविधा तथा हवाई भाडाका दर पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्नेछ । उद्योगका कारणबाट यात्रुको उडान रद्द भए, ढिला भए वा उडान नै गर्न नपाउने अवस्था आएमा हवाई यात्रले आफ्नो अधिकारी प्रयोग गर्न सक्नेछन् । त्यसका लागि भने नियामक निकायले मापदण्ड निर्माण गर्नुपर्ने हुन्छ ।

नेपालमा उडान ढिला हुने र रद्द हुने कारणले यात्रु र सेवा प्रदायकबीच पटकपटक द्धन्द हुने गरेको छ । यसले हवाई उडानको सुरक्षामै जोखिम निम्याउने खतरा देखिएको छ । वायुसेवा प्रदायक कम्पनीहरुले भने विमानस्थलले धान्न नसक्ने गरी वायुयान र यात्रुको चाप बढेका कारण व्यवस्थापनमा मुस्किल परिरहेको बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार