राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह

नेपाल एकीकरणका महान नायक राष्ट्रनिर्माता बडा महाराजधिराज पृथ्वी नारायण शाहदेव

लाल्टिन खबर ,
प्रकाशित: २०७६ पुस २७, आइतबार  
राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह

पृथ्वी नारायण शाह (राष्ट्रनिर्माता श्री ५ बडा महाराजधिराज पृथ्वी नारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो।

उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए। विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए ।

यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसंग भएको थियो। गोरखा र मकवानपुर विच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियाले। त्यस बखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौं उपत्यकालाई विजय गर्ने मनसाय बनाईसकेका थिए।

वि.स. १७९८ मा काठमाडौं आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसंग उनको मितेरी लगाई दरबारमा स-सम्मान लामो अवधिसम्म राखेका थिए। गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौंका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई मितेरी लगाएका थिए।

उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। तर, पछि हेमकर्ण सेनले असमर्थता जनाए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।

वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौं उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिए। पृथ्वीनारायण शाहको काठमाडौं उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा एक सन्धि गरे जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थिए।

पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराए तर नुवाकोटबाट गोर्खालीहरूले पराजयको सामना गर्नु पर्यो।

नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरू संकलनार्थ पृथ्वीनारायण शाह वनारस पुगे। पिता नरभूपालले पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा गोत्र परिवर्तन गरे। सोहि बेलामा तिर्थ गर्न भनी गएका जाजरकोटका राजा हरी शाहसंग उनले राज्यविस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई वाधा र कुभलो नचिताउने कुराहरू बारे सन्धि गरे।

दोस्रो पटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथी हमला गरे। यस पटक गोर्खाका १२-२० वर्षसम्मका सबै युवाहरूलाई सशस्त्र तयारी गरीएको थियो भने सैनिकहरूको संख्या १ हजार भन्दा माथि थियो। यीमध्ये केहि सैनिक खेतालाहरुको रुपमा नुवाकोट पुराइएको थियो। तत्पश्चात कालु पाडेले नुवाकोट रक्षा तैनाथ रहेका जयन्त राणालाई गोर्खामा मिल्नुबाहेक उनको लागि अन्य भलाई नभएको पत्र पठाए। तर जयन्त राणाले काठमाण्डौ पुगी गोर्खालीहरूबाट सम्भावित आक्रमणको जानकारी दिंदै थप सैनिक र हातहतियार माग गरे। तर उपत्यकामा इन्द्रजात्राको चहलपहल रहेकाले जयप्रकाश मल्लले जयन्त राणाको मागको उपेक्षा गरे। जयन्त राणाको छोरा शंखमणी राणाले नुवाकोटको सुरक्षामा तैनाथ रहेकको समयमा गोरखाबाट पृथ्वीनारायण शाह, दलदर्मन शाह, चौतारा विष्णु शाह, काजी शुरप्रताप शाह आदिले नुवाकोटलाई घेरा हाली एकैपटक आक्रमण गरे। दलदर्मन शाहको हातबाट शखमणी राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरे। नुवाकोटमा गोरखालीहरूको कब्जा भएकाले नुवाकोटका सिपाहीहरू भागि वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरे। जयन्त राणा यहाँ पक्राउ परे।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए।

नुवाकोट र वेलकोटको विजयपछि गोरखालीहरूले लामीडाँडामा कब्जा गरे। तर तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोरखालीहरूबीच भिडन्तको सम्भावना बढ्यो। तर पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाई तनहुँको राजासंग सन्धि गर्ने भन्ने खवर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनविच केहि समय वार्तालाप भएपछि निर्धारित समयानुसार तिरमा लुकी बसेमा गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई वन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरे। यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.सं. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरे। वि.सं. १८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसंग युद्ध गर्न परेको थियो। यस युद्धमा गोर्खाले ठुलो जनधनको क्षति वेहोर्न पर्यो। तर पनि नालदुम, दहचोक, महादेव पोखरी, सिरानचोकको साथै कुलेखानि, इपा, माल्टा आदिमा कब्जा भएकाले गोरखाको सिमाना मकवानपुर सम्म पुग्यो।

वि.स. १८१४ मा पृथ्वीनारायण शाहले किर्तिपुरमा आक्रमण गरे। यसमा गोरखाको तर्फ १२०० सैनिक थिए। तर किर्तिपुरले काठमाण्डौ, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग मागेकाले किर्तिपुरतर्फ ३०० जति सैनिक थिए। यी दुईपक्षवीच बल्खु खोलामा ६ घन्टासम्म लडाई हुँदा धेरै गोरखालीहरुले वीरगति प्राप्त गरे। किर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाचेका थिए। किर्तिपुरको पहिलो युद्धमा विरगती प्राप्त गरेका काजी कालु पाण्डेका ठाउमा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिए।

वि.सं. १८२१ को भाद्र महिनामा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा किर्तिपुर माथि दोर्श्रो आक्रमण भयो। यस युद्धमा पनि किर्तिपुरलाई पहिले जस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभए पनि किर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गोपुर किल्ला तोडी किर्तिपुरमा प्रवेश गर्ने मौका दिएनन। यस युद्धमा किर्तिपुरद्वारा निशाना लगाइएको तिरबाट शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केहि फौज फर्कन वाध्य भए।

किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिए। उनले चारैतिरबाट गोपुर किल्लालाई घेरी खेतालाका रुपमा केहि सैनिक किर्तिपुर पठाए। त्यसबखत किर्तिपुरमा धान भित्राउने समय परेकाले वंशराज कीर्तिपुरेहरुलाई आत्मसम्पर्ण गर्न भने। यो युद्धमा किर्तिपुरलाई छिमेकी राज्यहरुबाट सैनिक सहयोग भएको थिएन। वि.स. १८२२ चैत्र ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरे।

वि.स. १८१९ को भाद्र महिनामा बंशराजपाडे र केहरसिंहले सङ्गठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरुका साथ पठाएको ठुलो संख्यामा मकवानपुरमा आक्रमण गरे। यहा १० घन्टासम्म लडाई चलेको थियो र अन्ततस् दिग्वन्ध्न सेनले आत्मासम्पर्ण गरे।

वि.स. १८२० मा दिग्वन्धन सेनलाई मद्धत गर्ने निहुमा तनहुँका राजा त्रिविक्रम सेन, पाल्पाको राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधिनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवांगली, धौराली, लकान्कोटमाथि आक्रमण गरी लुटपाट गरे।

वि.स. १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभिम शाहसंग आफ्ना छोरी विलासकुमारीको विवाह गराई मैत्री सम्बन्ध कायम गरे। छिल्ली, दाङ, देउखरीलाई दाइजोको रुपमा दिए।

किर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसंग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजहरूसंग सैनिक तथा हातहतियारको सहयोग मागे। राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुदै काठमाण्डौतिर बढ्यो। यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाडेँ र वीरभद्र उपाध्याय र वंशु गुरुङको समुह ढुंगेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रुपमा चढाई गरे भने अघि बढीसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अंग्रेज फौज आफुसंग रहेको हातहतियार र बन्दुकहरू छाडी आफ्नो प्राण बचाउन जङ्गलतर्फ भागाभाग गरे।

पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक सङ्कट छाएको थियो। त्यसमा पनि काठमाडौंका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र संकालु प्रवृतिका भएकाले रानी र भारदारहरू रिसाई उनलाई पदच्युत गरी उनका छोरा राज्यप्रकाश शाहलाई राजा बनाएका थिए। तर पछि उनले पुनः आफ्नो सत्ता प्राप्त गरे तर उनलाई आफ्नो छोरा, रानी र भारदारहरूको सहानुभूति प्राप्त भएन। आफ्नो शक्ति कायम राख्न विदेशी सैनिक झिकाई देवी देवताको गुठि मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिए भने विदेशी सैनिकलाई बढी तलब समेत दिने गरेकाले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो।

यस्तो स्थति बुझेर पृथ्वीनारायण शाहले वि.स. १८२५ आश्विन १३ मा इन्द्र जात्राको समय पारि नरदेवी, टुडिखेल र भिमसेनस्थान गरी ३ तर्फबाट आक्रमण गरी कान्तिपुर माथि विजय गरे। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिह मल्लका गई शरण लिए। वि.स. १८२५ आश्विन २५ गते पृथ्वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई आत्मसम्पर्ण गराउन पठाए। पाटनका राजाले विना कुनै युद्ध भागे ।

काठमाडौंका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगे। राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अंग्रेजसंग समेत सीक सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिहं थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाए। भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भयो। झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भयो। हार स्वरूप वि.स. १८२६ मंसिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोलि लाग्यो। उनको इच्छा अनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाईदिए। ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छाबमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाए। त्यहा पुगेको १८ महिना पछि उनको मृत्यु भयो। ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरियो।

उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.सं. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.सं. १८२८ मा घमासान युद्ध भयो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरु पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौं पुगे। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरुको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए। यो पराजयले गोर्कालीहरुको महत्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।

मृत्यु

वि.सं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्-झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भयो । कतै कतै सिकार खेल्न गएको बेलामा बाघको आक्रमणमा परी गहिरो चोट परी घाइते भएको हिँदा मृत्यु भएको समेत उल्लेख छ। घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई दिव्य उपदेशु समेत भनिन्छ। नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो। इत्यादि सान्दर्भिक उपदेशहरु पृथ्वीनारायण शाहले दिएका थिए। माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको संगम मोहन तिर्थु वा देवीघाटमा उनको मृत्यु भयो।

स्रोतः- विकिपिडिया

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार