अर्थ र गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ १०, शुक्रबार  
अर्थ र गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

काठमाडौँ । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र अर्थ मन्त्रालयका सचिव राजन खनालको  पाँचवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुने भएपछि गृह र अर्थमा जान सचिवको दौडधुप सुरु भएको छ ।

माघ २२ गतेदेखि राईको अवकास हुने भएपछि गृहमन्त्रालयमा सचिव बन्न महेश्वर न्यौपाने, यादवप्रसाद कोइराला, केदारबहादुर अधिकारी, सुरेश अधिकारी, रामकृष्ण सुवेदी, सूर्य गौतम र केदार न्यौपाने लागिपरेको स्रोतले जानकारी दिएको छ ।

उता अर्थ मन्त्रालयमा भने  हालका राजस्व सचिव शिशिरकुमार ढुंगाना र राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याल दौडधूपमा लागे पनि ढुंगानाको सम्भावना अत्यधिक छ ।

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य  बोकेको सरकारले सर्वाधिक महत्वपूर्ण मन्त्रालयको प्रशासनिक नेतृत्व छनोट गर्दा हचुवा र लहडमा नभई निश्चित योग्यता, अनुभव र मापदण्डका आधारमा गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

गृहमा आउने सचिवले मुलुकको समग्र सुरक्षा चुनौतीको मिहिन ढंगले विश्लेषण गर्दै चुनौतीका आन्तरिक र बाह्य पाटो पहिचान गर्न सक्ने, सुरक्षा निकायको प्रभावकारी ढंगले समन्वय र परिचालन गर्न सक्ने तथा सुरक्षासँग सम्बन्धित विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच पुलका रूपमा काम गर्न सक्ने ल्याकत राख्नुपर्ने सुझाव विज्ञहरूको छ ।

धेरैको रोजाईमा रहेको गृहमा मुलुकको सिंगो शान्ति सुरक्षाको प्रशासनिक कमान्ड गर्न तथा प्रहरी प्रशासन हाँक्न र शक्ति केन्द्रसँग सम्बन्ध बढाउन पाइने हुँदा गृहमा अत्यधिक आकर्षण बढेको हो । सचिव हुनुअघि लामो समयसम्म गृह मन्त्रालयमा बसेको अनुभव तथा इमानदारिता र पेशाप्रतिको समर्पणका कारण राईले गृहमा छुट्टै र विशेष छाप छोडेका छन् ।

गृह र अर्थ मन्त्रालयमा आउने सचिव रातदिन काम गरेर परिणाम ल्याउन सक्ने, इमानदार, निर्भीक र उच्च मनोबलयुक्त हुनुपर्ने देखिएको छ ।  राईको सो पदचापमा हिँड्न अब आउने सचिवले गृह प्रशासनको अनुभव नै नभएका व्यक्तिलाई सचिव बनाएर ल्याइएमा त्यसले मुलुकको शान्ति सुरक्षाको अवस्थामा नै गम्भीर समस्या पार्न सक्ने भन्दै गृहका अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

गृहसचिव राई सेवानिवृत्त भएपछि गृह सचिवको प्रमुख दाबेदारका रूपमा देखिएका वरिष्ठ सचिव यादवप्रसाद कोइराला र महेश्वर न्यौपाने प्रशासनमा राम्रो दक्खल राख्न सक्ने सचिव हुन् । गृह सचिवको दौडमा रहेका हालका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्य गौतम भने शिक्षाका हुन् ।

निजामती सेवाको पुरै अवधि शिक्षामा बिताएका उनलाई गृहको अनुभव छैन । उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा उचित हुने बताइन्छ । गृहमा दौडधूप गरिरहेका पर्यटन सचिव अधिकारीले अर्थ मन्त्रालयको सचिवका रूपमा समेत दौडधूप गरिरहेको स्रोतले जानकारी दिएको छ ।

हाल राष्ट्रिय योजना आयोगमा रहेका अर्याल पनि अर्थका कुशल प्रशासक हुन् । त्यस्तै, २२ माघपछि सचिवमा बढुवा हुने क्रममा रहेका रामशरण पुडासैनी पनि राजस्व सचिव बन्न सक्ने स्रोतको दाबी छ ।

अर्याल पनि सशक्त दाबेदार

२२ माघपछि सचिवमा बढुवा हुने निश्चित भएका कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याल पनि भावी गृह सचिवका सशक्त दाबेदार हुन् । गृहको अनुभवका हिसाबले हाल गृह सचिवको दौडमा रहेका अन्य सचिव जतिकै योग्य रहेका अर्यालको पनि गृह सचिव हुने सम्भावना उत्तिकै रहेको स्रोतको दाबी छ ।

उच्च निर्णय क्षमता राख्न सक्ने अर्याल कुशल प्रशासक हुन् । उनले काठमाडौं जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा सफलतापूर्वक कार्य सम्पन्न गरेका थिए । कुशल समन्वय गरि परिणाम दिन सक्ने उनी गृह मन्त्रालयकै कर्मचारी प्रशासन महाशाखा प्रमुख रहेर गृह प्रशासन सुधारको मार्गचित्रसमेत बनाएका थिए ।

ठाकुर र अचार्य पनि सेवानिवृत्त हुँदै

२२ माघमा नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुर र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य पाँच वर्षे अवधि सकिएर सेवानिवृत्त हुने भएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर भने सेवानिवृत्त भइसकेका छन् । ठाकुर सेवानिवृत्त भएकाले प्रधानमन्त्री कार्यालयमा एक सचिव पद रिक्त छ ।

गृह सचिव छनोटका आधार

– मुुलुकको सुरक्षा चुनौतीको मिहिन विश्लेषण
गर्न सक्ने ।

– सुरक्षा चुनौतीका आन्तरिक र बाह्य पाटाहरू पहिचान गर्न सक्ने ।

– सबै सुरक्षा निकायलाई प्रभावकारी ढंगले समन्वय र परिचालन गर्न सक्ने ।

– सुरक्षासँग सम्बन्धित विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच पुलका रूपमा काम गर्न सक्ने ।

– ७७ जिल्लाका सीडीओ कार्यालय र ८० हाराहारीका इलाका प्रशासनसँग समन्वय गर्न सक्ने ।

– सम्भावित सुरक्षा चुनौतीको पूर्वआँकलन गर्दै तदअनुरूपको रणनीति तयार गर्न सक्ने ।

– उच्च निर्णय क्षमता भएको, दृढ इच्छाशक्ति भएको, अटल, इमानदार र नैतिकवान् हुनुपर्ने ।

अर्थ सचिव छनोका आधार

– मुलुकको अर्थतन्त्रको आकार–प्रकारको सूक्ष्म विश्लेषण गर्न सक्ने ।

– योजना आयोगको विकास योजना र अर्थतन्त्रबीच समन्वय र सन्तुलन गर्न सक्ने ।

– राष्ट्र बैंकसँग समन्वय गर्दै मौद्रिक नीति र वित्तीय औजारका माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने ।

– राजस्व र खर्चको सामञ्जस्य कायम गर्न सक्ने ।

– पुँजीगत खर्चको उचित व्यवस्थापन गर्दै विकास र समृद्धि कायम गराउन सक्ने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार